सिरहा, ५ साउन । सिरहा जिल्लाको लहान नगरपालिका–१ मर्टियर्वाका १९ वर्षीय रोशनकुमार रामको हत्या भएको छ ।
राम केही दिन अगाडि लागुपदार्थ मुद्दामा पक्राउ परेका थिए । धरौटीको लागि १० हजार रुपियाँ तिर्न नसक्दा उनलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे थियाे ।
उनले कैदी साथीसंग १००० सापटी लिएका थिए । सापटी रकम नै उनको मृत्युको कारण बन्न पुग्यो । जेलमा रहेका अर्का कैदी युवक जयकुमार यादवले रामलाई एक हजार रुपियाँ दिएका थिए ।
भोलिपल्टै जयकुमारले रोशनलाई घुम्न जाऔँ भन्दै लगे । दुर्भाग्यवश चार दिनपछि बताहा खोलामा उनको शव भेटियो ।
उनको शव ३० असारमा मिर्चैया–९ बतहा खोला पुलनजिक गमहरिया महेशपुर जाने बाटोको डिलमुनि काँसघारीको पानी जमेको खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले कुहिएको अवस्थामा शवलाई पोस्ट्मार्टम गर्न लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा ल्याएको थियो ।
बेवारिसे शवको १ साउनमा पोस्टमार्टम गरिएको जानकारी प्रहरीले जनाएको छ । कपडाका कारणले शवलाई सनाखत गरिएकाे थियाे ।
केही दिनपछि जयकुमार यादव पनि जेलबाट रिहा भएपछि २६ असारमा एक हजार सापटी फिर्ता लिन स्थानीय एक युवा साथी २२ वर्षीय मुकुन्दकुमार कटुवाललाई लिएर रोशन रामको घरमा गएका थिए ।
जयले पैसा देउ र नदिए जे पनि हुन सक्ने भन्दै रोशनलाई धम्काएको उनकी आमा सुनैरदेवीले बताइन् ।
रोशन राम भर्खरै बिहे गरेका युवक थिए । उनी वैदेशिक रोजगारका लागि प्रतीक्षारत थिए । छोराको हत्याको आरोपमा सिफैतले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
उनको जाहेरीका आधारमा आइतबार जय र मुकुन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी सन्तुलाल जैसवालले बताए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जैसवालका अनुसार १० असारमा धरौटी बुझाएपछि रोशन राम छुटेका थिए । कर्जा लिई १० हजार धरौटी बुझाएपछि उनी रिहा भएको उनका बुबा सिफैत रामले बताए ।












प्रतिक्रिया