
-विनोद ढकाल
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु,
नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले तपाईका कुर्सीका कतिवटा खुट्टा लरखराएका छन् त्यस विषयमा आम जनताको हैसियतमा मलाई कुनै चासो र चिन्ता छैन । म जस्तै भुईँमान्छेले तपाईको सत्ताका टेकोका विषयमा चिन्ता लिने फूर्सद पाएका पनि छैनन्, सायद ।
एउटा पत्रकार वा इन्टेलेक्चुअल व्यक्तिका आधारमा होइन, नेपाल देशको एउटा जनता, सामान्य नागरिकको हैसियतमा यो पत्र कोर्दैछु– केही सुझाव र केही प्रश्नसहित ।
लोकतान्त्रिक मुलुकको स्वाभिमानी प्रधानमन्त्रीको देशको जनता पनि स्वाभिमानी, सार्वभौम छ भन्ने हेतुले नै यो आँट र साहस गर्नुपर्ने अवस्थामा पुगियो । जय–जयकार र मानवबाट महामानव अनि त्यसभन्दा माथि भगवानकै दर्जा दिन असमर्थ नागरिक भएका कारण मेरो पहिलो प्रश्न छ– कोरोना महामारी नियन्त्रणका निम्ति तपाई सञ्चालित राज्यका अस्पतालहरू किन सक्रिय र मानवमैत्री छैनन् ?
नेपाली मौलिक कम्युनिस्ट विचारबाट प्रगतीशील देश निर्माणमा प्रधानमन्त्रीको ताकत र विचारले निक्कै योगदान गर्न सक्छ भन्ने आत्मविश्वासमा रहेको एउटा आम साधारण, निम्न मध्यमवर्गीय परिवारको सन्तान भएका कारणले पनि अर्को प्रश्न छ– बालुवाटारभन्दा बाहिर काठमाडौं उपत्यका र त्यसबाहिर ७७ जिल्लाको नेपाल छ भन्ने जानकारीलाई अवमुल्यन किन गरियो ?
जनताले सुविधा र सेवाका निम्ति जुन अपेक्षासहितका सपना साँचेका थिए तिनलाई यो महामारीका बेला न्युनतम पनि सुविधा दिन नसक्ने सरकारको नेतृत्व गर्नुको अर्थ के मा देख्नुहुन्छ ?
नेपाली गरिब, निमुखा र निम्न मध्यमवर्गीय जनताका अपेक्षा धेरै छैनन् । महामारीका बेला स्वास्थ्योपचारमा न्युनतम पहुँच, बाँच्न पाउने अधिकारलाई सरकारले समन्वय र सुविधाजनक बनाइदियोस्, गाँस नभएका ठाउँमा चामल, बास नभएका ठाउँमा त्रिपाल, कपास नभएका ठाउँमा च्यादरकै अपेक्षा मात्र गरेका हुन् तर त्यसमा सरकार सफल छ त ? प्रधानमन्त्रीको सचिवालयभन्दा बाहिरको घेरामा पुगेर एक पटक अध्ययन गर्नुहोस् त ?
तपाई अस्वस्थ्य भएका बेला, उपचारका बेला काठमाडौंलगायत देशका विविध ठाउँमा स्वास्थ्यलाभको कामना गर्दै मैनवत्ती बालिए, ति मैनवत्ती कसैका घरमा बालिएका भए उज्यालो हुने थियो तैपनि अर्को प्रश्न छ– उपचार नपाएर, अस्पतालले भर्ना नलिएर मरेकाहरूको अधिकार तपाई जत्तिको पनि छैन ? यसको खोजीनीति र कारणबारे तपाई मौन बस्न मिल्छ प्रधानमन्त्री ज्यु ?
राम जहाँ जन्मिउन् तर बिराम जन्मिएको विषयको गाम्भिर्यतालाई ध्यान दिनुपर्ने र यो विश्वमहामारीका समयमा आफ्ना नागरिकलाई स्वास्थ्य सुविधाका निम्ति कडा निर्देशन र फरमान जारी गर्नुपर्ने बेला बुझ्नुको साटो मन्दिर निर्माणका लागि निर्देशन दिनुहुन्छ ? मन्दिर होइन, त्यहि बारा र पर्सामा कोरोनाका कारण कत्ति मानिसको मृत्यु भएको छ त्यहाँका जनप्रतिनिधि र प्रशासनलाई बोलाएर अस्पताल निर्माणका लागि निर्देशन दिनुपर्ने आजको दायित्व होइन र ?
