धरान, ९ चैत । काठमाडौको एसिड काण्ड सेलाउन नपाउदै धरानमा एक नाबालिका माथि बलात्कारको प्रयास भएको छ ।
धरान उप महानगरपालिका की ७ बर्षिया नाबालिकामाथि आइतबार साझ ४० वर्षीय बलबहादुर थापाले बलात्कारको प्रयास गरेका हुन् । नाबालिकामाथि वलात्कारको प्रयास गर्ने धरान उपमहानगरपालिका ११ का थापालाई प्रहरीले आइतबारै पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
थापाले करणी गर्ने उद्देश्यले १० रुपैयाँ दिई ललाई फकाई छिमेकीको घरमा खेल्न गएको अवस्थामा नाबालिकालाई घर पछाडी शौचालयमा लगी जबरजस्ती करणी गर्ने प्रयास गरेको र सोही आधारमा चैत ८ गते थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदनकुमार सिजापतिले जानकारी दिनुभयो ।
पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउइएको उहाले जानकारी दिनुभयो ।
पीडित बालिकाको भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गरि परिवारको जिम्मा लगाइएको डिएसपी सिजापतिले बताउनुभयो ।
डिएसपी सिजापतिले अहिले मुलुकमा बलात्कार तथा बलात्कारका प्रयासका घट्ना अत्यन्तै वृद्धि भइरहेकोले यसलाई नियन्त्रण गर्न धरान प्रहरीले सक्रियताका साथ काम गर्ने समेत जानकारी दिनुभयो ।
जवरजस्ती करणी गरेको पुष्टि भएमा निजलाई मुलुकी ऐनको जबरजस्ती करणी ऐन अन्तर्गत ५ देखि ७ बर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान रहेको छ ।
















प्रतिक्रिया