
काठमाडौं, ३१ साउन । नेपालको पश्चिमी क्षेत्रका केही स्थानमा आगामी ३ दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरो तथा डुबानको खतरा रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । कर्णाली प्रदेशमा भने सामान्य वर्षाका अवस्था रहेको बताइएको छ ।
मनसुनी न्यून चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको महाशाखाले बताएको छ । उक्त स्थानमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको छ ।
सचेत रहन आग्रह
पानी परिरहेकाले शनिबार बाढीपहिरो र डुबानको जोखिम देखिएको छ । भिरालो जमीन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी परेकाले साना नदीमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ९ बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।
यस्तै बबई नदीजलाधारको गुलरिया, रानीजरूवा, रम्वापुरलगायत बर्दियाको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पर्ने क्रममा रहेकाले आसपासको डुबान भइरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैगरी धनकुटामा तमोर मुलघाटदेखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
यस्तै गोरखाको बारपाक, आरूघाट, विरेनचोकलगायत धेरै ठाउँमा तथा लमजुङको बेँसीशहर, खुदीबजारलगायत केही ठाउँमा ठूलो पानी परेकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै महाशाखाले बाढी र पहिरोको जोखिम रहेको बताएको छ ।















प्रतिक्रिया