
परासी, १५ भदौ । पश्चिम नवलपरासीमा विगत १५ दिनदेखि जारी निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएकोले मोडालिटी परिवर्तन गर्न उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ ।
निषेधाज्ञा निरन्तर थपिरहँदा पनि संक्रमित नघटेको तथा अत्यावश्यक सेवाहरु समेत सहज रुपमा उपभोग गर्न नपाउँदा जनजीवन प्रभावित भएको भन्दै मञ्चले आज प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापनपत्र बुझाउँदै निषेधाज्ञको विकल्प खोज्न माग गरेको हो ।
मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, जिल्ला सचिव मोहन पौडेल, रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदी, सामुदायिक रेडियो परासीका स्टेशन मेनेजर विकास अधिकारीको हस्ताक्षर रहेको ज्ञापनपत्रमा वर्तमान प्रकृत्तिको निषेधाज्ञाले जनजीवन अत्यन्त कष्टकर भएको उल्लेख गरिएको छ ।
पटकपटकको निषेधाज्ञाले आम उपभोक्ता रोगले भन्दा भोकले मर्न सक्ने अवस्था आउने भन्दै विद्यमान निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न माग गरिएको मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बताए । स्वरुप परिवर्तन गरेर सर्वसाधारणलाई आवश्यक स्वास्थ्य सुरक्षाका सावधानी अपनाई आ–आफ्नो पेशा व्यवसाय गरी जीवनयापन गर्न तथा बैंक वित्तीय संस्थाहरु पनि सञ्चालन गर्न दिनुपर्ने उनले बताए ।
भारतीय सीमा नाकाबाट लुकिछिपी आवतजावत गर्ने क्रम नरोकिँदा संक्रमणको जोखिम बढेकोले सीमा क्षेत्रमा थप कडाई गर्न समेत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको मञ्चका जिल्ला सचिव मोहन पौडेलले बताए ।
यसैगरी अत्यावश्यक सेवा तथा वस्तु प्रदायक निकाय तथा बैंक वित्तिय संस्थाहरु सीमित समय तोकेर खोल्न दिदाँ उपभोक्ताको भीड बढ्ने र संक्रमणको जोखिम उच्च हुने हुँदा त्यस्ता सेवा आवश्यकता अनुसार पुरै समय सञ्चालन गर्न दिनु पर्ने माग गरिएको सचिव पौडेलले जानकारी दिए ।
उपभोक्ता हित संरक्षण मञ्चले कोरोना महामारीको अवसर छोपि बजारमा वस्तुु तथा सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने, महंगी, कृत्रिम अभाव, म्याद गुज्रेका वस्तु विक्री गर्ने गरेको गुनासो आएकोले नियमित र प्रभावकारी बजार अनुगमन गर्न पनि माग गरेको मञ्चकी रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदीले बताइन् ।
मञ्चले कोरोना महामारीको बहानामा लामो समयदेखि अलपत्र पारिएका राष्ट्रिय गौरवका आयोजनाहरु सदरमुकाम विकास कार्यक्रम, हुलाकी सडक लगायत निमार्ण कार्य अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । मञ्चले कोरोना महामारीको विरुद्ध सचेतना फैलाउन विभिन्न संंघ संस्था तथा नागरिक समाजलाई पनि परिचालन गर्न आगंह गरेको छ ।
समुदायस्तरमा कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासान कार्यालयले गत साउन ३२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको समय आज सोमबार सकिँदैछ । प्रजिअ पाठकले निषेधाज्ञा थप गर्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने विषयमा सोमबार सरोकारवालासँग बैठक गरेर आवश्यक निर्णय लिईने बताएका छन् ।















प्रतिक्रिया