
काठमाडौं, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ ।
रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले प्रथम पुरस्कार जितेको हो । रसिया, अमेरिकालगायत देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई प्रथम पुरस्कारस्वरूप ग्रान्ड प्रिक्स अवार्ड प्रदान गरेको हो ।

विभिन्न देशका फिल्महरूको प्रतिस्पर्धा रहेको उक्त महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो । ‘सहायक श्रीमान’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने, ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरूका लागि ठूलो सम्मान हो ।’

‘भाग्यले बाँचेकाहरू’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो । गत डिसेम्बरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।

सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करीब ४ वर्षको छायाँकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् ।
साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।
















प्रतिक्रिया