२९ आश्विन २०८३, बिहिबार

जब अनपेक्षित धोकाले मुर्छा परिन

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्ली अम्माई

दुःको पीडावोधले कल्पनालाई झन् गहिर्‍याउँदै, तिखार्दै र उत्तेजित बनाउदै अथाह क्षितिजतर्फको यात्रातिर लग्दै गरेको उनेले थाहै पाइनन् । भावनालाई न त उनले रोक्ने चेष्टा गरिन्, न त उनले आफ्नो सुगम बाटोबाट नै हिडाउन सकिन् । बस… मनले भावनालाई नविनताको यात्रातर्फ धकेलिरह्यो , उत्प्रेरित गरिरह्यो ।

भावना र भोगाईको सन्तान भएकोले कल्पना आँफैमा अपूर्ण भएर पनि पूर्णताको खोजीमा भौतारिह्यो । पैतलादेखि शिरसम्म उनलाई भावनाको तेजावि-रागले पोलिरह्यो । मनको तरगंलाई कल्पनाले साथी बनाउँदै कहिले ती यूरोपका असहाय वटुवाहरुकोबीचमा पुर्याएर प्रश्नहरु सोध्न पुग्दथ्यो ….त कहिले हिमालको चिसो हावाको स्वादमा आँसुको शितन पिएर बाँचेका धर्तीपुत्रहरुको मानववस्तीमा ।

भन्न धेरै सजिलो छ यो युगमा । कल्पनाको भावलाई व्यवहारको निर्देशिका अनुसार चलायमान बनाउने कसको हिम्मत र ,कसैको पीडामिश्रित दुखलाई कल्पना गरेर भावनाको उत्प्रेरणाले व्यवहारको बाटोबाट बुझ्ने कार्यलाई आजकल झिंजो मानिन्छ । “काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर” भने झैं मनसँग बाँच्नेहरुको समवेदनाको लहरलाई छाम्नु अचेल पागलपन नै हो । यो भनाई दुनियाँको सुख भोगेर अघाएका र एकांकीको नाट्यशालामा आँफु र आँफुसँग रमाउनेहरुका लागि नै राखिएको होला शायद । उनी सवै किसिमका भावनाका प्रशादहरु खाँदै र आफ्नो जीवनलाई सुरक्षित साथै भविष्यलाई सुनौलो बनाउन आएकी थिइन् क्यार , यहाँँ । यो काकाकुलहरुको बस्ती वा भनौं बेल्जियममा । यो मर्नु र बाँच्नुको ठाँउ र महायुद्धका सबै समवेदनाहरु पचाएर भावना र कल्पनाको अथाह भारीलाई झन्झटिलो बनाइसकेको कारखानामा । यसको चाल एकनासको भएर पनि निर्जीवजस्तै भईसकेको छ शायद । मन टोलाएको छ, कल्पनाले यात्रा रोकेको छ, र भावना पनि कारखानाको आवाजसँगै बतासिएको छ ।

उनले आफूलाई एक्लो पाइन यो ठाँउमा र धेरै रात एक्लै रोएर विताईन शरणार्थी शिविरमा । दुई सन्तानकी आमा, बाबुको पनि पिउने वानीले कर्तव्यको बोझलाई हलुंगो बनाई सकेको । तैपनि छिमेकीका छोराछोरी शहरका ठूला विद्याशालाहरुमा पढ्दै गरेका, कपालको अगाडिको रौं काटेर पातलो चर्मलेपन जस्तै कपडामा ठाँटिएर नाङ्गोपनमा रमाउने कोरलीहरुको चाल ढालले आफ्नो सन्तानहरु पनि नमिठो गरी बाङ्गिएको र समय पैसामा बिक्न थालेको कारणले उनलाई यो ठाँउसम्म ल्याई पुर्यायो । उनले शिविरका प्रत्येक पाउरोटीको गाँससँगै भविष्यका सुकिला भोजपात्रका दानाहरु निलिरहेकी थिइन् र सङ्लो सुपसँगै सपना पिईरहेकी थिइन् । केवल भविष्यको बासि आशामा !

