२९ आश्विन २०८३, बिहिबार

देशका ‘मानक’ समाजसेवीहरु: जस्ले अमेरिकी डिभी मात्रै होइन्, लोभलाग्दो जवानी पनि त्यागे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabita-Uprety

– सोम खनाल

‘समाज सेवा गर्छु’ भन्नु सायद संसारको सबै भन्दा सजिलो कुरा होला, त्यसैले हामी मध्ये धेरैले ‘समाज सेवा गर्छु’ भन्न छोड्दैनौं । तर साँच्चिकै नि:स्वार्थ रुपले ‘समाज सेवा गर्नु’ सबै भन्दा कठिनतम मध्येको एउटा काम हो । त्यसैले भन्ने जति सबै ‘समाज सेवी’बन्न सकिरहेका हुदैनन् । नि:स्वार्थ समाजसेवाको लागि निरन्तरको त्याग, समर्पण र कठोर मेहनतको जरुरत हुने मात्र होईन अनेकन बाधा, अड्चन र हन्डर ब्यहोर्नु पर्ने भएर नै होला, समाज सेवामा लाग्ने जति सबै उद्देश्य आधाबाटो नछिचोल्दै पलायन भइरहेको पनि देखिन्छ । तर जसले पलायन स्वीकार नगरी दिर्घकालिन संघर्षको बाटोमा अबिचलित पाइला चालिरहन्छन् या त्यस्तो संकेत देखाउँछन्, तिनीहरूले नै बास्तबिक अर्थमा समाजको सेवा गर्छन् र, समाजका मानिसहरूको मन पनि जित्दछन् । आफ्नो अनबरत लगनशीलताले हजारौँको मन जित्न सकेका त्यस्तै आदर्श समाजसेवीहरूप्रति यो लेख समर्पित छ, पढिदिनुहुने पाठकहरूप्रति अग्रिम आभार प्रकट गर्दछु… ।

मेनुका थापा- रक्षा नेपाल:

मेनुका थापा रक्षा नेपाल नामक गैर संस्थाकी संचालिका हुन् । जब म मेनुकाको बारेमा सोच्न थाल्छु, एकाएक आफू एक्काइस बर्षको उमेर हुँदाको अबस्थामा पुग्छु । एक्काइस बर्षको उमेरमा म के गर्दै थिएँ होला ? क्याम्पसमा पढ्थेँ, तर फुर्सद भयो कि क्यारामबोर्ड वा क्रिकेट खेलेर, सिनेमा हेरेर, मद्यपान गर्दै रमाइलो गरेर, वा माया पिरतीका सस्ता कबिता लेखेर समय बिताउँथे । तर एक्काइस बर्षकी हुँदैदेखि मेनुका थापालाई कहिलै फुर्सद भएन । काठमाडौँ शहरका क्याबिन रेष्टुराँहरूमा यौनशोषण सहदै मजदुरी गर्न बिवश युवतीहरूका दुःख साटिदिन उनीलाई दिनको चौबिस घन्टा थोरै हुन्थ्यो । मेनुका उनीहरूलाई भेला पारेर अक्षर चिनाउँथिन्, क्याबिन भित्रको रक्सी र सुर्ती मिश्रित दुर्घन्धित हावाबाट बाहिर निस्कने बाटो देखाउँथिन् । यसरी समाजका तिरस्कृतहरूकी पथ प्रदर्शक बनेर समाजसेवाको कठोर बाटोमा प्रबेश गरेकी मेनुकाले शहरभित्रका सम्पूर्ण यौनकर्मी महिलाहरूलाई संगठित गर्ने र यौनकर्मको नरकबाट निकालेर समाजमा पुनर्स्थापित गर्ने सपना देखिन् र त्यसै सपनालाई पछ्याउँदै रक्षा नेपाल नामक संस्थाको स्थापना गरिन् ।

Manuka-Thapa

२०६९ सालको भाद्र महिनामा म ‘रित्तो हात र रित्तो मन’ रक्षा नेपालको कार्यालयमा पुगेको थिएँ । मैले सामाजिक सञ्जालमा मात्र चिनेकी मेनुका थापाले हसिलो अनुहारका साथ स्वागत गरिन् । केहीबेरको गफगाफपछि हसिँला, स्वस्थ, र जोश जांगरले ओतप्रोत करिब २५ जना बालबालिकाहरू कक्षमा प्रबेश गरे । ती मध्ये धेरैजसो प्रेमपूर्बक मेरो अगल-बगलमा झुम्मिए । मैले ती हरेक बच्चाहरूको आँखामा जिज्ञासु नजर दौडाएँ । ती मध्ये एउटा पनि बच्चाहरूको अनुहारमा निराशा, आलश्यता र संकोच देखिन । हरेकको बोलीमा प्रेम, करूणा र दह्रो आत्मबिश्वास थियो । मलाई एक किसिमले आश्चर्य पनि लाग्यो । अकल्पनीय र दयनीय अबस्थाबाट आएका यी बालबिकाहरू त निन्याउरा, निम्छरा, र निराश देखिनु पर्ने होइन र ! कसरी यी यतिधेरै प्रफुल्ल र आत्मबिश्वासी भए ? तर केहीबेरको बसाईमै मैले त्यहाँ जे देखेँ, त्यसले मेरो सम्पूर्ण सन्देहलाई दूर गरिदियो ।

