
काठमाडौं, ५ असोज । एनआईसी एशिया बैंकले देशको बैंकिङ इतिहासमै पहिलोपटक चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने प्रणालीको शुरु गरेको छ ।
नयाँ प्रणालीमा ग्राहकले घर वा कार्यालयबाटै आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी एनआईसी एशिया बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न सक्ने छन् ।
बैंकको वेबसाइटमार्फत चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिने छ । उक्त वेबसाइटभित्र सेवाग्राहीका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको बैंकले बताएको छ ।
उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनोट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाइने र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई विनाकुनै भौचर सोझै काउन्टरमार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिने बैंकको बनाइ छ ।
यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउन्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने छ । बैंकले ल्याएको अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
चेक जम्मा गर्ने भौचर अनलाइन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाइन प्रणालीबाट भर्ने व्यवस्था गरिसकेको छ भने सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल एकाउन्ट ओपनिङ’ प्रणालीको समेत शुरुवात गरिसकेको छ ।
साथै मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस आईसर्भमार्फत सेवा दिइरहेको छ र उक्त सेवाहरू आईसर्भमार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छूटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।















प्रतिक्रिया