हुन त अलिकति समय स्कटल्याण्डको हावाको स्वाद र बुढा पाकाहरुले पचाउन नसक्ने रमाइलो कुराको मजाबारे हेरेकी र सुनेकी थिइन् । स्तर नपुगेका कलेजहरु सरकारले बन्द गरिदियो। कानूनी रुपमा क्याम्पस पनि सरकारी पत्यारको सीमाबाट बाहिरिएसँगै सबै विद्यार्थीरुपी धनयात्रीहरुको पनि विल्लीबाँठ भयो । कोही कता लागे, कोही घर फर्के र केही नेपालीहरु खोला तरेर यूरोपको यात्रालाई खोजयात्रामा रुपान्तरण गर्दै यो ठाँउसम्म पनि आईपुगे ।

कल्पना सवै यात्राका क्षेत्रहरुलाई केस्रा केस्रा गरेर केलाउथिन्, “के सवै यूरोप छिर्नेहरुको शुरुवाती काल यस्तै थियो त ? प्रश्न गर्दथिन् र आफ्ना चिचिलाहरुको दीनचर्याहरुको छाया र रहरले उनको भावनालाई यात्राको बाटोमा लगाम लगाएर पछाडि खिच्दथ्यो । केहि दिन अगाडी बजारतिर खुर्सानी किन्न बजार जाँदा परिचय भएको नेपाली दाजुसंग हाइहेल्लो भर्खरै चल्न थालेको थियो। पुर्बेली नेपाली दाजुको मायालु स्वरले उनको भबिष्य क्रमश काउकुति लगाउदै गयो। उनी तिनै नेपालीको सामान्य परिचयको आधारले हौसिदै, आफ्नो मनलाई नयाँ आशाले तरंगित बनाउदै नजिकैको शहरतर्फ आइन् । सानैमा विवाह गरेपनि स्नातक उत्तीर्ण गरेकी, उनी नेपाली दाजुको आशमा केही हुन्छ कि र कतै सानो तिनो काम गर्न पाए घरको तिरो भरोको जोहो गर्न सकिन्थ्यो कि ? भन्ने आशामा एक्लै रमाउदै दाजुसँग त्यतै लागिन् । दिउँसोको खानपिन भयो दाजुसँगै । दाजुले राम्रै सत्कार गरेर उनेको भावनालाई सम्मानको दोसल्लाले सजाउन कुनै कसुर बाँकी राखेनन् । दाजुको सत्कार संगै भविष्यको आशामा रमाएर बेलुका उनि शरणार्थी क्याम्प फर्किन।

क्याम्पका ति दिन र रातहरु अब क्रमश नियाश्रो लाग्दा हुन छोडे। ,“यो पृथ्वी हो, यहाँ भावना बोकेकी, दशा विग्रेकी कल्पनालाई यात्रामा सघाउने महानतम् आत्मा पनि रहेछन्” बिश्वासले अबिश्वासलाई हरायो। परोपकार र यातनाको दोहोरो मापदण्डलाई अपनाउन सक्ने सम्भावनाको आशंकालाई सत्कारको मिठासले दवाएर राख्यो । उनी भलिभाती भोलापनको शिकार हुने तरखरमा जाँदै गरेकी हुन् कि ? भन्ने आभाष पनि उनलाई भएन । उनी सत्कारको चिल्लोपनले टाँसिईसकेकी थिइन् र हप्तामा दाजुको दर्शन र दिनमा फोनको अभिसप्त आवाजले क्रमश पाउरोटी खाएर क्याम्पमा बसेको आभाषलाई भुल्दै गइन् । आशाले कल्पनालाई जागरुक बनायो । घरको याद र बालबच्चाहरुको पदछायालाई विस्तारै सपनाबाट अलिक पर पुर्‍यायो र भोलिको उज्वल सन्देशलाई शरिरका तन्तुहरुसम्म प्रवाहित गर्दै लग्यो । दाजुको आफ्नोपनमा के थियो उनले बुझ्ने लेठा नै गरिनन् । भावनामा कति पवित्रता थियो नाप्ने उनलाई हेक्का नै भएन ।

कल्पना आफैमा दु खी बालबच्चा र श्रीमान्को न्यानोपन विना सिरानीको सहराले जिउन सिकेकी । तर अव त दाजुपनि बाटोमा भेटिएका एक खासजस्तै भईसकेका थिए । दाजुले एकदिन बहिनीलाई दुईदिन शिविरबाट विदा लिएर कतै घुम्न जाने र काम पनि खोज्ने प्रस्ताव राखे । उनी अलिकति हच्किइन् र सोचिन्, “हैन दाजुले कतै अप्ठ्यारो पार्ने त हैनन् ? कोठामा एक्लै छन् , कतै सजिलोको अनुभूति र सहराको स्वादले पिरो अनुभूति गर्नु पर्ने त हैन ? ”

