
टेक्सास (अमेरिका), २४ असोज । अमेरिकाको टेक्सास राज्यको अष्टिन शहरमा लुटेरा समूहको गोली लागी एक जना नेपाली गम्भीर घाइते भएका छन् ।
अक्टोवर ७ तारिक (बुधबार) राति उनी कार्यरत ग्यास स्टेशन तथा खुद्रा पसलमा गोली प्रहार भएको थियो । सो समयमा ड्युटी गरिरहेका उनलाई समेत गोली लागेको हो । लुटेराको प्रहारबाट सो पसलमा कार्यरत उमेश न्यौपाने गम्भीर घाइते भएका छन् ।
समाचारअनुसार, अष्टिन शहरको डाउन टाउनमा रहेको भारतीय व्यापारीको स्वामित्वमा रहेको ग्यास स्टेशनमा कार्यरत रहेकै बेला तीनजना अस्वेत व्यक्ति पसलभित्र आएको र तीमध्येको एकले बन्दुक देखाएको थियो ।
लुटेराले बन्दुक देखाएपछि दुबै हात माथि उठाई आत्मसमर्पणको संकेत दिएका न्यौपानेलाई लुटेराले गोली प्रहार गरेको थियो । घटना राति ११ बजेतिरको भएको बताइएको छ । न्यौपानेलाई गोली प्रहार गरी सो पसलबाट केही पनि नलुटी सो लुटेरा समूह भागेको सीसीटीभी फुटेजमा देखिएको स्थानीय प्रहरीले जानकारी दिएको थियो ।
गोली प्रहार गरी भागेको लुटेरा समूहले अष्टिनकै अरु दुईवटा स्टोरहरु लुटेको जानकारी प्रहरीले पाएको तर सो समूह हालसम्म पक्राऊ परिनसकेको बताइएको छ ।















प्रतिक्रिया