१ कार्तिक २०८३, शनिबार

बच्चाको शल्यक्रिया गर्ने रकम नहुँदा परिवार तनावमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १४ भदौ । इलाम नगरपालिकाका ३ वर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारका लागि खर्च जुटाउन समस्या भएको छ ।

सात महीनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचाररत बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व ‘किमोथेरामी’मा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन झनै समस्या परेको हो ।

शल्यक्रिया गर्न किमोथेरापी छ पटक गर्नुपर्ने अस्पतालले जनाएको छ । ‘६ साइकल त किमो नै गर्नुपर्छ । खर्च जुटाउन गाह्रो छ’, बालकका बाबु गोपाल श्रेष्ठले भने । उनका अनुसार एकपटकको किमोथेरापीमै करीब रू. ४० हजार खर्च लाग्छ । त्यसपछि शल्यक्रिया गर्नसमेत रु १२ लाख हाराहारीमा रकम लाग्ने अस्पतालले जनाएको छ । ‘बिरामीको अवस्था किमो गराउँदा ‘नर्मल’ भयो भने मात्र रू. ४० हजारले पुग्ने हो’, श्रेष्ठले भने, ‘अरू बिराम देखिँदा त एक किमोमै डेढ लाखसम्म खर्च लाग्छ ।’

अहिलेसम्म उपचारमा रू. १० लाख खर्च लागिसकेकाले शल्यक्रियाका लागि रकम जुटाउन अत्यन्त गाह्रो भएको गोपालको भनाइ छ । आर्थिक स्थिति कमजोर भएका उहाँको हालसम्म सहयोगबाटै रकम जुटाएको भए पनि शल्यक्रियाका लागि पर्याप्त छैन । अहिलेसम्म रू. तीन लाखभन्दा बढी रकम उठिसकेको छ ।

तर, त्यसले शल्यक्रियासम्म नपुग्ने भएकाले उपचार कसरी गर्ने दोधारमा परेको गोपालको भनाइ छ । अहिले गोपाल र श्रीमती नै बच्चाको उपचारका लागि काठमाडौंमै छन् ।

परिवारका सबैको सहयोग मिल्दा पनि रकम नजुट्दा छरछिमेकी र आफन्तको सहयोग मागेको उनको भनाइ छ । बच्चा बचाउनका लागि सबै पक्षबाट सहयोग गरिदिनका लागि परिवारले सबैलाई आग्रहसमेत गरेको छ । बालकलाई सहयोगका लागि एनआईसी एशिया बैंकको खाता नं २७८५७५०८८६०९७००१ मा रकम जम्मा गरिदिन उनीहरुले आग्रह गरेका छन् । रासस