५ कार्तिक २०८३, बिहिबार

म्याग्दीमा पहिरो : थप एकको शव फेला, मृत्यु हुनेको संख्या २८ पुग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २८ असार । म्याग्दीको धवलागिरि गाउँपालिका ६, मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एकजनाको शव भेटिएको छ ।

मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको संख्या २८ जना पुगेको प्रहरी नायव उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् ।

मराङका १९, मालिका ७ बिमका आठ र रघुगङ्गा ६ ठाडाखानीका एकजनाको शव भेटिएको छ ।

पहिरोले पुरिएका मालिका ७, बिमकी एलिसा केसी, धवलागिरि ६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका ६ की गीता रोका भेटिएका छैनन् ।

प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सातजनाको बेनी अस्पताल, एक जनाको काठमाडौं र चारजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । –रासस