२८ आश्विन २०८३, बुधबार

कल्पनामै सीमित मुस्कानसहितको प्रहरी सेवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganesh-basnet

नेपाल प्रहरीले आफ्नो सेवाको गुनस्तर बृद्धि गर्न पहिलो पटक मुस्कानसहित प्रहरी सेवा दिने उदघोष गर्दै देशभर तालिम दिन थालेको छ । मुस्कानसहितको सेवा दिनका लागि पहिलो सर्त प्रहरी आफै तयार हुनपर्ने भएकोले तालिमबाट अघि बढेको सहजै बुझ्न सकिन्छ । त्यसै उदेश्यअनुसार मुलुकभर सञ्चालित तालिमबाट प्रहरीलाई मुस्कानयुक्त (गुणस्तरीय सेवा) बनाउने अभियानमा प्रहरी नेतृत्व जुटेको हुनुपर्छ । प्रहरीको ब्यवहारमा सुधार ल्याउन नेतृत्वले चालेको यो अभियानप्रति जनताको पनि उत्तिकै चासो र सरोकार रहेको छ ।

आफ्नो कार्यालयसम्म आउने सर्वसाधरण र आम नागरिकलाई सेवाभावले सेवा दिनका लागि चालिएको यस अभियानले सार्थकता पाउनु पर्छ भन्ने अपेक्षा जोकसैको छ । प्रहरीको रुखो ब्यवहार, त्यसमा पनि सिमान्तकृत समुदायलाई प्रहरीले राम्रो रेस्पोन्स नगर्ने प्रबृत्ति रहेको आरोप लागिरहेको अवस्थामा छ । जनतासंग गर्ने प्रहरीको ब्यवहार र कार्यशैलीबारे पटक–पटक प्रश्न उठेपछि नै अघिल्ला प्रहरी महानिरीक्षक (आइजीपी) कुवेरसिंह रानाले नेपाल प्रहरीलाई साँच्चीकै जनताको प्रहरी बनाउने भन्दै यो अवधारणा अघि सारेका थिए । उनले मुस्कानसहितको सेवा दिने बताउँदा आम नागरिक हाँसोमा उडाउथे त्यसबेला । तरपनि आफ्नो योजनालाई दृढताका साथ अघि बढाए उनले । सरकारले समेत साथ नदिएपछि रानाकै कार्यकालमा मुस्कानसहितको प्रहरी सेवा दिने रानाको अवधारणा कार्यान्वयनमा आउन सकेको थिएन । तर उनीपछि प्रहरीको नेतृत्व सम्हालेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यस अवधारणालाई दृडताका साथ कार्यान्वयनको चरणमा लगेका छन । आइजीपी अर्यालले यो कामलाई साँच्चीकै ब्यवहारमा उतार्न सके भने नेपाल प्रहरी जनताको सुखदुखको साथी र सहयात्री बन्न सक्छ भन्नेमा कसैको दुइमत नहोला ।

नागरिक अपेक्षित आचरण र व्यवहार प्रस्तुत गर्न सर्बप्रथम प्रहरी कर्मचारीले स्वयं आफूभित्रको आचरण र व्यवहारमा परिवर्तन गर्न जरुरी छ । प्रहरीको आचरण र व्यवहार सम्बन्धी गुनासाहरूलाई निर्मूल पार्न सके मात्रै पनि प्रहरीप्रति जनबिश्वास एकाएक बढेर जान्छ । मुलुकमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी शान्त र समृद्ध समाजको निर्माण गर्न प्रहरी निरन्तर क्रियाशील छ भन्ने यथार्थ स्थापित हुनुका साथै प्रहरीको छविलाई भविष्यमा थप उचाईमा पु¥याउन पनि मुस्कानसहितको प्रहरी सेवाले मद्दत नै गर्नेछ । नागरिक केन्द्रित, स्वच्छ र व्यावसायिक प्रहरी सेवा प्रदान गर्ने कार्यमा तालिमको महत्वुपर्ण भुमिका हुन्छ । तर सुरुवाती तालिममा जो भेट्यो ठोकिहाल्ने पाठ सिकाएर दुई तिन दिनका लागि दिने मुस्कानसहितको सेवाको अनुशिलनले प्रभावकारी भुमिका खेल्न सक्छ कि सक्दैन भन्ने प्रश्न जन्माएको छ । प्रहरी नेतृत्वले अव सेवा प्रवेश गरेपछि दिइने सुरुवाती तालिममै नागरिकमैत्री ब्यवहार र गुणस्तरीय सेवाको अवधारणा राख्नुपर्छ । वर्तमान अवस्थामा नागरिक समाजमा प्रहरीको आचरण तथा व्यवहारप्रति सकारात्मक भन्दा नकारात्मक गुनासाहरू धेरै आउने गरेको यथार्थबीच प्रहरी नेतृत्व मुस्कानसहितको प्रहरी सेवा दिन अग्रसर भएको कुरालाई भने सवैले सकारात्मक रुपमै लिनुपर्छ । अघिल्ला आइजीपी कुवेरसिंह रानाले शुरु गरेपनि अनेकन कारणले यसको औपचारिक थालनी गर्न सकेका थिएनन ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल यस कार्यलाई अघि बढाउने अठोटका साथ लागेका छन । सरकारले पारित गरेको नेपाल प्रहरीको रणनीतिक लक्ष्यको सफल कार्यान्वयनको लागि प्रहरीको सेवा प्रवाहको स्तर बृद्धि गर्ने र त्यसका लागि मुस्कानसहितको प्रहरी सेवाको अवधारणालाई अझै बढी परिष्कृत रुपमा देशभरी नै लागू गर्ने कार्यायोजना बनाएर उनी अघि बढेका छन । प्रहरीको नेतृत्व सम्हालेलगत्तै अर्यालले प्रहरीले दिने सेवाको गुणस्तर बृद्धि गर्ने योजना अघि सारेका थिए ।

