जति म घामको राप, ताप र प्रकाश भएर ठोस / तरल बाँचिरहेको छु, त्यसरी नै म जूनको उज्यालोमा मुलायम बाँचेको छु, जुनेली बाँचेको छु । देश / देशावर यात्रामा घामलाई लिएर म जति घुमेको छु, उत्तिकै साक्षी छ मेरो यात्राको जून । म नजन्मिंदै आकाशमा जुन घाम र जून थियो, विज्ञानका अनुसार त्यही छ आज पनि तर मेरा लागि हरेक दिन यी नयाँनयाँ घामजूनहरु हुन्, यी नयाँनयाँ उज्यालाहरु र नयाँनयाँ कोशेढुंगाहरु हुन्, जसको आधारसतहमा म जीवनका रेखाहरु कोरिरहेको छु, पाइला लतारेर डोब बनेको हेरिरहेको छु अर्थात् म जिउँदै छु भनेर देखाउने कुनै उज्यालोको ऋणी छु त यिनै घामजूनको ।
घाम एक सत्य, जून अर्को सत्य । तर यो संसारको बिधीसत्य, विज्ञान र तथ्यसत्य । यदी घामजूनलाई संसारले आफ्नो आँखा मान्दछ र यसले संग्रह गरेको दृश्यलाई फ्ल्यासब्याकमा उतार्न सक्दछ भने यो कतिधेरै मेगापिक्सलको होला ? र यसको स्टोरेज कति वाईबीबाइट होला ? त्यसको अंकगणित छैन शायद संसारसँगै तर मेरो जीवनले देखेभोगेका दृश्यलाई घाम र जूनको प्रकाशीय मापदण्ड बनाएर अलग गर्ने हो र शब्दमा उतार्न सकेजतिका दृश्यलाई स्टोरेज गर्ने हो भने यो सराबरीप्राय छ । अर्थात् घामले देखाएको जगतसत्य र जूनले देखाएको सत्यका दृश्यहरु उत्तिकै छन् मेरा आँखाहरुमा । तर, फरक फरक खिचेको छ मेरो आँखाले जूनले देखाएबाट हेरेको अनि घामले देखाएबाट हेरेको । म र महरु जूनलाई छक्याउन खोजेर बाँचिरहेका हुन्छौं बढी । जूनको आँखालाई छेलेर कर्मअकर्म गर्न खोजिरहेका हुन्छांै बढी । किनकी संसार घामसँग घुलेर सोझो कर्म गर्न खोजिरहेको देखाउन चाहन्छ र जूनसँग बांगो कर्मको यत्न गर्दछ । सोझा मानिसहरुको शब्दमा जून सुत्नका लागि, घाम जाग्नका लागि बल्दछ ।
म यतिवेला जूनसँग डुल्न खोजिरहेको छु, उसको प्रकाशसँग बोल्न खोजिरहेको छु, मुनलाइटसँग घुल्न खोजिरहेको छु । मलाई याद छ, मेरो जीवनको आँखाले ठम्याएको स्मृत दृश्यमा मेरी आमाले आफ्नो पाखुरामा च्यापी घरनजिकको डाँडाबारीमा लगेर मलाई ‘ऊ … हेर् त छोरा त्यो ‘देउतीमाता’ भनी चिनाउनु भएको यही जून हो । र, यो त्यही जून हो जो यद्यपि छ मेरो आकाशमा तर थाहा छैन यो मभन्दा कति धेरै बाँच्ला !
