काठमाडौँ, १४ असोज । रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । त्यस्तै, आक्रमणबाट २ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका ६ का २७ वर्षीय संगम भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको जानकारी दिए ।
मंगलबार घाँस काटन जङ्गल गएका भण्डारी अबेरसम्म नफर्किएपछि खोजी गर्न गएको समुहले उनलाई कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा शव फेला पारेको हो ।
मंगलबार राति नै खोज्न गएका १४ जनाको युवाहरुको समूहलाई समेत बाघले आक्रमण गरेपछि २ जना घाइते भएका थिए । घाइते हुनेमा सोही टोलका ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापा रहेको प्रहरीले जनाएको छ । उनीहरु चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारपछि घर फर्केका छन ।
भण्डारीको शव बुधबार चन्द्रपुरबाट पश्चिमकोबीच जङ्गलको खोल्सामा भेटिएको डिभिजन वन कार्यालयका फरेष्टर शम्भु महतोले बताए ।