७ कार्तिक २०८३, शनिबार

बैंकर तथा समाजसेवी पौड्याल नबिल बैंकको अध्यक्ष

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असोज । नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानी कर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका २ जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए ।

अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान सम्मान योग्य छ । उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसले उनी सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ ।

यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहेका थिए । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए ।

त्यसपछि, उनी सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उनको पनि महत्वपूर्ण भूमिका छ ।

आफ्नो कार्यकाल सफलताका साथ पूरा गरी बैंकलाई नयाँ उचाईमा पुर्याउन सफल भएकोमा अध्यक्ष पौड्याल र सञ्चालक अग्रवाल प्रति बैंक आभार व्यक्त गरेको छ । साथै, उनीहरूको आगामी दिन सुखमय रहोस् ।

अध्यक्षको पदावधि सकिए सगै बैंकले नयाँ अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

२०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत छन् ।

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्युटको निर्देशक रहेको उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन् ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । जहाँ उनको संलग्नता स्थापनाकालदेखि नै थियो ।

सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरेका थिए ।

१४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उनको योगदानको उच्च कदर हुने गर्छ ।

होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरे । त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उनको अनुभव छ ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्र्याएको छ । बैंकले उनको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ ।