२९ आश्विन २०८३, बिहिबार

‘मेरो बुवाको त्यो दुर्लभ भक्कानो’

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिवजी श्रेष्ठ

मेरो बुवा रुनु भएको हतपत देखेको छुइन अनि म बिदा मागेर कतै हिड्ने बेलामा मेरी मा (आमा) नरुनुभएको त्यस्तो कुनै पल छैन।

बि स २०४२ साल मङ्सिर १ गते जब म उच्च शिक्षा अध्ययनको लागि रुम्जाटार एअरपोर्ट बाट हवाईजहाजमा काठमाडौं जाने तयारीमा थिए । मेरो बुवा आफन्तको चुनाबी अभियानमा त्यहि दिन मलाई बडो भारी मनले बिदाइ गरेर उहाँसंगै गाउँ गाउँ घुम्ने अभियानमा निस्कनु भएको थियो । जसै म चढेको हवाईजहाजले ओखलढुंगामाथि भएर उड्दै थियो, म मेरो पियारो घर अनि बुवा-मा र परिवारजनलाइ कतै देखि पो हालिन्छ कि भनेर प्लेनको झ्यालबाट आँखा तानी तानी चिहाइरहेको थिए ।

यस्तैमा ह्वात्तै प्लेनले ओखलढुंगा डाँडा काटी हाल्यो । नयाँ ठाउँ हेर्दा आधा घण्टामै प्लेन काठमाडौंको आकाश छोइसकेको थियो । जन्मथलो र जन्मदाताको काया सम्झदै काठमाडौंको बिरानो ठाउँमा कलेजको बिद्यार्थी जीवन शुरु गरियो । नयाँ ठाउँ, नयाँ वातावरणमा रम्दै गर्दा म उडेको दिन मेरो बुवा-मा अनि परिवारजनमा कस्तो हलचल आयो, थाहा भएन । मनमा आएको तरंगहरू चिट्ठीमा भरेर उही रुम्जाटार हुँदै ओखलढुंगा जाने यात्रीमार्फत बुवा-मालाई पठाए । चिट्ठी लेख्दै गर्दा आफू रुइन्थ्यो, पढ्दा बुवा-मा अनि दाजु-भाइ, दिदी-बहिनी। किनकी काठमाडौंको बिरानोमा परिवारलाई साह्रै मिस गरिथ्यो। ४-५ महिना पछि कलेजको हिउदे छुट्टी भयो, मन के थामिन्थ्यो र ? भुरुरु उही प्लेनमा उडेर उही मेरो ओखलढुंगा पुगिहालियो । म पहिले काठमाडौं उडेको प्रसंगमा माले सुनाउनु भयो – म जुन दिन प्लेनमा उड्दै थिए, बुवा रामपुर पारीको सल्लाघारीको बाटो उकालो चढ्दै हुनुहुदोरहेछ, आफूमाथि प्लेन उडेको देखेर बुवाले संगै हिडेको वान्ग्चे तामाङलाई आकाशको प्लेन देखाउदै भन्नु भएछ -‘बिचरा मेरो छोरा यहि प्लेन भित्र छ नि ।’ प्लेनले डाँडा काटेपछि मेरो बुवा भक्कानिनु भएछ ।

बिसं २०४६ साल चैत्रमा बहुदल व्यबस्थाको पुनर्स्थापना पश्चात बलबहादुर राईको नेतृत्वमा हामी पहिलो आमसभा आयोजना गर्न ओखलढुंगा पुग्यौ, ३० वर्षपछि ओखलढुंगा सदरमुकामको स्थानीय बालमन्दिरमा नेपाली कांग्रेसद्वारा आयोजित सो कार्यक्रममा मैले स्वागत भाषण गर्दै थिए, एउटा फुच्चे केटोको भाषणले धेरैको मन छोयो क्या रे, ताली आयो, त्यो दृश्य हेरेर बसिरहनु भएको मेरो बुवा फेरी भक्कानिनु भएछ- सायद सोच्नु भयो होला एक वर्ष अगाडि मात्रै स्वर्गीय हुनुभएको बिसं २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसको मुक्तिसेनाको स्थानीय कमान्डर भएर लडे बापत राणाशासकबाट सर्वस्व हरणमा पर्नु भएका आफ्नो बुवा (हाम्रो अजा) जिउँदो हुनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला।

बिसं २०४९ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरको रिजल्ट आयो, मैले ओखलढुंगा घरमा फोन गरे, फोन बुवाले नै उठाउनु भयो, मैले भने ‘बुवा म इन्स्पेक्टर भए ‘, बुवाले सुनिरहनु भयो, उताबाट फोनमा केही आवाज आएन, तब मैले बुवाले सुन्नु भएन होला कि भनेर बोलाए ‘बुवा’, तब बुवाको दबेको स्वर सुने, मैले अनुमान गरिहाले- बुवा भक्कानिनु भएछ ।

समय यस्तो आयो – बिसं २०६२ सालमा म पाँचथरको डिएसपीको रुपमा खटिदै थिए, तत्कालीन आईजीपी श्यामभक्त थापालाई भेट्न आइजीपी निवासमा जाँदा आकस्मिक रुपमा सवाल जवाफ भयो, फर्केर आउँदा मैले राजीनामा दिइसकेको थिएँ, घरमा केही सुइकै थिएन । भोलिपल्ट मात्रै घरमा सबैजनाको अगाडि भने, मा (आमा) बोल्न सक्नुभएन, बुवा बोलिरहनु भो, उहाँ चाहनु हुन्थ्यो आबेशमा दिएर आएको राजीनामा मैले फिर्ता गरोस, मैले नमानेपछि बुवाले के-के भन्नु भयो, कति सुने कति सुनिन तर, बुवा भक्कानिनु भएको चाहीँ फेरि महशुस गरे ।