त्यतिवेलाको ‘देउतीमाता’ असाध्यै आदरणीय भएर मेरो जीवनको सुन्दर उज्यालो थियो । मलाई आमाले भन्नुभएको थियो ‘ती देउतीमातालाई ढोग गर्नुपर्दछ । मेरा दुवै हात जोडाएर उहाँले ढोगाउनु भएको थियो ।
त्यसपछि जूनका रंगहरु मेरो जीवन अनुसार बदलिएका हुन् । जूनको उज्यालोमा आँगनमा बसेर कखरा पढेको छु, अलि ठूलो भएपछि त्यसै उज्यालो लिएर घट्ट गएको छु, अझै ठूलो हुँदा गौराती जात्रा गएको छु, चुरीमुरी, चन्देवी र फिस्टेदेवीकाँ गएको छु, गाउँका मेलापर्वहरु हेरेको छु ।
मैले धेरै पछि मात्र थाहा पाएको र देखेको हो, जूनमा धब्बा । त्यतिवेला पनि मैले आमालाई नै सोधेको हो, त्यो के हो आमा कालोकालो देख्छु नि जूनमा ? आमाले भन्नुभएको हो, त्यो पीपलको रुख हो र पीपल पनि देउतीमाता हो । मैले सरासर पत्याएको सत्य हो यो ।
कतिकति वेला जून मेरो जीवनको खुसीको सवभन्दा अग्लो पीपलको रुख भएको छ, धन कमाउन जानुभएका बाबा घर आउने दिन थाहा पाएर बाबाको बाटो हेर्ने सवभन्दा नजिकको साथी भएको छ, बाबाले ल्याइदिनु भएको कोशेली हेर्ने सवभन्दा मीठो मायालु भएको छ र कतिकति वेला जून मेरो खुशीको बाधक पनि बनेको छ । उसलाई छक्याएर मैले माया गाँसेको छु, मायालु भएको छु, भागेको पनि छु । धेरै पटक जूनलाई माया गरेको छु र धेरै पटक गाली गरेर उसलाई छेक्ने कोसिश गरेको छु ।
जब म जूनलाई बुझ्ने भएँ, निलआर्मस्टङले जूनसँग गरेको सहवास थाहा पाउने भएँ, त्यस समयसम्म जून मेरो आधा जीवन भइसकेको थियो । म जूनलाई लिएर धेरै तिर्थाटन गइसकेको थिएँ, धेरैतिर घुमिसकेको थिएँ र जूनसँग रमाउने बानीमा थिएँ ।
त्यही जून हो र यही जून हो, मैले ‘देउतीमाता’ भनेर पूजा गरेको जून र यो त्यही मूनलाइट हो । म बाँच्दैजाँदा उसलाई ओढेर र ओच्छ्याएर जति जेजे गरेभोगेको छु, त्यति कर्मअकर्म मैले अरु कसैको साथमा गरेको छैन । उसैलाई ओढेर मैले हजारौं भगवानलाई ढोगेको छु, हजारौं प्रार्थना गरेको छु, हजारौं मानिसहरुलाई भोगेको छु र हजारौंहजार कथाहरु सुनेपढेको छु । यसकारण मुनलाईट मेरो जिन्दगी हो: जिन्दगी मुनलाईट हो ।
मैले लुकाउन खोजेचाहेको धेरै तथ्य उसलाई छर्लंग थाहा छ । मैले बाटो बिराएर पटकपटक गरेका सबैसबै थाहा छ, बाटो बनाएर पटकपटक गरेको वा बाटो नबनाएर हराएको पनि थाहा छ उसलाई किनकी उसले देखेको छ । रातिराति मेरो आँखाले के हेर्न खोज्दछ र केके छोएको छ मेरो हातले भन्ने पनि उसले देखेको छ । उबाहेक मेरो जीवनका डाम र छापहरु सम्वन्धित पात्र र परिस्थितीलाई मात्र थाहा होला अरु सबको साक्षी हो मुनलाइट । म न्याय र शान्तिपूर्वक बाँचिरहेको छु कि जलीजली बाँचिरहेको छु ग्लानि र पीडाको पहाडमा भन्ने पनि उसैलाई थाहा छ । मैले मेरी श्रीमतीलाई नभनेका वा भन्न नसकेका गुप्तप्रेमका मेरा बकवास कथाहरु पनि उसैलाई थाहा छ, किनकी उसले त्यो पनि देखेको छ माथिबाट । मैले आप्mनै लागि आपैmसँग लुकाएका सत्यका सयांै पोकापन्तुराबारे कुनाकन्तुराबाट उ जानकारी राख्दछ । त्यसैले ममाथि सवभन्दा न्याय गर्न सक्ने उ नै हो र उसको प्रकाश हो मुनलाइट । म पाप गरिरहेको छु कि, पूण्य ? यो जान्ने र बक्न सक्ने एउटै धामी छ कोही यो संसारमा भने यही मुनलाइट ।
र, मलाई यस्तो पनि लाग्छ, मैले जति उसको स्पर्श जीवनमा थोरैले गरेहोलान् । जन्मदैदेखि सुरु भएको यो कथा यसरी चलिरहेको छ कि, उसको हरेक आकारमा म लिन भएको छु, उसलाई पृथ्वीको धेरै कोणबाट नियालेको र सम्हालेको छु । मेरो जन्मगाउँबाट कायम उसँगको पहिलो नातादेखि आजसम्म अनेकौं यस्ता नाता र सम्वन्ध छ त्यसलाई व्याख्या गर्न शब्दहरु कमजोर छन् । जसरी पहिलो नाता कायम हुँदा म उसलाई आदरभाव र सम्मानको पूजाअर्चना गर्दथें क्रमश मेरो उमेरको पिरामिड अग्लो बन्दैगर्दा उसँग फरकफरक नाता कायम भएको छ ।
जन्मगाउँ छँदा मैले स्पर्श गरेको उस्को स्वरुप पछिपछि त्यहाँदेखि परपर म दौडिंदै गर्दा जीवनको बाटोमा, देशका कुनाकन्दराहरुमा र परदेशका थुम्काहरुमा उ फरकफरक रुपको भएको छ । जसरी सुरुमा उ आदरणीय थियो, क्रमश त्यो दूरी घटेर आत्मीय त भएको छ तर आदरणीयबाट ओर्लेर । मैले मुनलाइटलाई सवभन्दा नजिकीकरण गरेको थाइल्याण्डमा हो । उसलाई अंगालो हालेर सुतेको थाइल्याण्डको कोपनगान बिचमा हो । मानिसहरु मुनलाइटसँग कसरी सम्भोग गर्दारहेछन् देखेको पनि त्यहीं हो । समुद्र ओच्छ्याएर मुनलाईटको पच्छ्यौरा ओढी मानिसहरुले कतिसम्म अति गर्दारहेछन् थाहा पाएको पनि त्यहीं हो । शायद त्यो रोमान्सको साक्षी बस्न नपाएको भए मेरो जीवनले जून वा मुनलाइटको कथा बक्न सक्थेन होला म ठान्दछु किनकी मेरो जीवनले मुनलाइटमाथि गरिएको सवभन्दा रोमान्स देखेको नै त्यहीं थियो र हो ।
कस्तो दृश्य थियो भने, आकाशमा पूर्णाकारले जून नांगो भएको थियो र त्यो कोपनगानमा मानिसहरु (महिलापुरुष), तिनका मनहरु अनि परिस्थिती पनि । नेपालमा मैले कायम गरेको नाताबमोजीम त्यही जूनलाई पूजा गर्नुपर्ने दिन थियो त्यो पूर्णिमाको । तर, थाइल्याण्डको कोपनगान बिचमा त्यही जूनको नाम पूmलमून थियो र त्यो ट्रान्स पार्टीको नामै थियो फूलमुन पार्टी । जहाँ १० हजार जति पर्यटकहरु जूनले पनि सुन्नुपर्ने जसरी निकै ठूलो आवाजमा गुन्जाइएको संगीतमा बेहोसबेहोस् नाँचिरहेका, गाइरहेका उफ्रिरहेका थिए मुनलाइटलाई साक्षी राखेर । मेरो एक मनले ‘देउतीमाता’को अपमान भएको ठानेपनि त्यसको कुनै अर्थ थिएन त्यो भीडमा । तर फेरि मेरो अर्को मनले त यस्तै ठानेको थियो जो भइरहेको थियो ठीकै थियो । त्यसपछि म र केही नेपाली साथीहरु पनि सामेल भयौं त्यो मुनलाइटसँगको सहवासमा । त्यो रातभर जून हाँस्यो वा रोयो मसँगको अनपेक्षित सम्वन्धमा वा उसको शब्दमा –बलात्कार भएकामा ! मैले कुनै ग्लानि अनुभूति गरिन् र गरिरहें रोमान्स् (पढ्नुस् बिन्दास रातहरु), गरिरहें मुनलाइटको तन्ना ओच्छ्याएर जीवनान्दको स्खलन !
