राजविराज, १३ साउन । सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। यसअघि लक्षण नभएका संक्रमितहरू हुने गरेकामा अहिले आउने संक्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।
पछिल्लोपटक आउने संक्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीतकुमार झाले बताए ।
कतिपय संक्रमितमा रुखाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उनको भनाइ छ ।
कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन सोमबार सप्तरी आउनु भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाका बारेमा जानकारी दिनु हुँदै डा झाले भने, ‘संक्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ ।’
पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकोमा पछिल्लो समय स्वास्थ्यकर्मीले संक्रमितहरूको परीक्षणलगायतका काम गर्नुपरेको उनले बताए ।
गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गत जेठ २४ गतेबाट पिसीआर प्रयोगशाला सञ्चालनमा आएपछि तीन हजार ९६० जनाको स्बाव परीक्षण गरिएको र तीमध्ये २९१ पुरुष र ३२ महिला गरी ३२३ जनाको रिपोर्ट पोजेटिभ पुष्टि भएको डा झाको भनाइ छ ।
प्रयोगशालामा हाल दैनिक १५० देखि २०० जनासम्मको पिसीआर परीक्षण भइरहेको उनले जानकारी दिए ।
सप्तरीमा देखिएका कूल ४४७ संक्रमितमध्ये गजेन्द्रनारायण सिंह अस्पतालअन्तर्गत सञ्चालनमा रहेको आइसोलेशनमा ४२१ जनाले सेवा लिएका छन् ।
उपचार गरेका ३०२ जना निको भई घर फर्किएको र ११९ जना उपचाररत रहेको डा झाले जानकारी दिए ।
राजविराजस्थित १७८ श्ययाको आइसोलेशन केन्द्रमा एकैपटक १७२ जनासम्म भर्ना गरेर उपचार गर्न आफूहरु सफल भएको उनले बताए ।











प्रतिक्रिया