
-निर्मल भट्टराई
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा हाल चलिरहेको विवाद सबैको लागि टीठलाग्दो हुदै गएको छ । विचारमा हुने बहसले कार्यकर्ता र सर्वसाधारण जनतामा समेत उत्साह पैदा गर्छ, सहभागिता बढाउछ । तर पदलाई केन्द्रमा राखेर हुने बहसले निरासा र अन्यौल पैदा गर्छ ।
विचार र संगठनमा दुई फरक धारबाट आएका तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको एकता केवल भौतिक रुपमा मात्र छ, रासायनिक रुपमा एकता भएकै छैन । पुरानो संख्या देखाएर भएको सत्ताको निरन्तर बार्गेनिङ्ग नै यसको गतिलो प्रमाण हो ।
नेपालको कम्युनिष्ट आन्दोलन शुरु भएको सात दशकभन्दा बढी समय गुज्रेको छ । यो अवधिमा नेपाली नेताहरुले यसको नेपालीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अरु देशका अनुभवलाई सन्दर्भ समग्री मानेर आफ्नो देशको परिस्थिति अनुसार पार्टीको सैद्धान्तिक निरुपण हुने दर्विलो धरातल निर्माण भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि प्रकाशित पहिलो पर्चामा प्रयोग भएको भाषा नेपाली सन्दर्भ प्रयोग गरिएको देखिन्छ । त्यो पर्चामा प्रयोग भएको भाषा यस्तो छ, “नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाईं एउटा क्रान्तिकारी लडाईं हो, यसकारण यो लडाईं अहिंसात्मक सम्ममात्र सीमित हुनुहुदैन”।
यो पर्चामा रसियन र चिनिया क्रान्तिका सन्दर्भहरु थोरैमात्र प्रयोग गरिएको पाईन्छ । नेपाल कम्युनिष्ट पार्टीको प्रथम घोषणा पत्रमा यस्तो लेखिएको छ–“नेपाली जनताले एउटा भिन्नै बाटो लिनु पर्दछ । त्यो बाटो हो–विश्व जनवादी शिविरसित सक्रिय मेलगरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी पूँजीवादी आधिपत्यलाई पूरैसित खतम गर्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्यसत्ता स्थापना गर्नु, अर्थात् यस्तो राज्य व्यवस्था कायम गर्नु,जसमा जनता राष्टको सम्पत्तिका मालिक हुनेछन् ।”
पार्टीका कार्यकारी अध्यक्षले नै पार्टी बनाउन वास्ता नगरेपछि अरु कसले गर्छ ? उहाँले त सत्तामोह छोडेर नेकपालाई विचार र संगठनलाई क्रान्तिकारी बनाउन र एकताको महाधिवेशन भव्य बनाउन अहोरात्र लागिपरेको भए, सत्ताले उहाँलाई खोज्थ्यो, उहाँले सत्ताको लागि मरिहत्ते गर्नैपर्ने थिएन ।
यो दस्तावेजमा प्रयोग भएको भाषा सरल र सर्वसाधारणले बुझ्ने खालको छ । जननेता मदन भण्डारीद्वारा २०४९ सालमा आयोजित तत्कालीन नेकपा (एमाले)को पाचौं महाधिवेशनमा प्रस्तुत “नेपाली क्रान्तिको कार्यक्रम स् जनताको बहुदलीय जनवाद”मा प्रयुक्त भाषा यस्तो छ –“प्रत्येक व्यक्तिलाई जनता र राष्टको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनूभुहिरु अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ यो स्वभाविक र प्रकृतिसङ्गत कुरा हो । यसको उल्टो केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाईने र विरोधमा मुख खोल्न नपाईने व्यवस्था अरु पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन ।”
जननेता मदन भण्डारीले अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनका प्रयोग हुने गरेका क्लीष्ट शब्दावली सकेसम्म हटाएर नेपाली श्रमजीवी जनताले समेत सजिलै बुझ्न सक्ने भाषा प्रयोग गरेको देखिन्छ । जनताको बहुदलीय जनवादको मूल कपि र त्यसको व्याख्या दुबैमा सरल शब्दावली र सन्दर्भहरुको प्रयोग गरिएको देखिन्छ ।
