
अर्घाखाँची, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने ठोकुवा गरेका छन् ।
अर्घाखाँचीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले प्रधानमन्त्री ओलीलाई गलाएर राजीनामा गराउँछु भन्नु दिवास्वप्ना भएको जिकिर गरेका छन् । बरु वार्ता तथा छलफलबाट सहमतिमा आउन सके मात्रै ओलीले सहज रुपमा राजीना गर्ने वातावरण बन्ने उनको जिकिर छ ।
दुई अध्यक्षबीच आलोपालोमा प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि पार्टी सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनु पर्ने भन्दै गरेको प्रस्ताव सर्वसम्मतिले पारित भइसकेपछि प्रचण्डले अहिले पदको लोभ गर्न नहुने भनाइ पनि उनको छ ।
पार्टी सहमतिअनुसार अगाडि बढ्नु पर्ने बताउँदै उनले सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नु पर्ने वर्तमान अवस्थामा नेताहरु पदीय भुमरीमा फसेकोबाट आम जनतामा राम्रो सन्देश नगएको धारणा पनि व्यक्त गरे ।
पाटीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले यसअघि पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत बनेका नेताहरुलाई कुन पदमा राख्ने भन्ने नै पार्टीमा देखिएको अन्तरविरोधको प्रमुख कारण बनेको बताए ।
पार्टी टुट्ने फ्ट्ने र टुटाउने फुटाउने हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई उनले आग्रह गरे भने पाटी फुटे कस्तो हालत हुन्छ भन्ने सीपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई हेरेर नेतृत्व वर्गहरु अगाडि बढ्नु पर्ने उनले बताए ।
उनले नेतृत्वले कुर्सीको लडाइँ गर्दा पार्टी पंक्तिलाई पनि ध्यान दिन आग्रह गरे । आम कार्यकर्ताको बलमा नेतृत्वमा पुगेकाहरुले कार्यकर्ताको भावना पनि बुझेर अगाडि बढ्नु पर्ने नेता रायमाझीको भनाइ छ ।















प्रतिक्रिया