२९ आश्विन २०८३, बिहिबार

प्रधानसेनापति थापालाई सुझाव– उत्तराधिकारी रथी शर्माका दुर्बल पक्ष हेर्नुस्

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-चन्द्र स्याङतान

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रभुराम शर्माको रथी दर्जाको पदोन्नतीको सिफारिस गरी लगभग आफ्नो उत्तराधिकारी निर्धारण गरेका छन् । अहिलेसम्मका सबैजसो प्रधानसेनापतिले अन्तिम समयसम्म भोग्दै आएको नियुक्तिको आशंकाको अन्त्य गर्दै आफू रिटायर्ड हुनु एक बर्ष भन्दा अगावै भावी प्रधानसेनापति निश्चित गरिदिएका छन् । योे सुनिश्चितताले नेतृत्व हत्याउन हुने सबै किसिमको शक्ति संघर्षको अन्त्य भएको छ । यो नेपाली सेनाको भविष्यका लागि सुखद पक्ष हो ।

अब उनै रथी शर्माले दोस्रो र तेस्रो वरियताको बलाध्यक्ष र बलाधिकृतको दुवै दायित्व पनि निर्वाह गर्नेछन् । यसको अर्थ शरद गिरी जस्तो अनुभवी, सेनाको आवश्यकताअनुसार काम गर्न पहलता लिने, सही समयमा सही राय सल्लाह दिन सक्ने विश्लेषण क्षमता भएको र सक्षम सहयोग सेनापति थापालाई प्रभुरामबाट उपलब्ध हुन नसक्ने सैनिक वृत्तमा चर्चा चल्न थालि सकेको सुनिन्छ ।

नातेदार भनिएका र अवकाशको संघारमा रहेका उपरथी राजेन्द्र कार्कीलाई तीन तारे बनाउन ईश्वर हमाललाई रथीमा पदोन्नती गर्दैनन् भनेर खेदो खन्नेहरूको मुखमा थापाले बुझो लगाईदिएका छन् । सिरियाको फोर्स कमाण्डरमा अन्र्तराष्ट्रिय प्रतिष्पर्धाबाट छनौट भएका अर्का अब्बल अधिकृत ईश्वर हमाल पदोन्नती भए पनि रथीको फुली नै नलगाई मिसनमा गएकाले थापालाई बाँकी कार्यकालमा हमालको क्षमता र अनुभवको अभाव टड्कारो खड्किने नै छ ।

थापाको कार्यकालमा अहिलेसम्म भएका सुधारका कार्यहरू प्रशंसायोग्य रहेको सुनिँदै आएको छ । हिरो हुनका लागि सस्तो लोकप्रियतावादी कार्यहरूमा लागेको भन्ने आरोप लगाउनेहरूको पनि कमी देखिंदैन । जसले जे भने पनि उनले सेनामा भएका विकृतिहरूलाई उजागर गरेका छन् । अब एक वर्ष कार्यकाल बाँकी रहेका प्रधानसेनापति थापाले आफ्नोे कार्यकालमा थालनी गरेका सुधार र परिवर्तनका कार्यले निरन्तरता पाउने नपाउनेमा ध्यान नपुर्याए, समस्या देखाई दिने तर समाधान दिन नसक्ने कमाण्डरको बिल्ला पूर्णचन्द्रले नै भिर्नुपर्ने हुन्छ । फलस्वरुप नेपाली सेनामा अहिले भइरहेका अत्यावश्यक सुधारात्मक कार्यहरूलाई पनि अनावश्यक र लोकप्रियतावादी भनेर उनी अवकाश भएको भोलिपल्टबाट परिभाषा बदल्न थालिनेछ । तर नेतृत्व हस्तान्तरणको विषयमा प्रधानसेनापतिले देखाउंदै आएको बोली र व्यवहारको समानता भने आफैंमा उल्लेखनीय छ ।

