काठमाडौँ, ६ चैत । प्रवेशिका परीक्षाको नतिजासँगै असफल हुनेमध्ये कतिपयले आत्महत्याको बाटो रोज्ने गर्छन् र यस्ता घटनाले समाचारपत्रमा यथेष्ट स्थान पाइरहेका हुन्छन् ।
यसै विषयलाई आधार बनाएर निर्देशक दयाहाङ् राईले ‘जिरोजिरो जेड’ नाटक निर्देशन गरेका छन् । फागुन २९ गतेदेखि अनामनगरस्थित मण्डला थियटरमा मञ्चन भइरहेको सो नाटकले उक्त यथार्थलाई कथानक रुपमा प्रस्तुत गरेको छ ।
नाटकका निर्देशक तथा लेखक राई यस नाटकलाई ‘एक रातको नाटक’ का रुपमा व्याख्या गर्नुहुन्छ । ‘प्रयोगात्मक नाटक हो यो,’ उहाँ भन्नुहुन्छ – ‘संसारको एउटा कुनामा एउटा घटना भइरहँदा त्यही कुनाको अर्को छेउमा अर्कै घटना भइरहेको हुन्छ, दुर्घटना होस् या घटना त्यसले समयलाई पर्खदँैन ।’
तीनजना पात्रको कथा समेटिएको नाटक हो ‘जिरोजिरो जेड’ । घटनासँग जोडिएका, जोडिन आइपुगेका र जोडिन नचाहने यी तीन पात्रबीचको अन्तरङ्ग संवाद र उनीहरुले भोगेको समयलाई नाटकको कथामा बुनिएको छ ।
कथामा परीक्षामा असफल भएका एक किशोरले आत्महत्या गरेका छन् । दसैँको पूर्णिमाका दिन सो घटना भएको छ । घटनास्थलमा प्रहरी आइपुग्छ । तीमध्ये दुईजना शव कुर्न बस्छन् । बाँकी फर्कन्छन् । घटनास्थलमा अर्का एक युवक पनि हुन्छ । दुईजना प्रहरी र ती युवकबीचको संवाद निकै रमाइलो रुपमा प्रस्तुत गरिएको छ । नाटक अवधिभर उनीहरुले दर्शकलाई मज्जाले हसाउँछन् । नाटकको अन्त्यमा शवबाट ‘सुसाइड नोट’ फेला पर्छ र रहस्योद्घाटन हुन्छ । यसमा ती किशोरले परीक्षामा असफल भएकै कारण आफूले आत्महत्या गर्नुपरेको लेखेका हुन्छन् ।
नाटकमा प्रहरीको भूमिकामा भाष्कर वली र रियर (खिलकुमार) राई रहेका छन् भने अर्का युवकको भूमिकामा मोहम्मद नाजीर हुसेन छन् ।
सोमबारबाहेक प्रत्येक दिन साँझ ५ः१५ मा नाटक देखाइँदै आएको छ । नाटक चैत १८ गतेसम्म मञ्चन हुनेछ । रासस















प्रतिक्रिया