
काठमाडौँ, २९ असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पाएको जिम्मेवारी नेपालमै नयाँ अभ्यास भएको बताएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी ग्रहणपछिको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले नयाँ अभ्यास अमूर्त नहुने बताए ।
उपप्रधानमन्त्री पोखरेल रक्षा मन्त्रालयबाट विदाइ भएर प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन । संभवतः यो नेपालको मन्त्रिपरिषमा नौलो अभ्यास हो’, उनले भने । औपचारिकता निर्वाह गर्नु मात्रै नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको उनले बताए ।
‘गन्थन र गुनासोमा मात्रै अल्मलनु हुन्न । अमूर्त कुरा गर्ने मात्रै होइन, स्टक्चरमै देखिने गरी काम गर्नुपर्छ । म त्यसैका लागि यहाँ आएको हुँ’, पोखरेलको भनाइ थियो ।
‘लोकप्रिय कार्यक्रम हेलो सरकार गर्दैछ के ? ढलकढलक ११र१२ बजेतिर आउने अनि चार÷पाँच नबज्दै फर्कने काम भइरहेको छ’, मन्त्री पोखरेलले उदाहरण दिए । तर, अब त्यसरी नहुने र कामबाटै जनतालाई जवाफ दिनुपर्ने मन्त्री पोखरेलले बताए ।
आफूले हेर्ने क्षेत्रहरु लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतको फेहरिस्त पनि मन्त्री पोखरेलले मन्तव्यका कार्यक्रममा राखेका थिए ।
उपप्रधानमन्त्री पोखरेलले पदभार गर्नुअघि रक्षा मन्त्रालयमा विदाइ कार्यक्रममा छोटो अभिव्यक्ति दिएका थिए । उनले रक्षा मन्त्रालय अब प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने बताउँदै उनले भने, ‘यो सरकारले यो मन्त्रालयलाई कति प्राथमिकतामा राखेको छ भन्ने यो प्रमाण पनि हो ।’
‘प्रधानमन्त्रीले नै यो मन्त्रालयको नेतृत्व गर्नु हुन्छ । नेपाली सेना कति भाग्यमानी’, पोखरेलले भने । राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको थियो ।















प्रतिक्रिया