
काठमाडौं, ४ साउन । महानगरीय अपराध महाशाखाले द्वापर युगका कंश भन्दा पनि आततायी रुपमा आफ्नै भान्जाको अपहरण र हत्या गर्ने एक जना अभियुक्तलाई १३ बर्षपछि समातेको छ ।
भारतको मुजफ्फरपुर, नगरखाना आखाडाघाटका राजेशकुमार गुप्ताले १३ बर्षअघि भान्जा रोहित गुप्ताको अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सर्लाहीको मलंगवाबाट विशेष सुराकीका आधारमा गुप्तालाई पक्राउ गरी काठमाडौं ल्याइएको हो । २४ असोज २०६४ मा राई स्कुल जोरपाटीको कक्षा ७ मा अध्ययन गर्ने रोहित गुप्ता अपहरण गरी २ लाख ५० हजार रुपैयाँ फिरौती मागिएको थियो ।
रकम दिइसके पश्चात पनि बालक अपहरणमुक्त नगरी तीन दिनपछि कमलादीस्थित गणेश मन्दिर नजिक सडकको पेटीमा प्लास्टिकको बोरामा पोको पारेको अवस्थामा शव पठाइएको थियो । यो काम उनै राजेशले गरेको प्रहरीले ठहर गरेको थियो ।
धादिङको विष्णु सुनारसमेतको संलग्नतामा जादु सिकाउने बहानामा अपहरण गरी फिरौति समेत लिएर हत्या गरिएको अनुसन्धानमा खुलेको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापाले बताए ।
कोठामा बच्चा चिच्याउन लाग्दा रुमालले मुख थुनेर घुँडा समेत थिची बालकको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
गुप्ताले नै परिवारको तर्फबाट थानकोट त्रिभुवन पार्कसम्म फिरौतीको रकम लगेर अपरिचित व्यक्तिहरु ट्याक्सीमा आएर रकम लगेको भनी झूठ बोलेका थिए । ‘खोज तलासको बहानामा प्रहरी कार्यालयसम्म पनि गुप्ता पुगेको अनुसन्धानले खुलेको छ । पछि फरार भएपछि प्रहरीको अनुसन्धान उनैतिर सोझियो’, थापाले भने ।
अन्ततः गुप्ता प्रहरीको नियन्त्रणमा परे, उनलाई अपहरण, फिरौती र कर्तव्य ज्यानमा मुद्दा चलाइने भएको छ ।















प्रतिक्रिया