काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै हुनुहुन्छ ।
मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका सिलसिलामा उहाँ नयाँदिल्ली जान लाग्नुभएको हो । बिहान साँढे ९ बजेपछि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आज सपथग्रहण समारोहमा सहभागी भएपछि भोलिबाट भेटवार्ता सुरु हुनेछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षीसँग भेटवार्ता गर्नुका साथै राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोइरालाले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धी र प्रधानमन्त्रीबाट निवृत्त हुन लाग्नुभएका डा मनमोहन सिंह राजनीतिक दलका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहको छ । प्रधानमन्त्री कोइरालाले शपथ ग्रहण समारोहमा सहभागी हुने विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीका साथ सभासद सुजाता कोइराला र सशांक कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई तथा सरकारका अन्य वरिष्ठ अधिकृत रहनुहुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि नयाँदिल्लीमै प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री कोइराला जेठ १४ गते स्वदेश फर्कनुहुनेछ ।














प्रतिक्रिया