अर्कोतर्फ जनयुद्धको गहिराई बढ्दै जाँदा २०५७ सालतिर कमरेड प्रचण्डद्वारा तयार गरेको एक दस्तावेज “महान अग्रगामी छलाङ : ईतिहासको अपरिहार्य आवश्यकता” मा लेखिएको छ–“माक्र्सवाद–लेनीनवाद–माओवादका क्रान्तिकारी सिद्धान्तअनुसार पार्टीलाई नयाँ जनवादी,समाजवादी र सांस्कृतिक क्रान्ति हुदै साम्यवादसम्मको महान यात्राको नेतृत्व गर्न लायक तुल्याउन हामीले लगातार संघर्ष गर्दै आएका छौं । यस सन्दर्भमा सर्वाधिक महत्वपूर्ण संघर्ष नेपाली कम्युनिष्ट आन्दोलनमा हावी रहेको पूँजीवादी जनवादी क्रान्तिमा सर्वहारावर्गको नेतृत्य परित्याग गर्ने पुच्छरवादी–संशोधनवादका विरुद्ध लामो विचारधारात्मक संघर्ष हो । यो विचारधारात्मक संघर्षको सम्बन्ध पार्टीलाई विपरितको एकत्व र दुई लाईन संघर्षको बीचबाट यसको विकास गर्ने द्वन्दात्मक विधिका विरुद्ध एकमना एकताको नाममा
गूटवादको अभ्यास गर्ने अधिभूतवादी चिन्तनका विरुद्धको संघर्षसंग गाँसिएको छ । ”
यो भाषाबाट अर्थ निकाल्न त्यति सजिलो छैन । यहाँ प्रयोग भएका शब्दावली सर्वसाधारण श्रमजीवी जनताका लागि बोधगम्य छैन । सत्तामा आईसकेपछि चिनिया कम्युनिष्ट पार्टीले सञ्चालन गरेको असफल र विवादास्पद कार्यक्रम ग्रेट लिप फरवार्ड ( १९५८–१९६२) को राम्रो अध्ययन नगरी शीर्षक “महान अग्रगामी छलाङ”बारे बुझ्न सकिने कुरा भएन ।
तत्कालीन अवस्थामा चिनिया जनता रहेको भनिएका चारवटा पुराना कुराहरु–विचार, रीतिरिवाज,संस्कृति र बानी–लाई उन्मूलन गर्ने प्रमुख ध्येय राखेर क. माओको नेतृत्वमा १९६६ देखि १९७६ सम्म सञ्चालित विवादास्पद र धेरै हदसम्म असफल सर्वहारा सांस्कृतिक क्रान्तिको इृतिवृतान्त नपढेको र माओको निरन्तर क्रान्ति नबुझेको पाठकले यो दस्तावेज बुझ्दैन ।
अरु त अरु कमरेड प्रचण्डको सर्वाधिक चर्चित दस्तावेज “एक्काईसौं शताब्दीको जनवाद” सामान्य पढालेखा श्रमजीवी जनताको लागि बोधगम्य छैन । खासगरी प्रतिक्रान्तिबाट जोगिने उपायको विस्तृत चर्चा गरिएको यो दस्तावेज भन्छ –“निस्चित नै महान सर्वहारा सांस्कृतिक क्रान्तिसम्म आईपुग्दा यसका आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरी प्रयोग गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । यो प्रश्न पार्टीभित्र चल्ने दुईलाईन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।” बुझ्नै कठिन । कतैबाट भाषा रुपान्तर गरी ट्याक्क राखेजस्तो । हेर्दा राम्रो तर जटिल आयातित ब्राण्डजस्तो ।
सोभियत संघमा नब्बेको दशकमा भएको प्रतिक्रान्तिबारे मदन भण्डारीको दस्तावेज बोल्छ–“समाजवाद निर्माणको प्रत्रियामा नियन्त्रण र सन्तुलनको स्थिति कायम गर्न नसक्नु,सबै कुरामा राज्यको अति केन्द्रित नियन्त्रणको प्रणाली कायम गर्नु, उत्पादनको प्रत्येक ईकाईहरुमा उत्तरदायित्वको विकास गर्न नसक्नु, उत्पादकत्व बढाउनको निम्ति प्रोत्साहन नहुनु, नयाँ नयाँ प्रविधिको अनुसन्धान एवं विकास गर्न नसक्नु, समस्त राजकीय तथा आर्थिक मामिलामा समेत जनताका स्वतन्त्र ईच्छाहरुलाई अभिव्यक्त हुन नदिनु,……..”
