
काठमाडौं, २३ साउन । कोरोना भाइरसबाट संक्रमित भएर निको भइसकेका ९० प्रतिशत बिरामीमा फोक्सोको समस्या देखिएको छ ।
१०० बिरामीमध्ये ९० प्रतिशतमा फोक्सोको समस्या देखिएको छ भने निको भएका ५ प्रतिशतमा पुनः कोरोना पोजेटिभ नतिजा देखिएएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित समाचार अनुसार उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गत अप्रिलयता १०० जना बिरामीहरुको निरन्तर फलोअप गरिरहेको छ । एक वर्षे कार्यक्रमअन्तर्गत पहिलो चरणको फलोअप जुलाईसमा सकिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यी १०० जना बिरामीहरुको औसत आयु ५९ वर्ष रहेको बताइएको छ ।
पहिलो चरणको नतिजाअनुसार ९० प्रतिशत अर्थात् ९० जना बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामै छ । जसको अर्थ उनीहरुको फोक्सोको भेन्टिलेशन र ग्यास एक्सचेन्ज कार्य अझै स्वस्थ व्यक्तिहरुको स्तरमा आइसकेको छैन भन्ने हो ।
पेन्गको टिमले बिरामीहरुलाई ६ मिनेट हिँडाएर परीक्षण गरेको थियो । जसअनुसार उनीहरु ६ मिनेटमा ४०० मिटरमात्रै हिंड्न सकेको देखियो, जबकि स्वस्थ व्यक्तिले यही अवधिमा ५ सय मिटर हिँड्न सक्छन् ।
दोङजिमिन अस्पतालका डाक्टर लियाङ तेन्गसियओका अनुसार निको भइसकेका केही बिरामीहरु अस्पतालबाट डिस्चार्ज भएको तीन महीनापछि पनि अझै अक्सिजन मेसिनको सहारा लिन बाध्य छन् ।
लियाङको टिमले निको भइसकेका ६५ वर्षमाथिका बिरामीहरुको पनि फलो अप गर्दै छ । बिरामीहरुले डिप्रेसन र केही हदसम्म लोकलाजको पनि सामना गर्नु परेको मिडिया रिपोर्टमा उल्लेख छ ।
निको भइसकेका अधिकांश बिरामीकाअनुसार परिवारका सदस्य उनीहरुसँग एउटै टेबुलमा बसेर खाना खाने इच्छा देखाउँदैनन् । निको भएका १०० मध्ये आधाभन्दा पनि कम व्यक्तिमात्रै काममा फर्केको रिपोर्टमा उल्लेख छ ।















प्रतिक्रिया