३ कार्तिक २०८३, मंगलबार

राजधानीमा माओवादी पुनर्गठन घोषणासभा, प्रचण्ड-वैद्य किन गएनन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Ekikaran1

काठमाडौं, २ चैत । टुक्रिएका पार्टीहरुलाई एकीकरण गर्ने अभियान अन्तरगत सोमबार राजधानीमा आयोजना गरिएको माओवादी पुनर्गठन अभियान, घोषणा सभामा शीर्ष नेता सहभागी भएनन् ।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सभामा शीर्ष नेताहरु सहभागी नभएपछि अधिकांश सहभागी खिन्न भएका थिए । सभामा माओवादीका दोस्रो तहका नेताहरुमात्रै सहभागी भए ।

Maobadi-Ekikaran

प्रचण्ड, मोहन वैद्य, नेत्रविक्रम चन्द, मातृका यादव र मणि थापालाई एउटै मञ्चमा राखेर अभियानको घोषणा गर्ने प्रचार गरिएपनि अन्तिम समयमा मातृका यादव र मणि थापा बाहेक अन्य आएनन् । कार्यक्रमको संचालन एमाओवादीका नेता जनार्दन शर्माले गरेका थिए ।

शर्माले माओवादी पार्टीलाई एकतावद्ध गरेर लैजानको लागि पुनर्गठन अभियान अघि बढाएको जानकारी दिए । नेताहरुले व्यक्तिगत महत्वकांक्षा त्याग्नुपर्ने उनको धारणा थियो ।

नेकपा– माओवादीका केन्द्रीय सदस्य हितमान शाक्यले विभिन्न चरणमा एकीकरणका अभियान अघि बढाएर एकीकृत महाधिवेशनमार्फत सबै माओवादीको एउटा पार्टी बनाउने योजना अन्तर्गत पुनर्गठन अभियान थालेको बताए ।

एकीकरणको अभियान अघि बढाउन छ बुँदाको प्रतिवद्धता पत्र तयार पारिएको छ ।

नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालले पार्टी काममा व्यस्त भएकाले शीर्ष नेताहरु सहभागी नभएको प्रतिक्रिया दिइन् ।

कमलादीमा दोस्रो पुस्ताका नेताहरु पार्टी पुनर्गठनको चर्चा गरिरहँदा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने लाजिम्पाटस्थित निवासमै थिए । औपचारिक बहस आरम्भ भए पनि टुक्रिएका माओवादीलाई पुनर्गठन गर्न थुप्रै जटिलता र छलफल बाँकी रहेकाले शीर्ष नेताहरु औपचारिक कार्यक्रममा उपस्थित नभएका हुन् । प्रचण्ड र बाबुराम आउन तयार रहे पनि नेत्रविक्रम चन्दले आफू नआउने सन्देश पठाएको स्रोतले बतायो ।

तस्वीरहरु: रासस