– यमबहादुर बम
धनगढी, ४ चैत । कुष्ठरोग निवारणका क्षेत्रमा काम गर्ने नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) को धनगढी कार्यालयका छ जना प्राविधिक कर्मचारीहरूले सामुहिक राजीनामा दिएको विषयमा बुधबार धनगढीमा छुट्टाछुटै पत्रकार सम्मेलनको आयोजना भएको छ ।
संस्थामा कुनै पनि भ्रष्टाचार नभएको र प्राविधिक कर्मचारीहरूले लगाएको आरोप निराधार भएको भन्दै एनएलआर धनगढीले पत्रकार सम्मेलन गरिरहँदा पूर्वकर्मचारीहरू पनि बाहिर पत्रकार सम्मेलन गरेका थिए ।
एनएलआर धनगढीका फिल्ड प्रोग्राम कोर्डिनेटर हिमालदेव सिग्देलले पूर्वकर्मचारीहरूले संस्थामा भ्रष्टाचार भएको भनेर लगाएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे ।
‘छ जना कर्मचारीलाई नियामानुसार विदाई गरिएको हो,’ उनले भने–‘विदाई गर्दा उनीहरूले १०÷१० लाख रुपैयाँ मागेपनि केन्द्रीय कार्यालयले त्यति ठूलो रकम दिन नसक्ने भनेपछि अवकाश बाफत थप तीन महिनाको तलब दिएर विदाई गरिएको हो ।’
यता, पूर्वकर्मचारीहरू भने एनएलआरका देशीय प्रतिनिधि डाक्टर कृष्णप्रसाद ढकालले संस्थामा मनोमानी गरेको र संस्थागत भ्रष्टाचार भएकाले राजीनामा दिएको बताउँदै आएका छन् ।
पूर्वकर्मचारी मीनबहादुर धामीले संस्थागत काम गर्दा कार्यक्रम व्यवस्थापन समितिमार्फत काम गर्नु पर्ने भए पनि डाक्टर ढकालले आफू खुसी काम गरेको, परियोजनाको अवधि २०१६ अगस्टसम्म भए पनि आफूहरूलाई २०१५ सम्मको मात्र नियुक्ति दिइएकोले राजीनामा दिनु परेको धामीले बताए ।
सो कार्यालयमा कार्यरत १३ मध्ये छ जना प्राविधिक कर्मचारीले फागुन ६ गते सामुहिक राजीनामा दिएका थिए । देशीय प्रतिनिधि डाक्टर ढकालले यसअघि गरेको प्रतिवद्धता पूरा नगरेको पनि उनले आरोप लगाए ।
राजीनामा दिनेहरूमा टेक्निकल असिस्टेन्ट लक्ष्मण मानन्धर, फिल्ड प्रोग्राम असिस्टेन्ट चुवाप्रसाद निरौला, सीबीआर वर्कर मीनबहादुर धामी, क्लिनिक इञ्चार्ज गजेन्द्रबहादुर चौधरी र पीओआइडी असिस्टेन्ट प्रेमकुमारी नेपाली र कार्यालय सहायक आशबहादुर तामाङ रहेका छन् ।
एनएलआर धनगढी शाखाले समाज कल्याण परिषदसंगको परियोजना सम्झौता अनुसार लागू नगरेको, कर्मचारीहरुको संरचना राख्ने विषय समेत समाज कल्याणसंग सम्झौता गरेअनुसार नभएको, संस्थामा नीतिगत, आर्थिक भ्रष्टाचार हुने गरेको विषयमा विभिन्न निकायमा उजुरी दिइएको पूर्वकर्मचारी धामीले बताए ।
एनएलआर सम्बन्धी विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरसम्म पुगेको थियो । एनएलआर सम्बन्धी उजुरी अख्तियारमा दर्ता भएपनि क्षेत्राधिकारभित्र नपर्ने भएकाले तामेलीमा राखिएको क्षेत्रीय सम्पर्क कार्यालयका प्रवक्ता तेजप्रकाश जोशीले बताए ।
उनका अनुसार गैरसरकारी संस्था सम्बन्धी उजुरी अख्तियारले नहेर्ने भएकाले उजुरीलाई तामेलीमा राखिएको हो । ‘सरकारी सम्पत्ति अथवा बजेट सम्बन्धी उजुरी भएको भए हेर्न मिल्थ्यो,’ प्रवक्ता जोशीले भने, ‘ल्याप्रोसीको उजुरीमा नेपाल सरकारको सम्पत्तिमाथि कुनै अनियमितता भएको नदेखिएकाले त्यो उजुरीलाई तामेलीमा राखिएको हो ।’
सो संस्थामा भएको भनिएको भ्रष्टाचारको छानविनको माग र राजीनामा दिन बाध्य बनाइएका कर्मचारीहरूको पुनर्वाहलीको माग गर्दै नेकपा माओवादीले केही दिन अघि सो संस्थाको धनगढी तारानगरस्थित कार्यालय सञ्चालनमा रोक लगाएको थियो ।
















प्रतिक्रिया