७ कार्तिक २०८३, शनिबार

मन्त्री गुरुङद्वारा दोलखाको पहिरो प्रभावित क्षेत्रको अवलोकन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गरेका छन् ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित शुक्रबार पहिरो प्रभावित क्षेत्रमा पुग्नु भएकामन्त्री गुरुङले पीडितलाई अत्यावश्यक खाद्यन्न, त्रिपाललगायतका राहत सामग्री वितरण गरेका हुन् ।

भदौ २२ गते बिहान लापिलाङस्थित रानीवन भीर भत्किएर काँडाबारी बस्तीमा पस्दा ९ वटा घर पूर्ण रुपमा तथा ३२ घर आंशिक रुपमा क्षति हुँदा २६ घर परिवार पूर्ण रुपमा विस्थापित हुन पुगेका थिए भने २ सय ४७ घर परिवार प्रभावित भएको थिए । मन्त्री गुरुङले पहिरोले बिचल्लीमा परेका पीडितसँग भेट गरी उनीहरुलाई राहत वितरण गरेका हुन् ।

त्यस अवसरमा बोल्दै उनले पीडितहरुको जिम्मा राज्यले लिने बताए । ‘तीनवटै तहका सरकार मिलेर पीडितलाई थप राहतको व्यवस्था गरिनेछ,’मन्त्री गुरुङले भने, ‘जोखिममा परेको त्यहाँको बस्ती स्थानान्तरणका लागि तत्काल पहल गरिनेछ ।’

उनले विपत्तिको यो बेला पीडितका लागि राज्य छ भन्ने अनुभूति दिलाउने गरी आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री गुरुङले स्थानीय सरकार र प्रदेश सरकारलाई पीडितका लागि राहतको आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरे ।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौंलागाईले पनि पीडितका लागि आवश्यक राहतको व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।

मन्त्री गुरुङसँगै पूर्वमन्त्री पोखरेल, सांसद चौंलागाईँ, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, तामाकोशी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटी लगायतले पनि पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । कालिञ्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामी, उपप्रमुखका लिका शिवाकोटीले पीडितको अवस्थाबारे जानकारी गराउँदै उनीहरुको राहत तथा दीर्घकालीन बसोबासको उचित व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

यस अघिमन्त्री गुरुङले गौरीशंकर गाउँपालिकाका विभिन्न वडामा गएको पहिरो प्रभावित क्षेत्रको पनि अवलोकन गरी पीडितलाई राहत तथा उद्धारका लागि आवश्यक व्यवस्था मिलाएका थिए ।