
काठमाडौँ, ३१ असार । मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या अभियोगमा जिल्ला अदालत मकवानपुरले उनका ससुरासहित ४ जना जेल चलान गर्ने आदेश दिएको छ ।
अदालतले वुधबार सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई आदेश कार्यान्वयन गराउन कारागार लैजाँदै गरिएको जनाएको छ ।
ससुरा प्रकाश थापालाई भीमफेदीको कारागारमा लगिनेछ भने त्यस्तै अन्य तीन महिलालाई चितवनको कारागारमा लग्ने तयारी भएको छ ।
सुस्मिताको असार २ गते हत्या भएको थियो । उनीहरुले सुस्मिताले आत्महत्या गरेकी बताए पनि अनुसन्धानबाट हत्या भएको खुलेको थियो ।
सुस्मिताकी श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलपरासीबाट हेटौंडा फर्किने क्रममा मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको थियो । त्यसपछि सासू ससुराले आफ्ना छोरालाई बुहारीले खाएको आरोप लगाएका थिए ।
त्यसकै बीचमा ससुरा प्रकाश थापाले सुस्मितामा बलात्कारको प्रयास समेत गरेका थिए । रुपेन्द्रको दुर्घटनाका मृत्यु भएवापत पाउने ५ लाख क्षतिपूर्ति सुस्मिताले नभइ आफूहरुले पाउनपर्ने सासु ससुराको माग थियो ।
त्यस्तै रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने बाबुआमा र सुस्मिताबीचको विवादले भुक्तानी हुन सकेको थिएन ।















प्रतिक्रिया