३ कार्तिक २०८३, मंगलबार

सरकारविरुद्ध उत्रिए सडकमा युवा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानी काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ । युवाले बिहीबार पनि त्यस क्षेत्रमा प्रदर्शन गरे । भाटभटेनी–बालुवाटार सडकमा बिहान पौने ११ बजेतिर हातमा प्लेकार्ड बोकेका युवा एकाएक उत्रिएका थिए । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले भीड हटाउन खोजेको थियो । तर भीड बढ्दै सडक ढाकिएपछि प्रहरीले गाडीबाटै पानीको फोहोरा हान्यो । भीड तितरबितर नभएपछि ११ सेल अश्रुग्यास प्रहार गरिएको थियो । केहीलाई लाठी प्रहार गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पानीको फोहोरा र लाठी प्रहारबाट केही घाइते भएका छन् ।

सरकारविरुद्ध चर्को नाराबाजीमा उत्रिएका उनीहरू २० देखि ३५ वर्ष उमेर समूहका थिए । ‘केपी ओली सरकार असफल’, ‘समाधान लकडाउन होइन, अब पुग्यो’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरू आएका थिए । युवा दिनहुँजसो प्रदर्शनमा उत्रन थालेपछि बालुवाटार क्षेत्रमा प्रहरी तैनाथी बढाइएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले संक्रामक रोग नियन्त्रण ऐन, लकडाउन र संकटविरुद्ध सरकारले जारी गरेका नीति/निर्देशन उल्लंघन गरेकाले बल प्रयोग गर्नुपरेको बताए । ‘सामाजिक सञ्जालमा सम्पर्क र संगठित भएर एकाएक उनीहरू योजनाबद्ध रूपमा सडकमा आएको देखिन्छ,’ उनले भने, ‘तर अहिले सडकमा आन्दोलन, प्रदर्शन, नाराजुलुस गर्ने बेला होइन, जसले यस्ता गतिविधि गर्छन्, कानुनअनुसार बल प्रयोग गरेर वा अन्य माध्यमबाट नियन्त्रणमा लिइन्छ ।’

पोखरास्थित संवाददाताका अनुसार युवाले जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार एक घण्टा ‘मौन’ प्रदर्शन गरेका छन् । सयौंको संख्यामा उपस्थित युवा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सामाजिक सञ्जालबाटै आह्वान गरिएको प्रदर्शनमा पोखराका विभिन्न स्थानबाट युवा सहभागी थिए । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, पीसीआर परीक्षण गर्नुपर्ने, आरडीटी परीक्षण पूर्ण रूपमा बन्द गर्नुपर्ने मागका प्रदर्शन गरिएको अभियन्ता सलिजा श्रेष्ठले बताइन् ।

प्रदर्शनका क्रममा विमलबहादुर पहारी र प्रेमबहादुर केसीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर नरहरि अधिकारीले जानकारी दिए । युवा समूहले विज्ञप्ति जारी गरेर ती युवाको आयोजकसँग कुनै सम्बन्ध नरहेको जनाएको छ । पक्राउ परेका पहारी पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीका छोरा र केसी नेविसंघका नेता रहेको खुलेको थियो । मातृका दाहालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।