३ कार्तिक २०८३, मंगलबार

राप्तीकै जेठो पद्मोदय पब्लिकको केन्द्रमा पनि निजी विद्यालयका शिक्षक केन्द्राध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dcoctor krisanaraj dc
प्राचार्य डा. कृष्णराज डिसी

दाङ, ८ चैत । परीक्षा निर्देशिकालाई चुनौती दिँदै जिल्ला शिक्षा कार्यालय दाङद्वारा निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष नियुक्त गरेको एकपछि अर्को खबर प्राप्त भइरहेका छन् ।

चैत्र ५ गतेदेखि सुरु भएको एसएलसी परीक्षामा परीक्षा निर्देशीकाको उलङ्घन गर्दैै बाल मितेरी उच्च माध्यमिक विद्यालय भोजपुरमा निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष, शिक्षकलाई सहायक केन्द्राध्यक्ष नियुक्त गरेको विषयमा दैनिक नेपाल अनलाइनले निरन्तर प्रकाशीत गर्दै आएपछि जिल्लाका अन्य परीक्षा केन्द्रहरुमा पनि निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष नियुक्त गरेको खवर प्राप्त भइरहेका हुन् ।

परीक्षा केन्द्र तोकिएको विद्यालयका प्रधानाध्यापक वा प्राचार्यलाई केन्द्राध्यक्ष बनाउने नाममा निर्देशीका बिपरीत निजी विद्यालयका सञ्चालक तथा विद्यालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिहरु केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक नियुक्त गरिएको पाइएको छ ।

यसैक्रममा राप्ती अञ्चलको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना उच्च मावि घोराहीमा समेत निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्षमा नियुक्त गरिएको खुलासा भएको छ ।

उक्त विद्यालयका प्राचार्य डा. कृष्णराज डिसी घोराहीस्थित विद्यानिलकण्ठ उच्चमाविको सञ्चालक भएको जानकारी पाउँदापाउँदै पनि शिक्षा कार्यालयले परीक्षा निर्देशीकालाई मिच्दै उहाँलाई परीक्षा केन्द्रको केन्द्राध्यक्षको जिम्मेवारी दिएको हो ।

यस विषयमा जानकारी लिन खोज्दा उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष डिसीले आफू विद्यालय निलकण्ठ उच्चमाविको शेयर सदस्य भएको स्विकार गर्नुभयो । उहाँले आफूलाई जिल्ला शिक्षा कार्यालय दाङले परीक्षा केन्द्रको केन्द्राध्यक्षमा नियुक्त गरेको र यस विषयमा समाचार आउँदा आफूलाई कुनै फरक नपर्ने प्रतिक्रिया दिनुभयो ।

‘परीक्षा कस्तो चलिरहेको छ, त्यो कुरा महत्वपूर्ण हो, कसको शेयर कहाँ छ, यो विषयमा पत्रकारले चासो राख्नु राम्रो कुरा होइन’, उहाँले भन्नुभयो, ‘मलाई शिक्षा कार्यालयले केन्द्राध्यक्षमा नियुक्त गरेको हो, जुनसुकै तवरबाट परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन मैले आफ्नोतर्फबाट भुमिका खेल्न तयार छु ।’

जिल्ला शिक्षा कार्यालय दाङमा यस विषयमा मौखिकरुपमा जानकारी गराउँदा गराउँदै पनि जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालको ठाडो निर्देशनमा पद्मोदय पब्लिक नमुना उच्च मावि परीक्षा केन्द्र घोराहीमा निजी विद्यालयका सञ्चालक डा.डिसीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।

विद्यानिलकण्ठ उमावि घोराहीका विद्यार्र्थीले यसवर्षको एसएलसी परीक्षा सोही परीक्षा केन्द्रबाट दिन लागिरहेका छन् । यसैगरी चौतर्फि बिरोध हुँदाहुँदै समेत सोही विद्यालयका शिक्षक लोकबहादुर बस्नेतका छोराले उक्त परीक्षा केन्द्रबाट एसएलसी परीक्षा दिइरहेपनि उहाँलाई सहायक केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।

