
काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले कोभिड–१९ का कारण नेपाली नागरिकको आर्थिक–सामाजिक अवस्था अत्यन्त नाजुक बनेको बताएका छन् ।
नागरिकको अवस्था दिनप्रतिदिन कमजोर बन्दै जाँदा पनि सरकार उनीहरुको समस्यामा केन्द्रित नभएको आरोप उनले लगाएका छन् । महामारीको विद्यमान अवस्थालाई सरकारले कमाउने मौकाका रुपमा प्रयोग गरेको भन्दै डा. महतले कम्युनिष्ट नेतृत्वको सरकार जे काम गर्दा पनि कमाउने दाउ हेर्ने गरेको आरोप समेत लगाएका छन् ।
बीपी कोईरालाको जन्मजयन्तीका अवसरमा शनिबार आयोजित भर्चुअल कार्यक्रममा उनले आफ्नो दैनिक रोजीरोटी गुमाएर समस्यामा परेका नागरिकलाई कुनै राहतको प्याकेज नल्याएकोमा उनले सरकारप्रति अविश्वास समेत प्रकट गरेका छन् ।
दीर्घकालीन दृष्टिकोण नहुनु तथा योजनाविहीनताका कारण देशमा कोरोना संक्रमण फैलिएको भन्दै उनले सरकार अझै पनि सम्वेदनशील नबनेको बताएका छन् ।
‘भारतबाट आएका कोरोनारहित नेपाली नागरिकलाई हप्तौंसम्म सरकारले सीमामा थुनेर राख्यो’, महतले भने, ‘जब उनीहरुबीच एक आपसमा कोरोना ट्रान्सफर भयो तब मात्रै स्वदेश भित्र्यायो । स्वदेश भित्र्याउँदा पनि यथोचित क्वारेन्टिन र आइसोलेसन बेडहरुको तयारी नगर्दा देशभर कोरोना फैलियो ।’
भारतबाट आउने नेपालीको उचित व्यवस्थापन गर्न सरकार अक्षम हुँदा नै देशभर कोरोना संक्रमण फैलिएको उनको भनाइ छ । सरकारले कोभिड नियन्त्रणका लागि उचित कदम नचाल्दासम्म नेपाली कांग्रेसले खबरदारी जारी राख्ने उनले बताएका छन् ।















प्रतिक्रिया