
काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि आज शुक्रबार पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ ।
करीब एक हप्ता लामो सम्बादहीनताको अवस्थालाई तोड्दै बिहीबारदेखि पुनः छलफलमा जुटेका अध्यक्षद्वयले यसपटक भने केही निष्कर्ष निकाल्ने अनुमान गरिएको छ ।
किनभने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ५–७ दिनभित्रै पार्टीभित्रको विवाद अन्त्य भएको सिनारियो दिने प्रतिबद्धता जनाउँदै काउन्टडाउन शुरु गर्न गरिएको आग्रहका आधारमा पनि नेताहरुबीच सहमति जुट्ने विश्वास गरिएको हो ।
यसैबीच अहिले बालुवाटारमा भइरहेको छलफलले विवाद समाधानका लागि कार्यदल गठन गर्ने तयारी भएको स्रोतको भनाइ छ । यद्यपि नेताहरु यसबारे अन्तिम निचोडमा भने पुगिसकेका छैनन् ।
अध्यक्ष प्रचण्डले कार्यदल गठनका लागि आफ्नो समूहबाट म्यान्डेट पाइसकेको भए पनि ओलीले भने यसअघि उपाध्यक्ष बामदेव गौतमले राखेको ६बुँदे मध्यमार्गी प्रस्तावबाट समाधान खोज्नुपर्ने बताएको एक नेताले दैनिक नेपाललाई जानकारी दिए ।
बिहीबारको छलफलमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायत विषयमा छलफल भएको बताइएको छ ।
ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको थिएन । तर, दोस्रो तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।















प्रतिक्रिया