
काठमाडौं, ३ साउन । परम्परागत पार्टीका कार्यकर्ताका खिसिट्युरीलाई बल पुग्ने गरी वैकल्पिक शक्तिका रुपमा उदाएको साझा पार्टीको ‘स्खलन’को यात्रा सुरु भएको छ ।
सैद्धान्तिक र वैचारिक लाइनमा अस्पष्ट भए पनि वैकल्पिक ‘राजनीतिक ताकत’ बन्न सक्ने परम्परागत राजनीतिभन्दा फरक सोच्नेहरूको विवेकलाई नै उदास पार्नेगरी साझा पार्टीभित्र गतिविधि हुन थालेको छ ।
प्रवक्ता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेपछि झनै यो उदासीमा बल पुगेको छ । यति मात्र होइन आचार्यले धेरै टिप्पणी नगरे पनि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको नेता बन्ने महत्वकांक्षाको यात्राका कारण पार्टी छाडेको संकेत पनि गरेका छन् । उनले भनेका छन्,‘नेतृत्व युवालाई दिनुपर्छ, अहिलेको युवाले निर्णय गर्न सक्छन् भन्ने अवधारणामा सहमति हुन नसकेपछि पार्टीबाट अलग भइयो ।’
आचार्य र खनालको बहिर्गमनलाई मिश्रले दुखद भन्दै राजनीतिक व्यवाहारमा परम्परागत शैलीमा उत्रिनु बाध्यता भन्ने संकेत गरेका छन् । केन्द्रीय समितिको बहुमतको निर्णयलाई अगाडि सारेका उनले संशोधन वा नवीन विचारमा मन्थन गरिन सक्ने कुनै पनि आधारका विषयमा चर्चा गरेका छैनन् ।
मिश्रको नेतृत्वमा शंका र संकोच गर्ने नियती आचार्य र खनालको बहिर्गमनले मात्र देखिएको भने होइन । एकीकरण भएको लामो समय नै नबिती विभाजनको विन्दुमा पुगेको विवेकशील नेपाली दलले पनि सोही शैलीको कारणलाई सतहमा देखाएको थियो ।
साझा पार्टीका एक नेता भन्छन्,‘हेटौंडामा पुगेर विवेकशील नेपालीसँग एकीकरण भएपछि कुनचाहिँ विन्दुमा मतभेद भएको थियो र विभाजनमा पुगियो, अनि सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी किन छाडे ? यस विषयमा गम्भिर छलफल हुनुपर्छ ।’
साझा पार्टीका सुरुआती चरणमा संगठनको संरचना ‘बटम टु टप’को शैलीमा बनाउने निधो भएको थियो । तर कतिपय निर्णयहरुचाहिँ परम्परागत दलजस्तै ‘टप टु बटम’का आधारमा हुन थालेपछि मिश्रमाथि प्रश्न खनिन थालेका हुन् ।
सहरी क्षेत्रमा हस्तक्षेप गर्दै राष्ट्रिय पार्टी निर्माणको गतिमा हिँड्नुपर्नेमा सुरुआतकै चरणमा विभाजन र बहिर्गमनका कतिपय घटनाले वैकल्पिक राजनीतिले नेपालमा प्रभाव पार्न नसक्ने समेत आँकलन हुन थालेको छ ।
‘सुसंस्कृत राजनीतिको अर्थ नेतृत्वमा दाबी गरेर, आफैंमात्र लिडर हुन्छु भनेर बस्नु होइन, वैकल्पिक राजनीतिका लागि थिति बसालेर नेतृत्व नयाँ पुस्तालाई दिने हो’, एक नेता भन्छन्,‘जसरी विवेकशीलमा उज्वल थापाले नेतृत्व हस्तान्तरण गरे, साझामा रवीन्द्र मिश्रको नियत त्यस्तो परिस्थितिमा देखिँदैन ।’















प्रतिक्रिया