आइजीपी अर्यालले मुस्कानसहितको प्रहरी सेवा एउटा बिम्ब हो, यसको शाब्दिक भन्दा पनि प्रतिकात्मक अर्थ गहन छ भन्ने यथार्थबोध गराउने कामका रुपमा परिभाषित गरिसकेका छन । उनकै शब्दमा भन्ने हो भने मुस्कानसहितको प्रहरी सेवामार्फत प्रहरीलाई केवल हाँसेर बोल मात्र भन्न खोजेको होइन, मुस्कान शब्द खुशी र हर्षको प्रतीक हो, यसर्थ केवल ओठमा हाँसो बोकर मात्र होइन, ह्दयदेखि नै सेवाभावका साथ आमनागरिकप्रति गर्ने व्यवहार नै सभ्य, शिष्ट, स्वागतयोग्य हुनुपर्छ ।’ आइजीपी अर्यालको यो मान्यता स्वागतयोग्य र सवैका लागि अनुकरणीय छ । तर यी सव काम गर्नका लागि सरकार र संगठनको तर्फबाट प्रहरी कर्मचारीको बृत्तिबिकासमा ध्यान दिनु पर्छ कि पर्दैन भन्ने सवाल पनि जोडिएर आउँछ । तालिममा दिने मुस्कानसहितको प्रहरी सेवाको अवधारणा र आवश्यकता, प्रहरीको व्यक्तित्व र शिष्ट व्यवहार, अन्तरवैयिक्तक सम्बन्ध र संचार सीप, कार्यमैत्री वातावरण, मुस्कानसहितको प्रहरी सेवामा मानवअधिकार, प्रहरी सेवा झल्किने मुख्य स्थान र अवस्थाहरू तथा तनाव व्यवस्थापन जस्ता विषयले मात्रै प्रहरीलाई यो काममा उत्प्रेरित गर्न सक्दैन । यसलाई ब्यवहारमा लागू गर्न संगठनका सवै सदस्यहरु आत्मसन्तुष्ट पनि हुनुपर्छ । रासनमा बिभेद, सरुवा बढुवामा बिभेद, राम्रो गरेबापत पुरस्कार भन्दा चाकडीलाई प्राथमिकता दिने काम भइरह्यो भने यो अवधारणा ब्यवहारमा लागू हुनै सक्दैन ।

नेपाल प्रहरीले जारी गरी कार्यान्वयनमा रहेको नेपाल प्रहरीको रणनीतिक कार्य योजनामा मुस्कानसहितको सेवालाई मुख्य प्राथमिकतामा राखेअनुरुप यसको कार्यान्वयनमा बिशेष जोड दिन अनुशिक्षण तालिम शुरु गरिएको हुनुपर्छ । यस अनुशिक्षणबाट प्रहरीको आचरण, व्यवहार र व्यावसायिक सुधारका साथै सहज र पारदर्शी तथा जवाफदेही प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई अभिप्रेरित गर्ने आशा प्रहरी नेतृत्वले गरेको प्रधान कार्यालयकै भनाईबाट प्रष्ट हुन्छ । प्रहरी प्रधान कार्यालयले यस सेवाको अवधारणा लागू गरी प्रहरी कर्मचारीले सवैलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बिषयलाई बोध गराउने अपेक्षासहित तालिम सुरु गरिएको बताएर यो अवधारणाको ब्याख्या गरेको छ ।

