
काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका अर्थमन्त्री इन्द्रबहादुर आङ्वो (मौसम)ले नेकपाभित्र देखिएको विवादको समाधान पारदर्शी सहमतिको वैधानिक अनुमोदनले मात्र हुने बताएका छन् ।
हाल नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद सिद्धान्त र पार्टीको वैधानिक नीतिभन्दा पनि शक्ति बाँडफाँट र जिम्मेवारीको रहेको देखेका मौसमले दैनिक नेपालसँग कुरा गर्दै भने,‘पार्टीमा यो समस्या रहस्यमय र अपारदर्शी सहमतिका कारण हुने गरेको छ । सहमतिको विकल्प छैन तर अबको सहमति पारदर्शी बनाउनका निम्ति केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ ।’
जनताको जनमतलाई प्रभावित नबनाउनका लागि सहमतिको विकल्प नभएको बताएका मौसम जोड्छन्,‘शीर्ष नेता जति गोप्य भेट गर्नुहोस्, सहमतिको खाका तयार पार्नुहोस् । सचिवालयमा पनि छलफल गर्नुहोस् । तर त्यस्तो सहमति वा सम्झौतालाई विधिअनुसार अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नुपर्छ ।’
अहिलेको विवादको मूल विन्दु रहस्यमय ढंगले गरिएको आलोपालो प्रधानमन्त्रीको सहमतिको वैधानिक अनुमोदन नहुनु जस्तै रहेको मौसमको संकेत थियो ।
उनी थप्छन्,‘पार्टीलाई एक ढिक्का राख्न शीर्ष तहका नेताले सहमति खोज्ने जति पनि समय लिनुहोस् । वान टु वान वार्ता गर्नुहोस् । जसरी समाधान निस्कन्छ त्यसरी निकाल्नुहोस् । तर, त्यो सहमति कोठामा मात्र होइन, केन्द्रीय समितिको बैठकमा विधिसम्मत ढंगले पारित हुनुपर्छ । यसले नेकपाको जीवन र पार्टीको थिति दुवैलाई जोगाउनेछ ।’
वैशाखदेखि नै पार्टीभित्र विविध हिसाबमा विवाद देखिएपछि युवा नेता कार्यकर्ता चिन्तित भएको उनको बुझाई छ । यो चिन्ताको कारण पनि विधि र प्रक्रियाभन्दा बाहिर शीर्ष तहमा हुने रहस्यमय सम्झौता, सहमतिलाई मौसमले कारण देखेका छन् ।
‘यतिबेला समस्या समाधानका निम्ति नेताहरूले बैठक गर्ने, ब्रिफिङ गर्ने विविध काम भइरहेका छन् । त्यसमा कुनै पनि दुखमनाऊ छैन । दुई नेतृत्व भएपछि अनेक प्रकारले छलफल चल्छ’, उनी भन्छन्,‘जे जसरी बहस अगाडि बढे पनि प्रकारान्तरको निर्णय र अनुमोदन पार्टीमा हुनुपर्छ, त्यहि बैधानिक हुनेछ । जसका कारण विवाद नै नहुनसक्छ ।’
पार्टीमा जिम्मेवारी बाँडफाँट पनि महत्वपूर्ण विषय भएकाले यसलाई सहमतिका आधारमा नै टुंगो लगाउनका लागि नेतृत्वलाई सकेसम्मको समय दिनुपर्ने उनको बुझाई छ । तर समय दिइए पनि सहमतिको अन्तिम अनुमोदनचाहिँ केन्द्रीय समितिबाट गराइए मात्र पद्दती बस्न सक्ने आङ्वोको बुझाई छ ।











प्रतिक्रिया