
-एसपी उप्रेती
काठमाडौँ, ३० जेठ । नेपालमा कोरोनाभाइरसको संक्रमण पछिल्लो दिनमा बढीरहेको छ ।
आफैँमा देशको लागि चुनौती बनेको छ । करिब ३ महिनाको लकडाउनलाई सरकारले खुकुलो पारेको छ । यो आवश्यकता पनि थियो । संक्रमणबाट जोगिनु आफैँमा ठूलो सकस रहेको छ ।
सरकारले विभिन्न तवरले संक्रमण रोक्ने प्रयास गरेकै हो । विश्वका निकै विकसित र स्वास्थ्य सेवाको क्षेत्र मजबुत भएका मुलुकहरुमा पनि कोरोना संक्रमणले आक्रान्त तुल्याएको छ । सम्पूर्ण तवरले नियन्त्रण गर्न पनि हम्मे हम्मे परिरहेको छ ।
नेपालको विगतदेखि नै हेर्ने हो भने स्वास्थ्य क्षेत्रको आन्तरिक संरचना नै फितलो रहेको यथार्थ हो । यस्तो अवस्थामा सरकारको प्रयासलाई ठीक मान्नुपर्दछ । यद्यपि अर्काे तथ्य के पनि हो भने गर्न सक्ने जति सायद भएन होला । हुन सक्ने जति सरकारले गरेन होला ।
वा यो आफैँमा नयाँ संक्रमण भएकोले अनुभवको कमी पनि देखियो होला । तर पनि कम्तीमा अहिलेसम्म भयावहको स्थिति नहुनु भनेको चाँही केही न केही त गरेकै थियो भनेर आंकलन गर्न सकिन्छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काम गर्ने क्रममा कहीँ कतै कमजोरी भएको हुनसक्ने तथ्य स्वीकारेका छन् । यस विषयमा आलोचना गर्नेलाई पनि आफूले सकारात्मक ढंगले लिने पनि संसदबाटै बताएका छन् ।
यस्तो अवस्थामा सबै राम्रै मात्रै काम निश्चित रुपमा भएको छैन । अनियमितताहरु पनि भएकै छन् । ति सबैको लेखाजोखा त जनताले गर्ने नै छन् । जनताका प्रतिनिधि सांसदहरुले पनि कडा प्रश्नहरु उठाइरहेका नै छन् ।
लोकतन्त्रमा सरकार ढाल्न जतिको सजिलो कुरा अरु के नै छ र ? यदि सरकारले नराम्रो काम गरेको खण्डमा आउँदो निवार्चनमा जनताको मतले उचित परीणाम देखाइदिनेछन् ।
सबैले बुझेको तीतो यथार्थ के हो भने चाहे कोरोना होस् वा डेंगु अथवा झाडापखाला अन्ततः मर्ने भनेका निम्नस्तरका जनताहरु नै हुन् । यता हामी जनतामा एक विशेष चेतना हुँदाहुँदै पनि लकडाउनको समयमा विरोध प्रदर्शन गर्दैछौँ ।
खुलेर के भन्ज सकिन्छ भने जस्तो सुकै गलत काम सरकारले गरेको होस् । जनताको प्रतिनिधित्व गर्दै संसदमा उपस्थित रहेका प्रतिनिधिहरुले नियमित रुपमा प्रश्नहरु उठाइरहेका हुन्छन् ।
त्यति मात्र होइन प्रतिनिधिसभा बैठक चल्न नदिएर समेत खराब कार्यको विरोध हुने गर्दछ । जसले गर्दा सरकारले आफ्नो कार्यशैली बदल्न बाध्य भएको उदाहरणहरु प्रशस्तै छन् ।
स्पष्ट छ कुनै छलफल विना तत्कालीन अवस्थामा ल्याइएको गुठी विधेयकको विरोध जनस्तरबाट उठ्यो । सरकारले त्यस सम्बन्धी निर्णय नै उल्टायो ।
त्यो बेला विरोध सायद ठीकै थियो । किनकी यस्तो महामारीको स्थिति थिएन । त्यस्तै चाहे पार्टी विभाजनको विधेयक होस् वा अन्य कुनै किन नहोस् सल्लाहकारहरुको लहलहैमा निर्णय गर्दा पार्टीभित्रै उथलपुथल भएकै थियो ।
लकडाउन खुकुलो भएको निर्णय कार्यान्वयन हुनुअघि नै सयौँको संख्यामा उपस्थित भएर प्रदर्शन गर्नु स्वास्थ्यको दृष्टिकोणले कतिको उचित हो ? आफैँ सोच्ने कि ? सरकार त ढल्ला तर त्यो डरलाग्दो भीडभाडले समुदायमा कोरोना फैलिएर आफ्नै जीवन ढल्यो भने के अर्थ र ?