नेपाली सेनालाई शुद्धिकरण र सुदृढिकरण गर्ने थापाको भिजनमा प्रभुराम शर्माले युद्ध निर्देशक र सम्भार रथी रहँदा गरेका कार्यहरू तथा त्यो बीचमा पाएका विभिन्न जिम्मेवारीहरूमा निर्वाह गरेका भुमिकाले उनको नेतृत्व क्षमतामा समकक्षी र जुनियर अधिकृतहरू विश्वस्त हुनसक्ने अवस्था छैन भनेर सेनामा कानेखुसी शुरु भइसकेको छ । थापाले निर्माण गर्दै आएका उनका उत्तराधिकारी प्रभुराममा नेपाली सेनाको आवश्यकता बुफ्न सक्ने, भिजन दिन सक्ने क्षमताको कमी हो कि वा समस्याको जरोमा पुग्ने भन्दा पनि सतही प्रतिक्रिया दिने, ‘चलेगा’ भन्ने मानसिकताले थापाले शुरु गरेको सुधारात्मक कार्यले निरन्तरता पाउनेमा विश्वस्त हुने ठाउँ छैन भन्नेहरू सेनामा धेरै भेटिन्छन् ।

थापाले पनि यो कुरा बुझेकै हुनुपर्दछ । सेनामा सुधार गर्छु भन्ने वर्तमान सेनापतिले उत्तराधिकारीको सम्बन्धमा यो पक्ष नबुझ्नु वा बुझ्न नसक्नु उदेक लाग्दो छ । प्रभुरामले पूर्णचन्द्रको जस्तो पूर्णता र दृढता प्रदर्शन गर्न इच्छा शक्ति प्रदर्शन गर्न सकेनन् वा आफ्नोे नाम गुनाको प्रभु शरणम् वा राम भरोसाको दर्शनको अनुशरण गरे भने सेनामा शुरु गरेका सुधारात्मक कार्यहरूको निरन्तरता होइन कि पुराना विकृतिको पुनरावृत्ति सुनिश्चित छ । किनकी सेनाको उच्च तहमा अझै पनि परम्परावादी व्यवसायिकता भन्दा पनि मालिक र शोषक प्रवृति बांकी नै छ, अहिले प्रधानसेनापति थापाको दृढताका अगाडि सुसुप्त रहेका मात्रै हुन् ।

यद्यपि थापाले शुरु गरेका सुधार कार्यलाई निरन्तरता दिन सकेनन् भने प्रभुराम स्वतः असफल प्रधानसेनापतिका रुपमा दरिनेछन् । प्रभुरामको सफलताको लागि एउटै विकल्प भनेको थापाले सुरु गरेको सुधारको निस्वार्थ निरन्तरता दिने प्रयास र त्यसका लागि निस्वार्थ स्टाफहरूको टिम छनौट नै हो ।

शर्मा नेपाली सेनाको उच्च तहमा प्लाटुन कमाण्डर जर्नेलको रुपमा चर्चित छन्, न रणनैतिक दृष्टिकोण छ न त दुरदृष्टि नै । प्लाटुन कमाण्डरको स्तर र क्षमताका रथी शर्मालाई आफ्नोे उत्तराधिकारीका रुपमा तयार गर्न विगत दुई वर्षदेखि सेनापति थापाले प्रयास गर्दै आएको देखिन्छ । अझै एक वर्ष बाँकी छ, तर शर्माको क्षमता प्लाटुन कमाण्डरबाट कम्पनी कमाण्डर भन्दा माथि जाने अपेक्षा राख्न सकिंदैन

नातावाद कृपावाद नेपाली सेनामा अन्त्य गर्छु भन्ने सेनापति थापाको लक्ष्य उनले नै तयार गर्दै गरेका शर्माले लत्याउदै आएका छन् । प्रधानसेनापति हुने क्रममा रहेका शर्माले आफ्नोे अफिसमा आफू अनुकुलका अधिकृतहरू जम्मा गर्न शुरु गरिसकेको सुनिएको छ ।