मेनुका ‘आमा’ले ती बालबालिकालाई केही कुराको पनि कमि हुन दिएकी रहिनछिन् । उनीहरूको पठनपाठन्, लालनपालनको ब्यबस्था त केवल भौतिक कुरा हुन्, जो सायद पैसाको भरमा जोहो गर्न सकिँदो हो । तर मेनुकाले ती बच्चाहरूलाई दिएको प्रेम र ममता संसारको कुनै पनि धनले किन्न नसकिने खालको अनमोल थियो । र, त्यो आमा र बच्चाहरूको एक-एक ब्यबहारमा स्वस्फुर्तः देखिइरहेको थियो । अनेकन् असहायकी ‘आमा’ बनेकी अबिबाहित मेनुका थापालाई ‘आमा’ सम्बोधनकी उत्तिकै हकदार पाएँ, जति हक नौ महिना गर्भमा राखेर बच्चा जन्माउने आमालाई हुन्छ । त्यहाँ रहेका हरेक बच्चाहरूले आफ्नो कहालीलाग्दो बिगतलाई मेनुकाको ममतामयी छत्रछाँयाको सहारामा भुल्दै देशको योग्यतम् कर्णधार बन्ने सपना देख्ने गरेको यथार्थ महसुस गर्दा मेरो हृदयमा मेनुका समाज सेवा क्षेत्रकी एउटी आदर्श पात्रको रूपमा स्थापित भइसकेकी थिइन् । ती आदर्श नारी मेनुकालाई बहिनी र ती ‘भाग्यमानी’ नानीबाबुहरूलाई भान्जा भान्जी साइनो लगाएर फर्किएपश्चात पनि रक्षा नेपालमा पटकपटक स-परिवार गएको छु र हरेकपल्ट अझ बढी धन्य महसुस गर्दै फर्केको छु ।

बिष्णु गौतम- लक्ष्मी प्रतिष्ठान

बयस्क भइसकेका पौरखी दुई छोराहरू एकैबर्षको अन्तरालमा सवारी दुर्घटनामा परि परलोक हुँदा बाबुआमाको हृदयमा पुग्न जाने आघात कस्तो होला ? त्यस्तो अकल्पनीय आघातबाट बाहिर निस्कन बाबुआमाले कसरी सक्नु ? प्रश्नले मात्र पनि हाम्रो मुटु सिरिङ्ग हुन्छ । तर काभ्रेका बिष्णु गौतम र लक्ष्मी गौतमले यस्तै कहालीलाग्दो दुर्घटनालाई आत्मसात गर्नुपर्यो । एकै बर्षको अन्तरालमा गौतम दम्पतीका अत्यन्तै होनहार छोराहरूमध्ये एकको नेपालमै र अर्कोको अमेरिकामा सडक दुर्घटनामा परी मृत्यु भयो । यस घटनाले बिक्षिप्त बनेका गौतम दम्पतीले कयौँपल्ट जीबनलाई ब्यर्थ देखे । तैपनि आफ्ना छोराहरूको स्वर्गीय आत्माको शान्तिको लागि अनेक उपायहरूको बारेमा सोच्न छाडेनन् । अन्त्यमा छोराहरूको नाममा समाजका तल्लो भन्दा तल्लो र अति पिछडिएको समुदायको हितमा थोर बहुत काम गर्दा उनीहरूलाई केही हदसम्म सन्तुष्टि मिल्यो । त्यसै सन्तुष्टिको निरन्तर पुनर्पाप्तिको निमित्त आफ्नो जीवन नै समाजको सेवामा होमिदिने निर्णय गरे र लक्ष्मी प्रतिष्ठान भन्ने संस्थाको निर्माण गरे ।

