
काठमाडौँ, ३२ साउन । रक्षा मन्त्रालयले नेपाली सेनासँग कुनै पनि मतभेद नरहेको स्पष्ट पारेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले एक विज्ञप्ति जारी गरी नेपाली सेनाको अनुरोधलाई रक्षा मन्त्रालयले सधै प्राथमिकतामा राखी कार्य फर्स्यौट गर्ने व्यवस्था अङ्गीकार गर्दै आएको समेत जनाएका छन् ।
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाबीच नियमित भेटघाट चलिरहेको र आवश्यकतानुसार नीतिगत विषयमा छलफल तथा परामर्श भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
रक्षा मन्त्री, रक्षा मन्त्रालय र नेपाली सेनाबीचको सम्बन्धलाई लिएर विभिन्न सञ्चार माध्यममा सुनियोजित तवरले समाचार प्रकाशित भएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ।
नेपाली सेना राज्यको अत्यन्त अनुशासित¸ बफादार¸भरपर्दो¸ व्यावसायिक र सुदृढ सुरक्षा संयन्त्र रहेको भन्दै रक्षा मन्त्रालयले सरकारबाट भएका सबै निर्देशन र निर्णयहरूको सेनाले चुस्त र प्रभावकारी कार्यान्वयन गर्दै आएको समेत दावी गरेको छ।
‘रक्षा मन्त्रालयले नेपाली सेनाबाट स्वीकृतिका लागि माग भई आएका विषयमा प्रचलित कानून बमोजिम मन्त्रालयको अधिकार क्षेत्रभित्रको विषयमा तथा मन्त्रालयबाट निर्णय हुनसक्ने विषयमा समयमै निर्णय गरी पठाउने गरेको र मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने विषयमा तदनुसार मन्त्रिपरिषदमा पेश गरी निर्णय भै आएअनुसार सेनामा कार्यान्वयनका लागि मन्त्रालयबाट लेखी पठाउने गरिएको छ’ विज्ञप्तिमा भनिएको छ।
चीनबाट नेपाली सेनाले खरिद गरेका स्वास्थ्य सामग्रीहरू हवाई मार्गबाट यथाशीघ्र ढुवानी गरी नेपाल ल्याउन रक्षा मन्त्रालयले संस्कृति¸पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेवायुसेवा निगमसँग प्रभावकारी तवरमा समन्वय गरेको समेत विज्ञप्तिमा भनिएको छ।
नेपाल वायु सेवा निगम मार्फत सामान ढुवानी गर्दा मन्त्रालयले ढिलो गर्न लगाएको भन्ने आरोप निराधार र कपोलकल्पित रहेको रक्षाको भनाई छ ।
रक्षा मन्त्रालयको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उपप्रधानएवम् रक्षा मन्त्री र नेपाली सेनाका प्रधान सेनापतिबीच आरोप, प्रत्यारोप भएको भनी कतिपय सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नभएको समेत मन्त्रालयको दावी छ।
‘खोकना क्षेत्रको जग्गाको मुआब्जा वितरण¸अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटप्रक्रियामा रहेका जटिलताहरू¸कोभिड,१९ को कारण निर्माणस्थलमा निर्माण सामग्री एवं श्रमिकहरूको उपलब्धतामा आएको कमी आदिको बारेमा छलफल भएको कुरालाई तोडमरोड गरी कतिपय सञ्चार माध्यमबाट भ्रामक समाचार सम्प्रेषण भएकोमा मन्त्रालय खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको निर्णयबमोजिम नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाण्डौं–तराई द्रुतमार्गलाई निर्धारित समयमै सम्पन्न गर्न सेना कटिबद्ध छ र यसमा मन्त्रालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय र सहजीकरणमा कुनै कमी कमजोरी नरहेको व्यहोरा स्पष्ट पारिन्छ।’
कतिपय जटिलताहरूका बाबजुद नेपाली सेनाले द्रुतमार्ग निर्माणको क्रममा हालसम्म सम्पादन गरेका कार्यहरू प्रभावकारी रहेको मन्त्रालयको दावी छ।















प्रतिक्रिया