युद्ध निर्देशकको जिम्मेवारीमा मेडल सिफारिस गर्ने समितिको अध्यक्ष हुँदा प्रभुराम शर्मा अस्ट्रेलियन छोरीको बिहेमा खसी, बोका, बंगुर र बंदेल आदी बुझाउने पुरानो गोरखका गणपति र सुबेदार मेजर दुबैले नेपाल सरकारबाट बिभुषण प्राप्त गर्नु संयोग मात्रै होइन भनेर सेनापति थापाले नबुझेको हो वा बुझ पचाएको हो, बुझ्न कठीन छ ।

यसैगरी नेपाल घुम्न आएका छोरीहरूको रारा तालको यात्रामा शर्माले प्रयोग गरेको सैनिक स्रोत साधनले उनले भोली लिने बाटो स्पष्ट देखाउँछ । अहिलेसम्म कहिँ कतै उल्लेखनीय कार्य नगरेका वा क्षमता देखाउन नसकेका शर्माले सेनापति भएपछि चमत्कार गर्न सक्छन् भनेर विश्वास गर्न सकिने आधार छैन ।

सम्भार रथी नियुक्त भएपछि फसिने हो कि भनेर डराएका प्रभुराम शर्माले त्यहाँ बसेर बजेट पनि खर्च गर्न नसकेको दृष्टान्तले शर्माको असक्षमता अझ स्पष्ट पार्दछ । थापाका राम्रा कामहरूको निरन्तरतालाई सुनिश्चित गर्ने दृढता र क्षमता शर्मामा छैन भन्ने यसैले देखाउँछ । चिफ भएपछि गर्छु वा गराउंछु भनेर साँचेर राखेको यदि हो भने त्यो अर्कै कुरा भयो । जबकि, सम्भार रथीको जिम्मेवारी उनका लागि आफूलाई अब्बल सावित गर्ने अवसर हो भन्ने पक्षलाई उनले आत्मसाथ गर्न सकेनन् ।

यतिमात्रै होइन, सेनापति थापाको कार्यकालमा सेनापति पत्नीहरूले नेपाली सेनामा आदेश र निर्देशन गिराउने क्रमको पनि अन्त्य भएको छ । विगतमा प्रधान सेनापतिको दर्शन र दिशामा बिचलन वा परिवर्तन ल्याउने गलत परिपाटी सैनिक श्रीमती संघमार्फत संस्थागत भएको थियो । थापाले आफ्नोे परिवार र श्रीमतीलाई सेनाको दैनिकीबाट टाढा राख्नु पनि उनको सफलता हो । तर थापाले तयार गर्दै गरेका उनका उत्तराधिकारी शर्मामा यो लक्षण देखिंदैन । आफैं संलग्न हुँदा प्रधानसेनापति हुने मार्गमा ब्रेक लाग्न सक्ने ठानेका प्रभुरामले श्रीमति सुनिता शर्मालाई नेपथ्यबाट प्रयोग गर्ने गरेका छन् ।

युद्धनिर्देशक हुँदा फास्ट ट्रयाकको व्यवस्थापन, सम्भार रथी हुँदा ठेक्का र कमिसन निर्धारणमा सेनाकै केही अधिकृत र ठेकेदारहरूसँग श्रीमती शर्मामार्फत सम्बन्ध विस्तार गर्ने गरेको बुझिएको छ । अहिलेबाटै प्रधानसेनापति भएपछिका लागि सञ्जाल निर्माण गर्न पनि श्रीमति शर्मा भेट्नै नहुनेहरूसँग सम्बन्ध विस्तारमा लागिसकेकी छन् ।

श्रीमति, परिवार र आसेपासेका महत्वाकांक्षाले गर्दा भूतपूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हविगतबाट रथी प्रभुराम शर्माले अहिले नै सिक्न नसक्नुको पीडा नेपाली सेनाले शर्माको कार्यकालमा र अबकाशपछि उनी आफैंले भोग्नुपर्ने सुनिश्चित छ ।