स्रोेतका अनुसार यस विषयमा जिल्ला शिक्षा कार्यालयमा मौखिक जानकारी दिइएपछि यस विषयमा जिशिअ अर्यालले विभिन्न चलखेलका कारण उनीहरुलाई नै परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएर पठाएका छन् ।

जिल्ला शिक्षा अधिकारी अर्यालले परीक्षाको सेटिङ मिलाउन यस खालका गतिविधिलाई सहयोग पुग्ने गरी कार्य गरीरहेको सरोकारवालाले आरोप लगाएका छन् । स्रोतले उक्त केन्द्रका सहायक केन्द्राध्यक्ष बस्नेतका छोराले सोही परीक्षा केन्द्रबाट एसएलसी दिइरहेको थाहा पाए पनि शिक्षा कार्यालयले आवश्यक प्रक्रिया अघि बढाउन सकेको छैन ।

एसएलसी परीक्षालाई मर्यादित बनाउन विभिन्न जिल्लाहरुमा जिल्लास्तरमा नै सम्बन्धित परीक्षा केन्द्रसँंग संलग्न वा निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकको जिम्मेवारी नदिएकोसमेत पाइएका छन् ।

परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउनका लागि सरकारले परीक्षा सञ्चालनका गर्न जारी गरेको निर्देशीकामा परीक्षा केन्द्रमा परीक्षा दिने विद्यालयका सञ्चालक, शिक्षकलाई परीक्षाको केन्द्राध्यक्ष लगायतका जिम्मेवारी नदिने स्पष्ट प्रावधान हुँदाहँुदै पनि त्यसलाई चुनौती दिँदै ठाडै उलङ्घन गर्दासमेत जिल्लाका क्रियाशील विभिन्न शिक्षक संघ÷संगठन, विद्यार्थी संगठनलगायत सरोकारवाला कसैले पनि प्रतिक्रिया जनाएका छैनन् ।

यसैगरी छोराछोरीले परीक्षा दिइरहेको केन्द्रमा पनि शिक्षकहरुलाई कुनै पनि महत्वपूर्ण जिम्मेवारी नदिने प्रावधान सरकारले बनाएको छ । तर, निर्देशिका मिच्दै जिल्ला शिक्षा अधिकारी अर्यालयको ठाडो निर्देशनमा यस्तो कार्य भएको र यसलाई सच्याउन स्वयं उहाँ तयार नभएको समाचार बाहिर आइरहेका छन् ।

गतवर्षको दाङमा एसएलसी परीक्षा केन्द्रमा परीक्षा दिने विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरु भएमा वा उनीहरुका छोराछोरीले परीक्षा दिइएको पाइएपछि कारबाहीमा परेका थिए ।

तत्कालिन जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले ऐन/नियममा टेकेर विवादित केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्षलाई कारबाही गरी नयाँ केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तोकी परीक्षालाई मर्यादित एवं व्यवस्थितरुपमा सञ्चालन गर्नुभएको थियो ।

हाल बर्दियामा जिल्ला शिक्षा अधिकारीको जिम्मा सम्हाली रहनुभएका शाहले गतवर्ष दाङमा भएका एसएलसी परीक्षामा परीक्षा केन्द्रका विषयमा त्यस्ता समस्याहरु आए पनि पत्रकार, विभिन्न शिक्षक संघ/संगठनसंँग समन्वय गरी समस्याको समाधान गरेको उल्लेख गर्नुभयो ।

उहाँले परीक्षा केन्द्रका विषयमा आएमा समस्यालाई नैतिकतासँंगै प्राकृतिक न्यायको सिद्धान्त अनुसार सुल्झाउनुपर्ने सुझाव दिनुभयो ।