श्रमजीवी जनताको बोध शक्तिलाई ध्यानमा राखेर दस्तावेज लेख्ने मदन भण्डारीको यो शैली अनुकरणीय छ । दस्तावेज लेख्दै गर्दा आफू पछाडि रहेका लाखौं जनता नसम्झे त्यो दस्तावेजको खास उपादेयता हुने छैन ।
नेपालको कम्युनिष्ट आन्दोलन पनि सिद्धान्तको अनावश्यक आयातबाट आक्रान्त छ । विगतमा जनताको बहुदलीय जनवादले सिद्धान्तको एकोहोरो आयात न्यूनीकरण गर्न ठूलै भूमिका खेलेको थियो ।
सिद्धान्तको आयातभन्दा स्वदेशमै उत्पादन गर्न जोड दिएको थियो । नेकपाको सैद्धान्तिक निरुपण हुदै गर्दा यसको कस्तो लेखाजोखा होला , जनताको तहमा नबुझिने ‘वाद’हरुको भुमरी सिर्जना गर्नुभन्दा जनताको बहुदलीय जनवादजस्तो भाषिकरुपमा समेत सरल र सुस्पष्ट विचार निर्माण आवश्यक छ ।
साथै, विचारको प्राज्ञिकताभन्दा अहिले विचारको व्यवहारिकता अपेक्षित छ । नेपाली जीवन व्यवहारमा प्रयोग नहुने ‘सुन्दर’ विचारको व्याख्या गरेर समय व्यथित गर्नु राष्ट्रकै लागि ठूलो घाटा हो ।
सिद्धान्तका पारखीहरु एकपटक जननेता मदन भण्डारीको बोध र लेखन शैलीतिर फर्कंदा राम्रो हुन्थ्यो । तर दुःखसाथ भन्नुपर्छ, नेकपामा विचारको निर्माण गर्न सार्थक बहसभन्दा पदप्राप्तिको लडाईं चर्कदैं गएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड नै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीसंग प्रधानमन्त्री पद आफ्नालागि छोडिदिन एक महिनादेखि बालुवाटारमा निरन्तर दबाब सिर्जना गरिरहनुभएको छ । उहाँको अर्जुनदृष्टि प्रधानमन्त्री पदमा छ, पार्टीको विचार र संगठन निर्माणमा पटक्कै छैन ।
पार्टीका कार्यकारी अध्यक्षले नै पार्टी बनाउन वास्ता नगरेपछि अरु कसले गर्छ ? उहाँले त सत्तामोह छोडेर नेकपालाई विचार र संगठनलाई क्रान्तिकारी बनाउन र एकताको महाधिवेशन भव्य बनाउन अहोरात्र लागिपरेको भए, सत्ताले उहाँलाई खोज्थ्यो, उहाँले सत्ताको लागि मरिहत्ते गर्नैपर्ने थिएन ।













प्रतिक्रिया