
काठमाडौं, २८ असोज । नेपाल निर्माण व्यवसायी महासंघले समयमै भुक्तानी नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताएका छन् ।
कोभिड–१९ को बढ्दो प्रकोपसँगै मुलुकको समग्र अर्थतन्त्रमा नै गम्भीर असर परिरहँदा निर्माण उद्योगमा समेत अवस्था भयावह भएकाले समयमै भुक्तानी पाउनुपर्ने उनीहरुले बताएका छन् ।
चैत्र ११ बाट मुलुकमा लकडाउन सुरु भएसँगै अर्थतन्त्र निरन्तर ओरोला लागिरहँदा निर्माण व्यवसायीहरुले पाउनु पर्ने तर भुक्तानी नभएको रकमको आयतन पनि क्रमशः वृद्धि भइरहेको महासंघले बताएको छ । मंगलबार महासंघले एक विज्ञप्ति जारी गरी लकडाउनको अवधिमा समेत आफ्नो र परिवारको ज्यान नै जोखिममा पारेर निर्माण कार्य गरेका व्यवसायीलाई समयमै भुक्तानी दिनुपर्ने माग गरेका हुन् ।
हाल संक्रमण बढिरहेको अवस्थामा समेत जोखिमै लिएर भए पनि निर्माण व्यवसायीहरु कार्यस्थलमा सक्रिय रहेको महासंघको भनाइ छ । ‘यस्तो विषम परिस्थितिमा समेत भौतिक पूर्वाधारको क्षेत्रमा अहोरात्र खटिरहेका निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा व्यवसायीहरुको आर्थिक व्यवस्थापनमा गम्भीर एवं जटिल असर परिरहेको र व्यवसाय नै संकटमा परेको अवस्था छ’, महासंघका महासचिव रोशन दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यसरी पाउनुपर्ने भुक्तानी समेत नपाउँदा निर्माण व्यवसायीहरुको मनोबल गिर्न गई उनीहरु पेशाबाट नै पलायन हुने गम्भीर खतरा उत्पन्न भएको तर्फ महासंघले सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ । घर–घडेरी धितोमा राखी व्यवसायमा लागेका हजारौं व्यवसायीहरुले सम्पन्न गरिसकेका परियोजनाको समेत भुक्तानी नपाउँदा ठूलो आर्थिक तथा मानसिक समस्याबीच गुज्रन थालेकाले महान् पर्वहरु सुरु हुन लागेको बखत व्यवसायीहरुको अहिलेसम्मको सबै रकम भुक्तानी गरिदिन महासंघले माग गरेको छ ।
ठेक्का लगाई निर्माण कार्य सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी पाउनका लागि प्रदेश १ लगायतका प्रदेश निर्माण व्यवसायी महासंघ तथा जिल्ला संघहरुले आ–आफ्ना क्षेत्रका प्रदेश सरकार तथा सार्वजनिक निकायहरुमा पटक–पटक पत्राचार गर्दै आइरहेको महासंघले जनाएको छ ।
यसैबीच संघीय (केन्द्रिय) सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई सम्झौता गरी हस्तान्तरण गरेको र प्रदेश तथा स्थानीय सरकारले पुनः संघीय सरकारलाई जिम्मा लगाएका विभिन्न परियोजनाहरु हस्तान्तरण गर्दा निर्माण व्यवसायीहरुलाई निर्माण कार्य सञ्चालन गर्न र निर्माण कार्य सम्पन्न भई बिल समेत पेश गरेका आयोजनाहरुको भुक्तानी नहुने र समयमा काम पनि सम्पन्न नभई निर्माण व्यवसायीहरुलाई नै दोष दिने कार्यप्रति गम्भीर ध्यानकर्षण भएको महासंघले जनाएको छ ।
निर्माण कार्यको भुक्तानी हुन धेरै रकम बाँकी रहेकोले सो परियोजनाहरु सम्पन्न नहुन्जेल र भुक्तानी नभए सम्म सम्झौता भएको निकायबाट नै व्यवस्थापनका लागि महासंघले जोडदार माग गरेको छ ।
साथैको भिड–१९ को कारणले लकडाउनको अवधिसम्म विकास निर्माणका कार्य हुन नसकेको समयावधिलाई सार्वजनिक खरिद ऐनले महामारीलाई विषम परिस्थिति परिभाषित गरेको हुँदा सम्पूर्ण परियोजना एवं ठेक्काहरुको म्याद स्वतः एक वर्ष एकमुष्ठ थप हुने गरी नेपाल सरकारबाट नीतिगत निर्णय हुनु पर्ने माग महासंघले अघि सारेको छ ।
गत असार २९ मा नेपाल सरकार मन्त्रिपरिष्दको निर्णयानुसार लकडाउन अवधिमा सम्झौता भएका र म्याद समाप्त भएका हकमा मात्र ६ महिना मात्र म्याद थप भएता पनि उक्त थप समय नपुग हुने र उक्त निर्णयबाट सम्पूर्ण निर्माण कार्यहरुको म्याद थप नभएको हुँदा सम्पूर्ण परियोजना एवं ठेक्काहरुको म्याद स्वतः एक वर्ष थपको व्यवस्थाको लागि महासंघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।















प्रतिक्रिया