९ कार्तिक २०८३, सोमबार

आफ्नै साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ कात्तिक । आफ्नै साथीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका २ गरास घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न फरार अभियुक्त मकवानपुर गढी गाउँपालिका १ बस्ने २८ वर्षीय कुमार भन्ने मान कुमार थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७६ साउन २८ गते ललितपुर, ललितपुर महानगरपालिका ९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका १ ठाँटी टोलबाट पक्राउ गरेको हो ।

खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भई खड्काकी श्रीमतीसँग समेत थिङको चिनजान भई मोबाइलमा मेसेज आदानप्रदान भएको कुरा खड्काले थाहा पाएपश्चात उनीहरुबीच विवाद भएकोमा २०७६ साउन २५ गते ललितपुर, ललितपुर महानगरपालिका ९ गुहे पोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या पश्चात फरार भएको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

घटनामा संलग्न धने भन्ने आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दिपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।

थिङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।