६ कार्तिक २०८३, शुक्रबार

सहकारीको साधारणसभा सम्बन्धी निर्देशन चाहियो ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २४ साउन । राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखा तनहुँको वार्षिक समिक्षा वैठक बिहीवार सम्पन्न भएको छ ।

समिक्षा वैठकका सहभागीहरुले कोरोना संक्रमणका कारण सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा राज्य र सहकारी अभियानको स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताएका छन् ।

कोभिड–१९ ले सहकारी क्षेत्रको वित्तीय तथा सेवा क्षेत्रमा पारेको प्रभावका बारेमा तथ्यांक संकलन गरी थप क्षति हुन नदिन राज्य र अभियानको सहयोग र समन्वयमा सहभागीहरुले जोड दिएका हुन् ।

वित्तीय तथा सेवा क्षेत्रमा काम गर्ने सहकारीहरुलाई परेको समस्यामा सहयोगी भूमिका निर्वाहका लागि तनहुँका सहकारीकर्मीहरुले राज्य र अभियानको ध्यानाकर्षण गराएका छन् ।

सहभागीहरुले आर्थिक वर्ष सकिएसंगै वार्षिक साधारणसभाको समय शुरु भएको र कोरोना संक्रमणका कारण अन्यौलपूर्ण अवस्था सिर्जना भएको भन्दै समयमै साधारणसभाका लागि स्पष्ट निर्देशन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमका सहभागीहरुले जिल्लाको सहकारी अभियानको नेतृत्व गर्ने जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुको क्षमता विकासमा सहकारी बैंक लगायत सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले शाखाको समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

दमौली शाखामा गत आर्थिक वर्षको अन्त्यसम्म ६७ करोड ६७ लाख निक्षेप संकलन र १३ करोड ७३ लाख कर्जा लगानी रहेको दाहालले जानकारी दिनुभयो । शाखाको गत आर्थिक वर्षको कारोबारमा कर्जा जोखिम व्यवस्थापनका कारण मुनाफा गर्न नसकिएको उनले जानकारी दिए ।

सो अवसरमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि वित्तीय सहयोगका साथै संस्थागत सुशासन सुधारका लागि सहकारी बैंकले सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, सचिव मदन पण्डित, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष देवी बहादुर बस्नेत, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रामजी लौडारी, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष यज्ञप्रसाद शर्मा, सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका सदस्यहरु प्रदिपराज अधिकारी, ऋषि बहादुर बस्नेत, जीवनाथ अर्याल, रामकुमारी केसी लगायतले आ–आफ्नो सुझाव राख्नु भएको थियो ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवरको अध्यक्षता र शाखा प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।