काठमाडौं, ५ चैत । कवि अनिता लामाको कवितासंग्रह कृति ‘अर्पण’को विमोचन गरिएको छ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेती, इतिहासकार एवं प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्त, प्राज्ञ जिवेन्द्र देव गिरी, जनसाहित्यीक मञ्चका अध्यक्ष राम विनय, कवि अनिता लामा सहित उनकी आमा माया लामा र कान्छा लामा सहित मञ्चका अतिथिहरूले एकैसाथ कविता संग्रह ‘अपर्ण’को विमोचन गरेका हुन ।
कवि लामा नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ की सचिव हुन् । कवि अनिताले आफ्नो राजनीतिक आदर्श र सामाजिक रूपान्तरण अभियानको क्रममै यथार्थ विषयवस्तुलाई टपक्क टिपेर कवितामा प्रस्तुत गरिएको बताए ।
‘त्यसकारण कविता मेरो राजनीतिक यात्रा, राजनीतिक आस्था र समाज परिवर्तनका पक्षधरताकै विषयमा वढी छन्’ कवि लामाले भनिन् ।
विमोचन समारोहमा प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रतिष्ठानका प्राज्ञ पन्त, नाट्य तथा संगीत प्रतिष्ठानका प्राज्ञ उदय श्रेष्ठ, जनसांस्कृतिक महासंघका महासचिव राजेश थापा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतम र जनसाहित्यीक मञ्चका अध्यक्ष एवं साहित्यकार राम विनयले कवि अनिता लामाको कवितासंग्रह अर्पणको विषयमा संक्षिप्त चर्चा सहित कविको सृजनात्मक क्षमताको प्रशंसा सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा साहित्यकार तथा समालोचक विनोद मञ्जनले कार्यक्रम सञ्चालन सहित समालोचना गर्नुभएको थियो भने साहित्यकार गायत्री विष्टले कवि लामाको एक कविता उर्दुमा अनुवाद सहित कविता बाचनमा सहयोग गरिदिनुभएको थियो ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेतीले कवि अनिताको शान्त र क्रान्तिपूर्ण छवि कवितामा देखिएको र सानैदेखि उनको रचना सीप सशक्त देखिएको बताउनुभयो ।
अनिता आफैमा एक आन्दोलन भएको हुँदा उनको सृजनात्मक क्षमताले जनतालाई थप प्रभाव छाड्न सकोस् भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि महासचिव ईश्वर पोखरेलले सपना र ऊर्जा बोकेर हिँडेकी एउटी नानी आज दोस्रो कृति सहित सार्वजनिक भएकोमा निकै हर्षित भएको बताउनुभयो ।
उनले उचाइ लिँदै अगाडि वढीरहेको राजनीति, शिक्षा, सामाजिक आन्दोलनको त्रिवेणी व्यक्तित्वमा यो सृजनात्मक छविले पनि थप उचाइ लिइरहेकोमा बधाई दिनुभयो । त्रिवेणी कलाले युक्त कवि अनितालाई वहाँले भन्नुभयो ‘यतिले पुग्दैन, धेरै अझ धेरै लेख्नु, उचाई बढाउँदै जानु, थप सुदृढ र सृजनाको गाढा रंग भएर चम्कनु ।’
विमोचन कार्यक्रमको आयोजना नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी, काठमाडौ क्षेत्र नं. ५ र जनसाहित्यीक मञ्चले संयुक्त रूपमा गरेका थिए ।
कर्णालीमा कल्याणकारी कामको निमित्त लागिपरेका (Care for Karnali)ले प्रकाशित गरेको यस ‘अर्पण’ कवितासंग्रहमा ५२ वटा कविता संग्रहित छन् । कवि लामाको यो दोस्रो कृति हो ।















प्रतिक्रिया