Bisnu-Gautam

आज लक्ष्मी प्रतिष्ठानले समाजका धेरै क्षेत्रहरूमा योगदान पुर्याइरहेको छ । ती मध्ये चितवनको कान्दामा कष्टकर जीवन ब्यतित गरिरहेका चेपाङ समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि प्रतिष्ठानले गरेको कामको जति प्रशंसा गरे पनि कम हुन्छ । बिष्णु गौतम तथा परिवारको समाजसेवाप्रतिको लगाव र भावना हेर्दा लाग्छ उनीहरू कान्दा निवासी चेपाङ समुदायको उद्दार गर्नैका लागि जन्मेका हुन् । लक्ष्मी प्रतिष्ठानको अगुवाईमा कान्दाबासी १०० चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिनका लागि स्कूल र छात्राबासको निर्माण करिब करिब अन्तिम अबस्थामा छ । ती भवनहरू बनाउने काममा गौतम परिवारले आर्थिक जोहो त गरेका छन् नै पिठ्यूमा निर्माण सामाग्री बोकेर घन्टौँको श्रम पनि लगानी गरेका छन् । त्यसैगरी चेपाङ्ग समुदायका लागि सोलार बत्तीको ब्यबस्था तथा फलफूल र तरकारी खेतीमार्फत आत्मनिर्भर बनाउने काममा समेत लक्ष्मी प्रतिष्ठान लागि परेको छ । यसरी गौतम परिवारले सेवा भावनामार्फत शोकलाई शक्तिमा बदल्न सकिन्छ भन्ने कुराको प्रेरक उदाहरण प्रस्तुत गरेका छन् ।

शिशिर खनाल- टिच फर नेपाल

अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट उच्चशिक्षा प्राप्त गरेका शिसिर खनालले चाहेका भए अमेरिकामै सुखशयलपूर्ण जीवन ब्यतित गर्न सक्ने थिए । तर कतिपय मानिसहरूलाई व्यैक्तिक सुखशयल र बैभबले सन्तुष्टि दिँदो रहेनछ, शिशिर खनाल पनि त्यस्तै मानिसको रूपमा निस्किए । दुईबारको जीबन नेपालकै माटोमा केही गरेर सार्थक बनाउन अमेरिकाबाट फर्केका शिशिरको मन नेपालका सरकारी बिद्यालयहरूको दुराबस्था देखेर बेचैन भयो । तनहुँ जिल्लाको ग्रामिण बस्ती टुहुरे पसलमा जन्मे हुर्केका र त्यतैको सरकारी बिद्यालयमा पढेका शिशिरसँग बिद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्नकालागि केही गर्नेपर्ने अनुभूति भयो र यसै प्रयोजनका लागि उनले टिच फर नेपाल भन्ने संस्था निर्माण गरे ।

Sishir-Khanal

उनको संस्थाले दुर्गम गाउँहरूमा रहेका सरकारी बिद्यालयहरूमा शहरका उत्कृष्ट बिद्यालय तथा कलेजमा पढेका होनहार ब्यक्तिहरूलाई गणित, बिज्ञान र अंग्रेजी बिषयका स्वयंसेवक शिक्षकको रूपमा दुईबर्षको लागि पठाउने गर्छ । टिच फर नेपालले यसरी खटाईएका योग्य स्वयंसेवक (फेलोज्) हरूलाई गुजारा चलाउन न्यूनतम तलब दिने तथा उनीहरूलाई उत्कृष्ट शिक्षण विधिहरूको बारेमा समय समयमा तालिमको ब्यबस्था गर्ने काम समेत गर्छ । यसरी खटाइएका ‘फेलो’ शिक्षकहरूले पढाउने मात्र नभएर सम्बन्धित बिद्यालयका शिक्षकहरू माझ नयाँ र प्रभाबकारी शिक्षण बिधिको प्रदर्शन गरी उनीहरूलाई पनि त्यस्तै बिधिहरू अबलम्बन गर्न समेत प्रेरित गर्ने गर्दछन् । शिशिर खनालको यस्तो दिगो र सिर्जनशील कामबाट ललितपूर तथा सिन्धुपाल्चोक जिल्लाको दुर्गम गाउँबस्तीका पचासौं बिद्यालयका बिद्यार्थी, शिक्षक तथा समुदाय लाभान्वित भइरहेका छन् । शिशिर खनाल यस्तो पुनित कामलाई देशब्यापी बनाउन अहोरात्र खटिरहेका छन् ।