बेलायत आए, केही समयपछि बुवा-मा बेलायत घुम्न आउनु भयो। फुर्सदमा बसिबियालो गर्थ्यौ, बुवाको एउटै गुनासो रहन्थ्यो – मैले देश र प्रहरीको जागिर छाडेको । समय बित्न के बेर लाग्थ्यो र ? छ महिना बितेपछि बुवा-मा फर्किने समय आयो, हामी स-परिवार हिथ्रो एअरपोर्टमा पुराउन गयौँ, जसै बुवा र मा प्रस्थान कक्षबाट बिदा हुँदै जादै हुनुहुन्थ्यो, मा त शुरुदेखि नै रुँदै हुनुहुन्थ्यो, बुवा सकिनसकी हास्न खोज्दै हुनुहुन्थ्यो, जसै मेरो काँधमा चढेको २ वर्षे नाती (शुभाशिष)ले ”आजा बाई बाई” भनेर भनेर हात हल्लायो, बुवा रुवाइ नै सुनिने गरि यस्तरी भक्कानिनु भयो कि मैले बुवा यसरी भक्कानिनु भएको हाम्रो अजा स्वर्गीय हुदा बाहेक कहिल्यै देखेको थिइन, सायद यस क्षण मा साउँ (छोरा) संगसंगै ब्याज (नाती) को माया थपिएर पनि होला ।

समय बित्दै गयो – हाम्रो बुवा माले हामी छोरा-छोरीप्रति पढाउन अनि बढाउन गर्नु भएको दुःखलाई सधै सम्मान गर्छौ र उहाहरूको खुशीको लागि छोरा-बुहारी अनि छोरी-ज्वाईहरू मिलेर केही न केही गरिरहन खोज्छौँ । यस्तैमा सन् २०१५ मा हामीले बुवा -मा को ५५औँ शुभ विवाहोत्सवको अवसरमा एउटा कार्यक्रमकै बीच बुवा-माको नाममा ‘होमबहादुर -प्रेमकुमारी ट्रष्ट’ स्थापना गरेर गरिब दुःखिको लागि स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने सोँच बनायौँ । सो कार्यक्रममा बुवा-माको बारेमा बोल्दै गर्दा मैले उहाहरूले हामी सन्तानको लागि उठाउनुभएको दुःखको भारीको बारेमा बोल्दै गर्दा मैले बुवा-मातिर हेरिन, भनौँ उहाँहरूलाई हेर्ने सकिन, किनकी माहौल देखिरहेथे- अगाडि फ्लोरमा बस्ने आफन्तहरूको आँखा नै आँसुले भरिएको थियो भने मेरो बुवा-माको अबस्था अनुमान गरिरहेथे । कार्यक्रमपछि मैले घर पुगेर भिडियो हेरे – मैले बोलिरहेको त्यस क्षणमा मा को त झन् कुरै भएन, बुवा कसैको अनुहार नहेरी कार्यक्रम हलको सिलिङ्गतिर टोलाएर हेर्दै रुमालले परेलीको डिल पुछिरहनु भएको रहेछ ।

समय आफ्नै गतिमा अगाडि बढिरहेछ – मेरो प्रत्येक दिन बुवा-मालाई म्यासेन्जरमा भिडियो कल गरेर मात्रै शुरु हुन्छ, कुनैदिन कथंकदाचित हामीले यहाँबाट कल गर्न मिस गर्यौ भने उताबाट बुवा-माले म्यासेन्जरमा कल गरेर सोधिहाल्नुहुन्छ -‘किन ? के भयो र बाबु ?’ अस्ति फेरि बुवा भक्कानिनु भो – जब मैले बुवा मा सुन्नु हवस् त भनेर ‘ हाम्रो जन्मथलो ओखलढुंगाको क्याम्पसको लागि एउटा कुरा सोँचेको छु’ भनेर मेरो योजना सुनाए – मा ले आशीर्बाद दिन थाल्नु भो ‘बाबु, तिमीहरूको सदा कल्याण हवस्’ माले फेरि भन्नु भो ‘ बाबु, तिमीहरूलाई सधै यसरी नै पुगीरहोस् ।’ बुवाले फोन तानेर सोध्नु भो ‘बाबु, हामीले बृद्ध भत्तामा पाएको पैसा जम्मा गरेर राखेका छौँ, ५० हज्जार हामी बुवा-माको तर्फबाट थप्छौ है ?’ , त्यसो भन्नु हुँदा बुवाको स्वर कांपीरहेको अनि भक्कानिएको महशुस गरिरहेथे ।

मेरो बुवाको प्रत्येक भक्कानोहरू बिशेस लाग्छन अनि प्रेरक पनि, जसले मेरो मन मस्तिस्कलाई छोइरहन्छन् । आज, कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन- यसपालि प्रत्यक्ष रुपमा अगाडि बसेर बुवाको हासो अनि दुर्लभ रुपमा आक्कल झुक्कल महशुस हुने ‘भक्कानो’ महशुस गर्ने अवसर बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको महामारीले पूरा हुन् पाएन । यसवर्ष यस्तै भयो बुवा, अर्को वर्ष त्यो अवसरको लागि आइपुग्ने नै छौँ ।

जीवनको एक्कासि वर्षे अनवरत यात्रामा रहनुभएको बुवा, आज बुवाको मुख हेर्ने यस पवित्र दिनमा बुवाको सुखद् दाम्पत्य जीवन, सुःख अनि सुस्वास्थ्यसहित हामी समस्त सन्तानजनमा सदाबहार छहारीको कामना गर्दछौँ ।