वर्तमान प्रधान सेनापति थापाले चाकडीका लागि आफू र श्रीमति वा परिवारलाई भेटघाटमा आउनेलाई नरुचाएको बताइन्छ । उनको निवासमा दशैंको टिका थाप्न आउने आफन्त बाहेकको उपस्थितिलाई पनि उनी शक्तिमा भइञ्जेलका लागि मात्रै नजिकिने भिड हो भन्ने रुपले लिन्छन् भन्ने सुन्नमा आएको छ । नेपालको परिप्रेक्षमा शायद यो सत्य पनि हो । त्यसैले शर्मा प्रधान सेनापति भएको खण्डमा थापाका यस्ता सोंच र सुधार कार्यले निरन्तरता पाउने आशा राख्ने ठाउँ साँघुरो देखिन्छ ।

एक सफल कमाण्डरले उत्तराधिकारी पनि सक्षम निर्माण गर्दछन् । शर्मा नेपाली सेनाको उच्च तहमा प्लाटुन कमाण्डर जर्नेलको रुपमा चर्चित छन्, न रणनैतिक दृष्टिकोण छ न त दुरदृष्टि नै । प्लाटुन कमाण्डरको स्तर र क्षमताका रथी शर्मालाई आफ्नोे उत्तराधिकारीका रुपमा तयार गर्न विगत दुई वर्षदेखि सेनापति थापाले प्रयास गर्दै आएको देखिन्छ । अझै एक वर्ष बाँकी छ, तर शर्माको क्षमता प्लाटुन कमाण्डरबाट कम्पनी कमाण्डर भन्दा माथि जाने अपेक्षा राख्न सकिंदैन । त्यसमाथि पनि पुरानो गोरखका पूर्व सेनापति गौरव शमशेर राणाको सनक र हस्तक्षेपका कारण राणा हावी हुने सम्भावनाले गर्दा प्रभुराम शर्माले पल्टुन कमाण्डरकै तहको जिम्मेवारी निभाउने अवसर पनि पाउने हुन् वा होइनन भविष्यकै गर्भमा रहेको छ । त्यसो हुन गएमा शर्माका लागि र सेनाका लागि अभिशाप हुनसक्छ । उमेरको आधारमा सेनापति छनौट गर्ने अहिलेको व्यवस्थाको बेफाइदा यही नै हो ।

सैनिक ऐनले भावी नेपाली सेनाको प्रधानसेनापति वर्तमान प्रधानसेनापतिको सिफारिसमा नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था गरेको छ । सेनापति थापालाई पनि उनको उत्तराधिकारी को हुने भन्ने छनौटको विकल्प आफू विदा बस्ने अन्तिम दिनसम्म पनि रहनेछ । थापाले बुझ्नुपर्ने कुरा के छ भने आफूले सुरु गरेका सुधारका प्रयासले मात्रै सेनाका विकृतिहरू एकैपटक सकिंदैनन् । नेपाली सेनामा घट्दै र नियन्त्रित हुंदै गएका विकृतिको पुनरावृति भयो भने सिपाहीका सारा सपना चकनाचुर हुन बेर लाग्ने छैन ।

त्यतिबेला कुनै अमुक व्यक्ति उमेरका आधारमा स्थापित जेष्ठताका आधारमा सेनाप्रमुख हुनुको केही अर्थ रहँदैन । रथी प्रभुरामको क्षमता र लक्षणले नेपाली सेनाको लोकलाज पुनः जिवित हुने देखिन्छ । फलतः नेपाली सेना र नेपाल राष्ट्रले नै त्यसको नतिजा बेहोर्नु पर्नेछ । त्यसैले सेनापति पूर्णचन्द्र थापाले अझै पनि आफ्नोे उत्तराधिकारीका सम्बन्धमा पुर्नविचार गर्नु जरुरी छ ।

(नेपाल र नेपाली सेनाको भलो चाहने सैनिकहरूको परामर्शमा आधारित)