३ कार्तिक २०८३, मंगलबार

वाग्मतीको दुई हजार सात सय मेट्रन फोहर व्यवस्थापन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bagamati-river

काठमाडौँ, ७ चैत । वाग्मती नदी सफाइ महाअभियानले सुन्दरीघाटको राधास्वामी सत्सङ्ग केन्द्र आसापास क्षेत्रबाट आज करिब दुई हजार ७०० मेट्रिकटन फोहर व्यवस्थापन गरेको छ ।

महाअभियानको ९७औँ शृङ्खलामा त्यस नदी क्षेत्र तथा किनारा क्षेत्रमा जथाभावी मिल्काइएका जैविक तथा भौतिक वस्तु निकालेर सफाइ गरिएको हो । केही हप्तादेखि कुलेश्वर, बल्खु त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार अगाडिको क्षेत्र हुँदै त्यस क्षेत्रको सफाइ हुँदै आएको छ ।

वाग्मतीलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउने उद्देश्यले ९७ हप्ताअघिदेखि बाग्द्वारबाट अभियान सुरु भएको हो । महाअभियान अब तीन हप्तापछि चोभारमा पुगेर पूरा हुनेछ । अन्तिम हप्ता त्यस नदीलाई राजधानीवासीले मानव साङ्लोले घेरा हालेर फोहर नगर्ने प्रतिबद्धता जाहेर गर्ने छन् ।

महाअभियानका प्रमुख मुख्यसचिव लीलामणि पौड्यालले मानव सभ्यतासँग जोडिएको सो नदी फोहर तथा मानव अतिक्रमणले गर्दा आक्रान्त भएपछि सुरु गरिएको महाअभियानमा विभिन्न तह तथा क्षेत्रबाट निरन्तर भएको सहयोगले नदीले आफ्नो मार्ग तथा गति लिन थालेको बताउँदै अब यसको प्रदूषण न्यूनीकरणमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले वाग्मती सम्पूर्ण राजधानीवासीको चिन्ता र सरोकारको विषय भएकाले यसको संरक्षणका लागि मुख्यसचिवको नेतृत्वमा थालिएको महाअभियानले नदीले पुनर्जीवन प्राप्त गर्न थालेको विचार व्यक्त गर्दै अभियानको १०० हप्तामा सबै राजधानीवासीलाई नदी क्षेत्रमा आउन अनुरोध गर्नुभयो ।

हिलाम्य र धुलाम्य बनेर फोहर व्यवस्थापनमा जुट्नुभएका नेता श्रेष्ठलाई स्थानीय समाजसेवी किशोर गौतम, सत्सङ्ग केन्द्रका प्रतिनिधि हरिहर बस्नेत तथा केन्द्रीय नेपाली विभागका प्रा कृष्णप्रसाद घिमिरेले फोहर व्यवस्थापनमा आवश्यक सहयोग उपलब्ध गराउनुभएको थियो ।

त्यसैगरी उद्योग सचिव जयमुकुन्द खनाल तथा प्रहरी अधिकृत सर्वेन्द्र खनालले पनि फोहर व्यवस्थापनमा सहयोगी भूमिका खेल्दै अब नदी क्षेत्रमा कसैले पनि फोहर गर्न नहुनेमा जोड दिनुभयो ।

सो अवसरमा महानगरपालिका, प्रहरी, सेना तथा स्थानीय कुमारी क्लब, बर्नहर्ट कलेज, ग्रीन लन्स एकेडेमी, युरेसिया रेयुकाइका प्रतिनिधिलगायतको उल्लेख्य सहभागिता थियो ।