
काठमाडौं, २५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंलोरले चौथो जित निकालेको छ ।
शनिबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले पराजित गर्दै बैंलोरले जारी प्रतियोगितामा चौथो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंलोरले दिएको १७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्रसिंह धोनीले १० रन बनाए । बैंलोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंलोरले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । बैंलोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले भने शिवम डुबेले अविजित २२ रन जोडे ।
यस्तै देवदूत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शून्य रनमा आउट भए ।
चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १÷१ विकेट लिए । जितसँगै बेङ्ग्लोर तालिकाको चौथो स्थानमा उक्लिएको छ । बैंलोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।















प्रतिक्रिया