१ कार्तिक २०८३, शनिबार

सिटिजन्स बैंक इन्टरनेशनलद्वारा स्क्यान एन्ड विथड्र सेवा शुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । सिटिजन्स बैंक इन्टरनेशनलले स्क्यान एन्ड विथड्र सेवा शुरू गरेको छ ।

विद्यमान महामारीको समयमा सुरक्षित रूपमा ग्राहकलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सेवा शुरू गरेको बताएको छ । यो सेवा मार्फत ग्राहकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने छन् ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ भने चाँडै नै देशभरका शाखाबाट सेवा प्रदान गर्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

नयाँ प्रविधिलाई आत्मसात् गर्नाका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्न नयाँ सेवा शुरू गरिएको उनको भनाइ छ । स्क्यान एन्ड विथड्रको प्रयोगसँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभर फैलिएको आफ्ना ११० वटा शाखा, ९८ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको बताएको छ ।

बैंकले सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरू चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हरसम्भव प्रयास गरिरहेको पनि बताएको छ । नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक नगद राख्ने तथा झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायत सेवाहरू प्रदान गर्दै आएको छ ।

बैंकले सात वटै प्रदेशमा रहेका शाखाहरूमध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि संघीय सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले डेविट कार्ड नेपालभरका कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको बताएको छ ।