सबिता उप्रेती- अटिजम भएका बालबालिकाको लागि बिशेष स्कूल तथा पुनरस्थापना केन्द्र

हुँदाखाँदाको अधिकृत स्तरको जागिर छाडेर एउटी अविवाहित युवतीले मानसिक रुपमा बिकलाङ्ग बालबच्चाहरूको स्याहार गरेर जीवन ब्यतित गर्छु भन्दा मानिसले के भन्छन् होला ? कतिले त पागल पनि भन्न बेर लगाउँदैनन् । तर सबिता उप्रेतीलाई त्यस्तै सेवा भावनाको पागलपनले जित्यो र अहिले उनी मानसिक रुपले कमजोर अर्थात अटिजम भएका केटाकेटीहरूको लालनपालन गर्दै सार्थक जीबन यापन गरिरहेकी छन् । पाँच बर्ष अगाडि एकदिन उनले फोहोरको डङ्गुरमा मिल्काइएको पुस्तकमा अक्षर चिन्ने कोशिस गरिरहेको एक बौदिक दुर्बलता भएको बालकलाई देखिछन् । बौदिक दुर्बलताका बाबजुद त्यो बालकले पढ्ने लालसा देखाएको देख्दा उनलाई अत्यन्तै हुटहुटी भएछ र त्यस्तो प्रकारका दुर्बलता भएका बालबालिकाको लागि ‘केही गर्ने’ सोच बनाइछन् । त्यही सोचलाई अथक मेहनतका साथ साकार बनाउदै जाने क्रममा सबिताले जागिर छाडिन् र अटिजम भएका बालबालिकाको लागि बिशेष स्कूल तथा पुनस्र्थापना केन्द्र नै खोलिन, जहाँ हाल ४० भन्दा बढी त्यस्ता नानी बाबुहरूले सेवा पाइरहेका छन् ।

Sabita-Uprety1

दोलखाबाट उच्चशिक्षा हासिल गर्ने उद्देश्यले काठमाण्डौ आएकी सबिताले स्नातकोत्तरको अध्ययन मात्र गर्दै छैनन्, उनले त अटिजम भएका नानीबाबुहरूको मानसिक उपचार पद्दतिको बिशेष तालिम समेत लिएकी छन् । उनको सेवा भावना ब्यक्तिगत सुखसुबिधा भन्दा धेरै उच्च र निःस्वार्थ छ भन्ने कुरा उनले दुई बर्ष अगाडि अमेरिकाको डिभि चिठ्ठा त्यागिदिएको तथ्यबाट नै प्रष्ट हुन्छ । कतिपय मानिसहरू बौदिक बिकलाङ्ग बच्चाहरूमा पूर्वजन्मको दोष देख्छन् । तर सबिता उनीहरूका अनुहारमा प्रकृतिको निर्दोष सृष्टि देख्छिन्, र त्यो सृष्टिलाई सम्हाल्ने कठिनतम जिम्मेवारी आफूलाई प्राप्त भएको महसुस गर्छिन् । आफूले गरेको पूनित काममा आफ्ना बुबा आमा तथा परिवार समेतको सहकार्य र समर्थन लिन सफल सबिताको यो उदाहरणीय सेवा भावना हर दृष्टिकोणबाट स्तुत्य देखिन्छ ।

Som-Khanal
लेखक: सोम खनाल

 

अन्तमा:

नेपालको समाजमा गरिबी, अशिक्षा र बिभिन्न किसिमका हिंसाहरू ब्याप्त छन् । समाजमा समस्या छन् र ति समस्यामा परेका मानिसहरूको उद्दारमा लागि पर्ने धेरै मनकारी र आँटी ब्यक्तिहरू पनि छन् । समाज सेवामा लागेका अनेकन ब्यक्ति वा संस्थालाई एउटा छोटो लेखमा समेट्न अबस्य सम्भव हुदैन । त्यसैले यहाँ प्रस्तुत गरिएका ब्यक्ति र संस्थाहरू हाम्रो गाउँ समाजमा सेवा भावनालाई जागृत गराउने कामका स-साना झिल्कारुपी उदाहरणहरू मात्र हुन् । यी ब्यक्तिहरू अनेक किसिमका अभाब र तनाब देखेका-भोगेका तपाई हामी जस्तै सर्बसाधारण हुन् । सेवा कार्यमा हामफाल्दा यिनीहरूको हातमा टन्न पैसा थिएन, न त पछिल्तिर सहयोगीहरूका लस्कर नै थिए । तर पनि यिनीहरूले समाज सेवाको कठिन काममा जीवन अर्पण गर्न अठोट देखाए, र त्यही अठोटका कारण आज उनीहरू समाज सेवाका मानक पात्रहरूको रूपमा परिचित भएका हुन् । उनीहरूको परिचयको आधार भनेको उनीहरूको स्वार्थरहित र अबिचलित सेवाभावना नै हो । उनीहरूको सेवा भावना जति निरन्तर रहन्छ, उतिनै उनीहरूको पहिचान पनि बृहत हुदै जान्छ । यस्ता पात्रहरूलाई हरतरहले सहयोग गर्नु हरेक नागरिकको कर्तब्य हो । अर्कोतर्फ, आफ्नो सेवा भावनामा कुनै पनि किसमको स्वार्थको प्रबेश बर्जित गर्नसक्नु चाँहि स्वयं पात्रहरूकै जिम्मेदारी हो ।

प्रस्तुत गरिएका तस्वीरहरू सम्बन्धित ब्यक्ति वा संस्थाका फेसबुक पेजबाट सकारात्मक उद्देश्ले साभार गरिएका हुन् ।