१४ कार्तिक २०८३, शनिबार

प्रचण्ड भन्छन्-‘आन्दोलनको राप र तापमा मात्रै सत्तारुढ दल सहमतिमा आउँछन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौँ, ३ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा आन्दोलनबाट प्राप्त भएका उपलब्धि गुम्ने खतरा पैदा भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश तथा स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तनका प्राप्त भएका उपलब्धिलाई जोगाउन पनि आन्दोलनको आवश्यकता भएको बताउनुभयो ।

संविधानसभाबाटै सहमतिका आधारमा संविधान बनाउने विषयमा सत्तारुढ दलले पछिल्लो दिनमा देखाएको व्यवहार स्वीकार्य नभएको र त्यसले मुलुकलाई क्रमशः मूठभेडमा लैजान खोजेको उहाँको भनाइ थियो ।

परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न पनि जनपरिचालन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले आन्दोलनको राप र तापमा मात्रै सत्तारुढ दल सहमतिमा आउने अन्यथा मुलुक नराम्ररी प्रतिगमनमा जाने धारणा राख्नुभयो ।

उहाँले एमाओवादी कम्युनिस्ट आन्दोलनको मूल पक्ष भएको बताउँदै परिवर्तनकामी र ऊर्जाशील युवाको पार्टी एमाओवादी भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा(एमाले) सम्वद्ध अखिल नेपाल किसान महासङ्घको घटक सङ्गठन युवा किसान सङ्घका प्रकाश रोकाया एमाओवादीमा प्रवेश गर्नुभएको थियो ।

यसैबीच एमाओवादीका अध्यक्ष प्रचण्डले आजै पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान धरापमा परेकाले आफूहरू बाध्य भएर आन्दोलनमा जानुपरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आन्दोलनलाई सशक्त बनाउन र गत फागुन १६ गतेको भन्दा बृहत तयारी गर्न केन्द्रीय सदस्यलाई निर्देशन दिनुभयो । विगतमा आफ्नो पार्टीले बढी सम्झौता गर्दा आज समस्या परेको भन्दै उहाँले ठोस निष्कर्ष नआउँदासम्म आन्दोलन नरोकिने धारणा राख्नुभयो ।

वार्ताको नाममा वार्ता मात्रै गर्ने प्रवृत्ति सत्तारुढ दलमा देखिएका कारण समस्या भएको उल्लेख गर्दै उहाँले सत्तारुढ दलका शीर्ष नेतामा विषयलाई बुझ्ने सवालमा नै समस्या रहेको आरोप लगाउनुभयो ।

जनतालाई अधिकार दिने सवालमा बहुमतको दम्भले नकारात्मक भूमिका निर्वाह गरेको दाबी गर्दै उहाँले संविधान विगतको आन्दोलनको जनादेशमा नै बन्नुपर्ने धारणा राख्नुभयो ।

बैठकले विगतमा नै गरिएको कार्यविभाजनअनुसार आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष प्रचण्डले मध्य कमाण्डको जिम्मा लिनुभएको छ भने पश्चिम कमाण्ड वरिष्ठ नेता डा बाबुराम भट्टराई र पूर्वी कमाण्डको जिम्मा नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।