१ कार्तिक २०८३, आइतबार

आत्मनिर्भर सेवा केन्द्रले गर्यो सामाजिक लेखाजोखा कार्यक्रम

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आफ्नो वार्षिक कार्यक्रम, त्यसबाट प्राप्त उपलव्धी, आम्दानी र खर्च सार्वजनिक गरेको छ ।

यस वर्ष कोभिड–१९ को असरलाई ध्यान दिँदै अनलाइन माध्यम जुम एपमार्फत सामाजिक लेखाजोखा कार्यक्रम गरिएको हो । वि.स. २०४९ सालमा स्थापना भएको यो संस्था २०५१ सालदेखि भूमि तथा कृषि अधिकार अभियानको क्षेत्रमा क्रियाशील छ । आत्मनिर्भर केन्द्रले यस्तो लेखाजोखा कार्यक्रम २०६४ देखि वार्षिक रूपमा नियमित गर्दै आएको छ ।

आत्मनिर्भर केन्द्रले आर्थिक वर्ष २०७६/७७ मा कुल ७ करोड ५९ लाख ९० हजार ३०१ रूपैयाँ बजेट उपयोग गरेको सार्वजनिक गरेको छ । आत्मनिर्भर केन्द्रका वकालत, अनुसन्धान तथा नीति विश्लेषक जगत बस्नेतले प्रगती प्रतिवेदन र संस्थाका वित्त तथा प्रशासन संयोजक गीता पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी हुँदै नवराज थपलिया एन्ड थपलिया एसोसियट्सका चार्टड एकाउन्टेन्ट नवराज थपलियाले संस्थामा गरेको लेखा परीक्षणको विषयमा आफ्नो अनुभव सुनाए । संस्थाले संस्थागत पारदर्शिता, संस्थागत क्षमता विकास र दीगोपनाका लागि नीतिहरू तय गरेर अघि बढेको पाइएको उनले बताए ।

संस्थाबाट सञ्चालित अभियानबाट यस वर्ष २१९ परिवारले मोहियानी हक, ३४७ गाउँब्लकबासीले बसोबास गर्दै आएको ठाउँको लालपुर्जा, ३४९ विस्थापित परिवारले पुनर्वासका लागि घडेरी, ५३४ भूमिहीन परिवारले घर निर्माणको लागि जग्गा प्राप्त गरेका छन् ।

यस्तै, ७ हजार ५७५ भूमिहीन परिवारले ऐलानी तथा सार्वजनिक जग्गामा साविक बसोबास स्थानमै घर बनाउने अनुदान पाएका छन् । ७२४ परिवारले संयुक्त पुर्जा निर्माण गरी महिला र पुरुषको समान स्वामित्व कायम गराएका छन् ।

यस्तै संस्थाको सहजीकरणमा १८५ परिवारले १० दशमलव १५ हेक्टर क्षेत्रफलको नदी उकासको जमिन र २३ परिवारले ३ दशमलव २४ परिवारले बाँझो जमिन उपयोग गरी जीविकोपार्जन र आर्यआर्जन बढाउने कार्य गरिरहेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा सहभागी हुँदै समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्मप्रसाद खतिवडाले नेपालका गैरसकारी संस्थाहरू मध्येमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको काम प्रभावकारी भएको बताए । उनले संस्थाले प्रत्यक्ष लाभग्राहीलाई पुर्याएको सहयोग, सुशासन र पारदर्शितामा संस्थाको योगदान अतुलनीय रहेको बताए ।

कार्यक्रममा सहभागी हुँदै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले नेपालमा भूमि व्यवस्था सुधारका लागि सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गरिरहेको अभियानको महत्वपूर्ण भूमिका रहेको बताए ।

यस्तै साझेदार संस्थाको तर्फबाट केयर नेपालका सहायक राष्ट्रिय निर्देशक मोना शेर्पाले आफूले लामो समयदेखि आत्मनिर्भर सेवा केन्द्रको कार्यक्रम हेर्दै, सहभागी हँुदै र नजिक रहँदै आएको हुँदा र आजको सामाजिक लेखाजोखामा सहभागी भएर प्रगती सुन्दा यो संस्था एकदमै प्रतिवद्ध भएर आफ्नो अभियानमा लागेको बताए ।

यस्तै कार्यक्रममा समुदाय तहबाट सहभागी भएका अगुवाहरूले आ–आफ्नो धारणा राखेका थिए । सो क्रममा अम्बर चौधरी, पवित्रादेवि सदा, विषरानी चौधरी, अस्मिता थापा क्षेत्री, प्रेम विक, विमला श्रेष्ठ, मञ्जु चौधरी, प्रेमबहादुर गुरुङले संस्थाको सहयोगमा उठिबासको घटना रोकिएको, भूमिहीन र विस्थापित परिवारले बसोबासको लागि घडेरी पाएको, अनुदानहरू उपलब्ध भएको अनुभव सुनाएका थिए ।