घामको उज्यालो पहेंलिएर पोखिएको थियो त्यो बगरमा तैपनि जूनले छाडेको थिएन । एकसाथ मुनलाइटमा घामको पहेंलो किरण खस्दा अपत्यारिलो दृश्य सार्वजनिक भएको थियो । शायद यो सवभन्दा खराब दृश्य पनि हुनसक्छ किनकी घाम र जूनको प्रकाशबीच सम्भोग भएपछि त्यहाँ बाँकी रहेका कसैले पनि सम्भोग गरेन । रातभरि त केके भयोभयो !
मैले यसरी पनि भोगें यो मुनलाइटलाई । पछि त्यही देशमा त्यो जून आधा आकारमा आयो र मानिसहरु फेरि त्यसैगरि बिचहरुमा भेला भए अनि त्यसैगरि हाफमुन पार्टी मनाए, त्यसपछि फेरि त्यही देशमा हाम्रो भाषाको औंसी आयो, उनीहरुले नोमुन पार्टी मनाए र त्यसैगरे । यसरी जूनलाई उसको आकारआकारमा बलात्कार गरेको देखियो मेरो पहिलो हाडनाताका आधारमा । तर, मैले पनि पुराना र मानार्थ नाताहरु तोडिसकेको थिएँ किनभने मलाई आमाले चिनाउनु भएको मेरो जन्मगाउँको जूनभन्दा यो अर्कै देशको आकाशमा बलेको जून अर्कैअर्कै र उत्ताउलोउत्ताउलो लागिरहेको थियो । मलाई पाप लाग्दैन भने, जूनलाई थाहा छ कि उसँगको मेरो नाता कति पवित्र हो ? म भन्न सक्छु –निलआर्मस्टङ वायुमण्डलमै मरेको थियो र जूनको तथ्य पृथ्वीमा ल्याउन सकेको थिएन भने वा मैले जून पढेको थिइन् भने म पनि त्यो हाडनाताको घेरालाई तोड्न सक्थिन होला तर प्रिय जून, प्रिय मुनलाइट ! मैले तिमीलाई ओढेको छु, ओच्छ्याएको छु र नाता परिवर्तन गरेको हूँ । किनकी जून अब देउतीमाता रहिनन् । जून मेरो जिन्दगी मुनलाइट भएको छ ।
यस्ता अरु हजारौं हजार कथाब्यथा छ यो मुनलाइटसँग । मेरो जीवनको धेरै हिसावकिताब छ उसँग । त्यो न उसले बिर्सिनसक्छ, न मैले ।
जापानको फुकुसिमा र सेन्दइमा निकै ठूलो भूँइचालो र सुनामी आएपछि हजारौं मान्छेको लाश गन्हाइरहेको मृतशहरमा उभिएर पनि मैले जूनलाई स्पर्श गरेको छु, उसको उदासी र भयानक घाउ (त्यो दाग) लाई महशुस गरेको छु । ममाथि चुहिएका उसका बिकीरणहरुलाई सहेको पनि छु ।
हैटीमा भोको जूनलाई स्पर्श गरेको छु, उसको पेट छामेको छु र अभावलाई पखाल्ने पानी चाहियो भनेर चिच्याएको छु टीभीमा ।
सिक्किम दार्जिलिङतिर जूनसँग हनिमुन मनाएको हो । उसको सहाराले मिर्मिरेमा हिमाल हेरेको हो । अनि चीनतिर उसको स्वाद लिएको छु ।
आप्mनो यो देशमा त कतिकति कविता उसकै लेखेको छु, रारामा जूनमाथि असैह्य भएर तालमा आक्रमण गरेको छु, फोक्सुण्डोमा उसको स्वरुपले बेहोस भएको छु ।
हेलम्बूमा शिकार खेलेको छु उसकै । केके गरिनँ होला जूनलाई साक्षी राखेर मैले ? मसँग स्मृति र शब्दको मात्र अभाव छ । जिन्दगीसँग जूनको अभाव कहिल्यै भएन र कहिल्यै नहोस् पनि । त्यसैले नै जिन्दगी मुनलाइट हो, मुनलाइट जिन्दगी हो ।