परिवर्तनको निम्ती लड्नु बहादुरी हो तर अब त सामाजिक सञ्जालको प्रयोग गरेर आफ्ना विचार राखियो भने पनि सुनुवाइ हुने जमानामा किन जीवन दाउमा ल्याउने धृष्टता विद्धानहरुले गरिरहेका छन् ? आफ्नो जीवनपछि आएको त्यो परिवर्तनको के अर्थ जुन आफूले नै भोग्नै पाइएन ?
लोकतन्त्रमा सरकार ढाल्न जतिको सजिलो कुरा अरु के नै छ र ? यदि सरकारले नराम्रो काम गरेको खण्डमा आउँदो निवार्चनमा जनताको मतले उचित परीणाम देखाइदिनेछन् ।
तसर्थ सरकार ढाल्ने सोख नराखेकै राम्रो । हिजोसम्म हामी १ वर्ष पनि नबित्दै भएको सरकार परिवर्तनले वाक्क भएका छौँ । पुनः त्यही अभ्यासमा अभ्यस्त बनाउन नेताहरुलाई सडकबाट उचाल्ने काम नगर्न नै नेपालीको हितमा हुनेछ ।
आम प्रदर्शनकारीले के बुझौँ भने अहिले आफ्नै ख्याल राखौँ । समुदायमा कोरोना फैलन नदिने कार्य गरौँ । सरकारले गर्दा कोरोना फैलियो भन्ने आरोप हो भने अब आफ्नै प्रदर्शनले गर्दा कोरोना समुदायमा पुग्यो भन्ने दुःखद समाचार बनाउनु नपरोस् ।
एउटा अहम प्रश्न तेर्सिएको छ यदि यस किसिमको ठूलो भीडभाड र प्रदर्शनले यदि समुदायमा कोरोना फैलियो भने कसले जिम्मा लिने ?
अनि फेरि त्यस अवस्थामा पनि सरकारकै विरोध त गर्ने होला अर्काे समूहले ? यो विषम परिस्थिति हो । तसर्थ कम्तीमा अहिले चाँही त्यस किसिमको प्रदर्शन हामी सबैको लागि घातक रहेको छ ।
प्रदर्शनकारीका मागहरु उचित छन् । पारदर्शिता, नागरिकको स्वास्थ्य सुरक्षालगायत माग सबै सही छन् । तर सरकार परिवर्तन हुँदैमा यी सबै पूरा भइहाल्ने भ्रम भने त्यागौँ ।
अन्य मुलुकमा जनताले सरकार परिवर्तन नहोस् भन्छन् । स्थायी सरकारका आफ्नै गहन फाइदा रहेको हुन्छ । कम्तीमा नेपालीले त विगत दशकौँदेखि अस्थिरता भोगेकोले पनि रहर हुनुपर्ने स्थीर सरकारको ।
जहाँसम्म अनियमितताको कुरा छ त्यसको गतिलो जवाफ जसरी पनि जनताले मतबाट दिन्छन् दिन्छन् यदि उनीहरुले ढाकछोप गरे भने पनि ।
हामीले के बुझ्नुपर्छ भने सरकारको विकल्प हामी सबै नेपालीको लागि घातक छ । यसबारे मनन गरौँ । तसर्थ लकडाउन खुकुलो भएकोमा केही खुशी बनेर आफ्ना दैनिक क्रियाकलापलाई उपलब्धिमुलक बनाउनतर्फ लागौँ ।














प्रतिक्रिया