उनले पछि फोन गर्ने भनेर फोन राखिन् । ‘ठिकै छ त सोच, तर मलाई गलत नसोच है–‘ भनेर दाजुले फोन राखे । कल्पना भावनासँगै रातभर वगिन । शुक्रवार आउन अझै बाँकी छ दुईदिन । काम गर्ने अनुमति पत्र पनि शायद अर्को हप्ता आउला । कतै काम खोज्नु पर्ने पनि हुन्छ । फेरि अन्तरवार्ता भयो भने बेलायतबाट आउनेहरुलाई सबैं औंठाछाप सहित कागजपत्रहरु दिन्छ रे । अनि सकरात्मक निर्णय हुने त चानसै छैन । यस्तै सोचिन शायद उनले । उनलाई रातभर निन्द्रा परेन । खै घरपरिवार, वा-आमा र विवाहको मण्डपमा खाएका कसमहरु पनि सम्झिहोलिन् । साथी भाईका हल्ला र यूरोपयौन स्वतन्त्रताका धेरै किस्साहरु पनि सुनिन् होली । तर विहानको नास्तापछि उनले दाजुको एकल सहारालाई मञ्जुरी दिने निर्णय गरिन । दाजूपनि त त्यति अभद्र छैनन् । एकल भएपनि कागजवाला हुन् र धेरै मान्छे चिनेका छन् । काम खोजिदिन र क्याम्पले भाडा घर खोज्न अनुमति दिए पछि वासको पनि वन्दोवस्त गर्ने वचन दिएका छन् । उनी सुस्ताइन् र दुईदिनको विदा लिई क्याम्पबाट नजिकैको शहरतर्फ लागिन् ।

दाजै स्टेशनसम्मै लिन आए र हाउभाउको साथ कल्पनाको स्वागत गरे । भावनाको तरगं कल्पना हो । यो पनि त कसैको सहराले बग्न कोशिस गर्छ । एक्लै बाँच्न त शायद गाह्ै पर्छ होला । अनन्त र सुखद सपनामा वगिन नरोकिइकन ।

वेलुका दाजैले अस्वभाविक रुपमा खानपान गराए । धेरै लामो कहानी सुनाए – यूरोपियन सभ्यताको । पुर्बिय सभ्यताको अलिकति खिल्ली उडाए । बाच्ने तरिका गोराहरुबाट सिक्ने सुझाव अथ्र्याए र सवै रसरंगहरुको स्वादमा रमाउन जान्नु पर्ने शिक्षा दिन थाले । “अलिकति जाडो हटाउन पर्छ कि बैनी !” सेतो रक्सीको फाइदालाई स्वास्थ्यसँगै जोडी अंगुरको मिठो रसको अलौकिकताको बयानमा समय बढाए। बैनी पनि ‘हो क्यारे !’ भनेर थोरै लिइन, विस्तारै करै करमा अलिक लिइन र अलिक उत्ताउली बन्ने धुन चढ्यो ।

राति अवेरसम्म गफको लेखाले जीवनको गीतलाई लयवद्ध बनायो। रसरंगले दाजूबैनीको नक्कली पर्दा हटायो र भविष्यको धुपिलो सहयोगको आश्वासनले एउटै विस्तारामा रातलाई ततायो । त्यतिखेरै ढोकाबाट सुसेलीको आवाज जस्तो आवाज आयो । दुवै चरनाम नाल नकाट्दैको दशामा, ? ढोकाले फेरि आवाज दियो । दाजुपनि तीनचार पटकको वेहोसी मादकतासहितको रंगलिलाले होस गुमाएको वटुवा झै छटपटायो र शरीरको सालनाललाई तौलियाको पर्दाले वेरेर ढोका खोल्न गयो । ढोका खोल्ने वित्तिकै पुलिसले कपडा लगाउन भने, ऊसले डराउदै कपडा लगायो, उसको सवै कोठाको चेकजाँच भयो, अन्त्यमा हत्कडी लगाएर पुलिसले प्रिय दाजुलाई लगे ।

कल्पनाको भावनाले मादकताको शुरमा विश्राम लिएको थियो तर त्यो दृश्यले उसको भविष्यसँग जोडिएको रमझमलाई एकैछिनमा फुटेको सिसा झै चकनाचुर बनाई दियो । आखिर दाजुपनि उस्तै रहेछ, गैर कानूनी रुपमा एकछिनको शितलताले लठ्ठिएर चौपारीमा बसेको भरिया झैं । ऊनी स्तव्ध भईन् र उन्को आँखाबाट भर्खरै गरेको मादक सम्भोग र दिएको आश्वासनलाई पखाल्ने अनगिन्ती आँसुका थोपा पालो नपर्खिकन भुईँमा भरे । उनको अगाडिको संसार घुम्न थाल्यो । चारैतर्फबाट वादल मडारिएर आयो र एक्कासी आँखाको ढक्कनले पर्दा लगायो । बिस्वासको आकाश बादलियो र उनि भुईमा ढलिन।