
काठमाडौँ, १७ भदौ । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग वुधबार बेलुका गोप्य छलफल गरेका छन् ।
उपाध्यक्ष गौतमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्याएपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले गौतमसँग छलफल गरेका हुन् ।
यसअघि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्केन । त्यसपछि उनले उपाध्यक्ष गौतमसँग भेटवार्ता गरेका हुन् ।
बिहीबार विहान ११ बजे बस्ने पार्टीको सचिवालयले बैठकले राष्ट्रियसभामा कसलाई पठाउनेबारे निर्णय गर्नेछ ।
राष्ट्रियसभाको रिक्त स्थानमा प्रधानमन्त्री ओली अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडालाई लैजान चाहान्छन् । तर उपाध्यक्ष गौतमले आफूलाई मनोनित गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पारेका छन् ।
राष्ट्रियसभाको एउटा रिक्त स्थानमा प्रधानमन्त्रीले खतिवडालाई मनोनित गरेर पुनः अर्थ मन्त्रालयको जिम्मा लगाउने तयारीमा छन् । तर गौतमले उक्त पद दावी गरेपछि भने ओली अन्योलमा परेका छन् ।
अध्यक्ष प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले खतिवडालाई निरन्तरता दिऊँ भन्ने प्रस्तावमा प्रचण्डले गौतमलाई टार्न नसकिने भनेपछि ओली गम्भीर बनेको स्रोतले जनाएको छ ।
ओली खतिवडालाई नै निरन्तरता दिने तयारीमा रहेका छन् ।
अर्थमन्त्री डा. खतिवडालाई यही भदौ २० गतेभित्र राष्ट्रियसभामा मनोनित गरिएन भने सोही दिनदेखि संविधानतः उनको मन्त्री पद समाप्त हुनेछ ।
यता सचिवालयका केही सदस्यहरु वामदेव सिनियर नेता भएको र पहिलै निर्णय भइसकेकोले उनलाई राष्ट्रियसभामा लैजाने बताउँछन् । उता ओली निकट नेताहरु भने गौतमण् कुनै माध्यमद्वारा फकिने कुरामा विश्वास राखेका छन् ।















प्रतिक्रिया