
– यमबहादुर बम
धनगढी, ५ चैत । विहीबारदेखि शुरु भएको प्रवेशीका (एसएलसी) परीक्षाको पहिलो दिन सुदूरपश्चिममा ६५ हजार विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् ।
नियमिततर्फ ४३ हजार दुई सय ८६ र आंशिकतर्फ २१ हजार सात सय ८९ गरी ६५ हजार ७५ विद्यार्थीले अंग्रेजी विषयको परीक्षा दिएको सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलले जनाएको छ ।
क्षेत्रीय शिक्षा निर्देशनालय परीक्षा फाँटका शाखा अधिकृत पूर्ण शाहका अनुसार नियमिततर्फ पाँच सय ५१ र आंशिकतर्फ एक हजार छ सय ५४ गरी दुई हजार दुई सय पाँचले परीक्षा दिएनन् ।
पहिलो दिनको एसएलसी परीक्षामा कैलालीका पा“च सय ४० विद्यार्थी उपस्थित भएनन् । जिल्ला शिक्षा कार्यालय कैलाली परीक्षा फाँटका विद्यालय निरीक्षक प्रतापसिंह धामीका अनुसार जिल्लामा २० हजार चार सय ८१ परीक्षार्थी भएपनि १९ हजार नौ सय ४१ ले परीक्षा दिए ।
कञ्चनपुरमा ११ हजार सात सय पाँच परीक्षार्थी रहेकोमा ११ हजार पाँच सय ७२, बाजुरामा चार हजार तीन सय २३ परीक्षार्थी रहेकोमा चार हजार एक सय ३७, बझाङ पाँच हजार एक सय ९९ परीक्षार्थी रहेकोमा चार हजार नौ सय ९४ र अछाममा सात हजार तीन सय १७ परीक्षार्थी रहेकोमा छ हजार नौ सय ४४ले पहिलो दिनको परीक्षा दिएको शाहले जानकारी दिए ।
यसैगरी, डोटी तीन हजार छ सय ३१ परीक्षार्थी तीन हजार सात सय ५७, दार्चुला तीन हजार आठ सय ५० रहेकोमा तीन हजार छ सय ८३, बैतडी सात हजार दुई सय २९ रहेकोमा छ हजार नौ सय ७१ र डडेल्धुरा तीन हजार पाँच सय ३५ रहेकोमा तीन हजार चार सय २८ ले परीक्षा दिएको उनले बताए ।
एसएलसी परीक्षाका लागि सुदूरपश्चिमबाट ६९ हजार सात सय ६६ ले फारम भरेपनि दुई हजार चार सय ९७ परीक्षा दिनबाट बञ्चित भएका छन् ।
शाखा अधिकृत शाहले नियमिततर्फका विद्यार्थीको हाजिर ७५ प्रशित हुनुपर्ने र परीक्षा शुल्क समयमै बुझाउनु पर्ने भएपनि समयमै शुल्क नबुझाएका तथा ७५ प्रतिशत हाजिर नभएका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको बताए ।
एसएलसी परीक्षाका लागि कैलालीमा ५१, कञ्चनपुरमा ३०, डडेल्धुरामा १२, बैतडीमा २४, दार्चुलामा १४,अछाममा २२, बझाङमा १६, डोटी ११ र बाजुरामा १४ गरी एक सय ९४ परीक्षाकेन्द्र तोकिएका छन् ।
बिहीबार पहिलो दिनको परीक्षा सुदूरपश्चिम क्षेत्रमा शान्तिपूर्ण रुपमा भएको क्षेत्रीय शिक्षा निर्देशक रामहरिदास श्रेष्ठले बताए ।
परीक्षामा यसपालिदेखि उत्तरपुस्तिकासंगै प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ । परीक्षा हलभित्रै प्रश्नपत्रमा लेखेर चिट चोरिने भएकाले त्यसलाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ ।
शुक्रबार (भोली) अनिवार्य नेपाली बिषयको परिक्षा विहान ८ देखि ११ बजेसम्म हुनेछ । यसवर्ष प्रयोगात्मक शिक्षाको समेत परीक्षा दिनुपर्नेछ । यसअघि सैंद्धान्तिक विषयको मात्रै परीक्षा हुँदै आएको थियो । १३ गतेसम्म सैद्धान्तिक विषयको परीक्षा हुनेछ । परीक्षा १६ गतेसम्म चल्नेछ ।
सुदूरपश्चिमबाट छ जना कैदी एसएलसी दिँदै
कैलाली कारागारमा रहेका छ जना कैदीबन्दी एसएलसी परीक्षामा सहभागी भएका छन् । विभिन्न मुद्दामा कैलाली कारागारमा बन्दी जीवन बिताइरहेका उनीहरुले बिहीबार धनगढीस्थित त्रिनगर उच्चमावि परीक्ष्ाँ केन्द्रबाट अंग्रेजी विषयको परीक्षा दिएका छन् ।
जिल्ला शिक्षा कार्यालय कैलाली परिक्षा फाँटका विद्यालय निरीक्षक प्रतापसिंह धामीका अनुसार कैदी सविन चौधरी, हिमेष विक, सुबोध शाह, रामलाल चौधरी र नबिन माझी नियमिततर्फबाट एसएलसी परीक्षा दिइरहेका छन् । विकास देउवा भने आंशिक तर्फबाट परीक्षा दिइरहेका छन् ।
– एक परीक्षार्थी निष्काशित
बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षामा चिट चोरेको भन्दै डोटीमा एक परीक्षार्थी निष्काशित भएका छन ।
डोटीको पद्मपली उमाविबाट एसएलसी परीक्षा दिइरहेका राम सुनारलाई निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ । रामपुर उमावि बुडरमा अध्ययनरत सुनारलाई चिट चोरिरहेको अवस्थामा निष्काशित गरिएको जनाइएको छ ।















प्रतिक्रिया