मलाई याद छ जीवनको यो आधाउधी कालखण्डमा सूर्यले जति धोएको छ मेरो शरीर, मन र अनुभूति, उत्तिकै पखालेको छ जूनको प्रकाशले पनि ।
जन्मिदिनुस् र कोहीकोहीलाई मारिदिनुस्, कैलै घिटीघिटी बाँचिदिनुस्, कैले फुत्रुक्कै मरिदिनुस् र लुकाउनुस् तपाईंको जगतलाई । तर, यी सबको साक्षी उही हुनेछ मुनलाइट । जीवन हो, कैले आफैलाई आगो लगाएर हेर्नुस्, समुद्रमा चोपलेर हेर्नुस्, माटोमा गाडेर पनि हेर्नुस् । यो उसलाई थाहा हुनेछ किनकी उसले देखेको हुनेछ । जीवन हो यसको कुनै रुट हुदैन, कुनै गति, रंग, नियम, कानुन, दायरा वा आयतन केही हुदैन र यो सवथोक हुन्छ । जीवनको विकल्प हुदैन, कुनै कोष्टक वा मानार्थ कुनै तथ्य नै हुदैन । त्यसैले जीवनमाथिको नियम र परिधीहीन आकाश नै हो मुनलाइट ।
जीवन हो, कतै यसलाई टोपी लगाइदिनुस्, कतै बर्को, जामा र चश्मा लगाइदिनुस्, कतै नांगै बाँचिदिनुस्, कतै सम्पूर्ण शरीर नै कपडाले बेरिदिनुस् / मोरिदिनुस् । रंग तपाईंले अवलम्वन गर्ने संस्कार हो, कैले कालाम्मे बनिदिनुस्, राताम्मे, पहेलाम्मे र अरुअरु । अनेकतरहले जिउन सिक्नुस्÷जान्नुस् यो नै हो मुनलाइट जिन्दगी ।
पानीसँग खेल्नुस्, आगो, माटो, मासु र आँसुसँग खेल्नुस्, बतास वा तुफान जेसुकै भन्नुस् कैलेकैले हावासँग सम्भोग गर्नुस्, कैले मान्छे नै होस्, कैले जीवजनावर र कैलैकैले ढुंगामाटोको भोग गर्नुस्, उसलाई थाहा हुनेछ ।
समुद्र ओच्छ्याउनुस्, आकास, जमिन ओच्छ्याउनुस्, पहाडलाई लात्ताले हान्नुस्, कैले आकास, मान्छे, माछा, पानी र आगो, कैले भूत, वर्तमान र भविष्य, देउता र उसका छोराछोरीहरु, कैले पूजा गर्नुस् गुको थुप्रोलाई, दिसापिसाव र चर्पीहरुलाई, कैले फोहोरको डंगुर र बंगुरका आचीहरुलाई ढोग गरेर हेर्नुस्, तपाईं जिन्दगीको मुनलाइटबाट पर भाग्नै सक्नुहुन्न ।
थाहा पाएजति, गर्नहुनेजति, गर्न नहुनेजति सबै गर्नुस् । जीवनको लयका कुरै नगर्नुस्, लय समातेर त गीत गाइन्छ, भाका हालिन्छ, जीवनको कुनै भाका हुदैन, लय र रंग वा कुनै ‘फरम्याट’ हुदैन, आकार र अस्तित्वको कुनै डिजाइन हुदैन, स्वाद र बेस्वादको कुनै तह हुदैन, किनकी यो सवथोकजस्तो हुन्छ तीतो, गुलियो, अमिलो, नुनिलो सबथोकजस्तो र केही होइनजस्तो पनि । तर, यो जस्तो अरु केही हुदैन संसारमा जिन्दगी मुनलाइट ।
जति नै केरमेट गर्नुस् जिन्दगी, च्यातचुत पारिदिनुस् वा फूलसरी सजाउनुस् आफ्नै बारीमा, धोइपखाली जति नै गर्नुस् जिन्दगी उसको उज्यालोभन्दा पर छैन र नै मुनलाइट हो । मुनलाइट ब्रम्हसत्य हो ।
(पत्रकार बानियाँको ‘जिन्दगी मुनलाइट’ नामक पुस्तकको अंश)















प्रतिक्रिया