प्रश्नै प्रश्न छन् । यी मेरा नीजि प्रश्न होइनन् । यी आम नेपाली जनता, मतदाता र जसले प्रधानमन्त्री बन्ने योग्यताका लागि टन्टलापुर घाममा उभिएर योगदान गरे, तिनको प्रश्न हो ।
भागवत गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई भनेका छन्– रिसले भ्रमको सृजना गर्छ, भ्रमले बुद्धि बिग्रह हुन्छ, जब बुद्धि बिग्रहमा परिणत हुन्छ तर्क नष्ट हुन्छ, जब तर्क नष्ट हुन्छ मानिसको पतन निश्चित हुन्छ
तर तपाई भुलिनुभयो– शक्ति केन्द्रको मुख्य थलोमा पुगेर । रनभुल्लमा पर्नुभयो । रावणले काललाई बन्दी बनाएर आफूलाई अमर भएको घोषणा गरेजस्तो भ्रम र दिग्भ्रमित पार्ने सानो घेराभित्र रमाउनुभयो । हुन त अक्सर शक्ति केन्द्र चल्ने सानो घेराबाटै हुन्छ, यहि प्रक्रियाको निरन्तरता भन्दा तपाईले नयाँ के गर्नुभयो ? भन्ने प्रश्न अस्वभाविक हुँदैन, यति बेला ।
साढे दुई बर्षसम्मको यो यात्रामा तपाईलाई कसैले प्रश्न गरिदियो भने तपाईका खरो जवाफ सुनियो– सदनमा । ति जवाफका तुक र अर्थ पहिल्याउनेहरूमाथि तपाईका सल्लाहकारहरू खनिए नराम्रोसँग । तपाई रमाउनुभयो भन्ने सुनियो । यसको प्रमाण त काभ्रेमा भएको एउटा कार्यक्रममा पूर्वमन्त्री गोकुल बास्कोटाका विषयमा तपाईले दिएको बयानले नै पुष्टि गर्छ ।
तपाई अहिले भगवानको विषयमा तर्क दिएर चर्चामा हुनुहुन्छ । प्रदिप गिरीले भनेजस्तो तपाई ज्ञानी मान्छे हो । सबैथोकको जानकारी र अध्ययन छ । त्यसलाई पुनर्ताजगी गराउन चहान्छु ।
भागवत गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई भनेका छन्– रिसले भ्रमको सृजना गर्छ, भ्रमले बुद्धि बिग्रह हुन्छ, जब बुद्धि बिग्रहमा परिणत हुन्छ तर्क नष्ट हुन्छ, जब तर्क नष्ट हुन्छ मानिसको पतन निश्चित हुन्छ ।
यहि भनाईसँग मिलेको सतहको व्यवाहारिक पक्षलाई ऐना बनाएर प्रस्तुत गर्दछु । सत्तासँग नजिक रहेका सल्लाहकारहरूले सतहमा जुन हिसाबले तर्क र बुद्धिको उपयोग गरिरहेका छन् यसले पतनको संकेत अवश्य गरेको छ । अब तर्कहरू सकिएका कारणले नै बिग्रहमा परेको बुद्धिका कारण जनताको सवालमा होइन, आफ्नै नेताविरुद्धमा छद्मभेषी तुषयुक्त वचन वाणको प्रयोग बढ्नु सत्ता पतनकै संकेत हो । यो अवस्था नआओस् भन्ने कामना छ ।
केही सुझाव छन् ।
पदीय पतनअघि प्रधानमन्त्री ओली, तपाई जनमुखि हुनका लागि सल्लाहकार र पदीय ध्वाँसको दुरुपयोग गर्ने घेरा तोड्न सफल बन्नुपर्छ । यो, घेरा कोरोना भन्दा पनि खतरनाक देखिन थालेको छ । कोरोनाका त लक्षण पनि हुन्छन् । यो घेराका दुईवटा लक्षण छन्– बालुवाटारभित्र चाकरी, बालुवाटारबाहिर बाफरी ! गीतामा अर्को पनि भनिएको छ– मानिस आफूले गरेको विश्वासमा निर्मित हुन्छ । जस्तो उसले विश्वास गर्छ उ त्यस्तै बन्छ ।
प्रधानमन्त्री ज्यु जसलाई विश्वासको घेरामा राखिरहनु भएको छ तपाई त्यहि शैलीको तालमा निर्मित बनिरहनुभएको छ । राजनीतिक इतिहास, खासगरी तत्कालिन एमाले र अहिलेको नेकपामा तपाईले कुनै चिज माग गरेको, खोसेको होइन जितेकै हो । यद्यपि, यो जीतले जुन स्थानमा राखिदियो, तपाईमा त्यो शक्ति चलायमान बनाउने सानो घेरामात्र देख्ने चश्मा लगाइयो वा लगाउनुभयो ।
लोकतन्त्र भनेको सहमति, सहकार्य र एकताको बिम्ब हो । हरेक नागरिकले प्रश्न गर्न पाउने प्राधिकारको सुरक्षा हो । यी कुनै प्राधिकार छैनन्, अहिले । लोकतन्त्र भनेको एउटा मात्र नागरिक पनि प्रतिपक्षमा बोल्यो भने उसको आवाजलाई सम्बोधन गर्ने सरकारको परिकल्पना हो, यहाँ त प्रश्नहरू दबाउन थालिएको छ । अझै शेष रहेको सत्ता समयमा नागरिकको अपेक्षा भनेको मृत्यु जितेको प्रधानमन्त्रीले आफ्नै छुद्र, असभ्य र अहंकारी घेरालाई जित्नुपर्छ ।
तपाई ठान्नुहोला यी त मेरा राजनीतिक प्रतिरक्षाका प्रणाली हुन् । यहि मेरो ताकत हो । यसैले म टिकीरहेको छु । तर यी सबै भ्रम हुन् । यी ताकत भोली तपाईको राजनीतिक ताकत सकिएको दिन अर्को ताकतको प्रतिरक्षा प्रणाली बन्ने प्रयत्नमा हुनेछन् । शक्तिलाई उपयोग गरी समिकरणका अनेक दाउपेचमा कहीँ न कहीँ झुन्डिनेछन् । त्यसैले प्रधानमन्त्री ज्युसँग मेरो अनुरोध छ– सिंहदरबार र बालुवाटारभन्दा माथि उभिएर एक पटक देशलाई नियाँल्नुहोस्– त्यहाँ तपाईका जनताका सन्तोष, असन्तोष र अवस्थालाई पक्कै देख्नुहुनेछ ।













प्रतिक्रिया