नागरिकमा प्रहरीप्रतिको नकारात्मक मात्रा घटाउन मुस्कानसहितको प्रहरी सेवा अचुक अस्त्र बन्न सक्छ । तर प्रहरी कर्मचारीका लागि राज्य र संगठनका तर्फबाट गर्नुपर्ने सामान्य दायित्व पनि पूरा नगरी केवल कोर्रा मात्रै बर्साएर प्रहरीले मुस्कान दिन सक्लान ? यो प्रश्नतिर गृह र प्रहरी नेतृत्वको ध्यान जानैपर्छ । तत्कालै ध्यान नदिने हो भने यो नारा केवल मिठो कल्पना मात्रै बन्नेछ । यथार्थ के हो भने बिगतदेखि अहिलेसम्म पनि प्रहरीलाई कोर्रा बर्साएर मुस्कान खोज्ने काम हुँदै आएको छ ।

आइजीपीपछिको दोस्रो दरवन्दी एआइजी बिगत ६ महिनादेखि रिक्त छ । नीति निर्माणमा आइजीपीका सहयोगी भुमिका खेल्ने एआइजीका सवै दरवन्दी रिक्त राखेर सरकार अझै कति दिन अघि बढने हो कुनै टुंगो छैन । जसको कारण नेपाल प्रहरीभित्र बृत्ति बिकासमा अत्यन्तै नकारात्मक असर परेको छ । सरकारको यो शैलीको सिकार एआइजीमा बढुवा हुने आकांक्षी डिआइजी मात्रै होइनन, जवानसम्म परिसकेका छन । माथिल्लो पदमा बढुवा नभएपछि तल्लो तहको बढुवा हुने कुरै भएन । यस्तो अवस्थामा एआइजी बनेर प्रहरीलाई असल बनाउने अभिलासा बोकेका बरष्ठ अधिकृतमै नकारात्मक पक्ष हावी भएको छ । उनीहरूमा सरकार र आइजीपीप्रति नै सकारात्मक भाव हुन सकिरहेको छैन । मनमा पीडा बोकेर बसेका तिनै डिआइजीलाई अघि लगाएर मुस्कारसहितको सेवा खोज्ने कामलाई मुर्खताबाहेक अरु भन्न सकिदैन । मुस्कान दिनका लागि पहिला प्रहरीभित्रकै असन्तुष्टि हटाएर काम गर्ने बातावरण दिनुपर्छ । तर अहिलेसम्म सरकारले प्रहरी अधिकृत वा जवानलाई त्यो अनुभुति दिन सकेको छैन । मुस्कानको परिभाषा आइजीले गरेजस्तै काम गर्न पहिला सडकमा खटिने सवै प्रहरीलाई समान ब्यवहारको अनुभुति गराउनु पर्छ । सवैलाई समान ब्यवहारको अनुभुति हुनुपर्छ । प्रहरीभित्र सवैलाई समान ब्यवहार हुन्छ, बिभेद छैन, कसैलाई पनि काखा र पाखाको नीति अबलम्बन गरिदैन भन्ने अनुभुति सवै प्रहरीले गर्न सके मात्रै मुस्कानसहितको सेवा ब्यवहारमा कार्यान्वयन हुन्छ । तर अहिलेसम्म यो काम भइरहेको छ कि छैन भन्नेतर्फ प्रहरी महानिरीक्षक र सरकारले समिक्षा गर्नुपर्छ । अहिलेसम्म यो ब्यवहार हुन सकेको छैन । सवै प्रहरी कर्मचारीले समान ब्यवहारको अनुभुति गर्न पाएका छैनन । काखा र पाखाको नीति पनि कायमै छ ।

यसलाई बदल्न सकेमात्रै साँचो अर्थमा मुस्कानसहितको प्रहरी सेवाको अवधारणा लागू हुनसक्छ । यसतर्फ ध्यान नदिई प्रहरीभित्र राजनीतिकरण गर्ने र राम्रालाई भन्दा दामवाला हाम्रालाई काखी च्याप्ने काम भयो भने यो अवधारणा केवल मिठो सपना वा कल्पना भन्दा फरक हुनेछैन । जसबाट प्रहरीप्रतिको नकारात्मक टिप्पणी झनै बढेर जानेछ । यथार्थ नलुकाई भन्दा नेपाल प्रहरीका हरेक सदस्यहरु अहिलेसम्म अभाव, रवाफ, दवाव र तनावमा काम गर्ने गरेका छन । सधै यस्तो तनावका बीच काम गर्नुपर्दा प्रहरीको कार्यशैलीमा सुधार आउन नसकेको कटु सत्य हो । त्यसलाई सम्बोधन गर्न सरकार र संगठनको नेतृत्वले ध्यान दियो भने यो अवधारणा लागू गर्न कुनै समस्या हुँदैन । यसतर्फ सोच्न ढिलाई नगरी अव प्रहरीको बृत्ति बिकाश र समान ब्यवहारको नीतिलाई स्थापित गर्नेतर्फ लाग्नुपर्छ ।

(बस्नेत राजधानी दैनिकका समाचार सम्पादक हुन)