
दाङ, १३ असार । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना लागेकी महिलाको शव अलपत्र अवस्थामा हुँदा थप समस्याको जोखिम बढेको छ ।
शवको व्यवस्थापन हुन नसक्दा शव कुहिन थालेको हो । कोरोना संक्रमण पुष्टि भएका कारण महिलाको शव नउठाएसम्म अन्य शव राख्ने अवस्था समेत नरहेको विवरणमा उल्लेख छन् ।
महिलाको मृत्यु भएको चार दिन भइसकेको छ । अस्पतालमा शवलाई सुरक्षित राख्ने ठाउँ समेत नरहेको अस्पताल प्रशासनका अधिकारीहरूले बताउँदै आएका छन् ।
१० असार राती उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण भएको विवरण शुक्रबार मात्र प्राप्त भएको थियो ।
शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली पुगे पनि प्लास्टिकले नबेरेको तथा असुरक्षित देखिएपछि उठाउन मानेको थिएन । सैनिक टोली यसै फर्किएको बताइन्छ । अस्पतालले उक्त शव प्लास्टिकमा नबेरेपछि सैनिक टोली व्यवस्थापन गर्न असहमत भई फर्किएको प्रहरीलाई उदृत गर्दै जनाइएको छ ।
तर स्थानीय प्रशासनले भने मृतकका परिवार सम्पर्कमा आउन सक्ने अनुमानका आधारमा शव व्यवस्थापनमा बिलम्ब भएको जनाएको छ ।
मृतक महिला मागेर हिँड्ने गरेका कारण उनका आफन्तका विषयमा पनि पत्तो लागउन प्रशासनलाई अप्ठेरो परेको छ ।











प्रतिक्रिया